भर्खरै :

नेपालमा भारतीय तरकारी : तरकारी किसानहरू आन्दोलित

आयातीत तरकारी बन्द गर, स्वदेशी उत्पादनलाई प्रोत्साहन देऊ, नालायक सरकार मुर्दावाद, किसानहरूको जीवन सुनिश्चित गर, स्वदेशी सामानको उपभोग गर भन्ने आदि नाराबाजी गर्दै किसान सङ्घर्ष समिति चितवनले शुक्रबार सडकमा तरकारी फालेर आन्दोलन ग¥यो । ऋण काढेर, जग्गा र पसलको बहाल तिरेर तरकारी खेती गर्दा लागत मूल्य पनि नपाएको कारण देखाई किसानहरूले गोलभेँडा, फर्सी, गाजर, केराउ, मेवा, बन्दा, काउली, घिउसिमी आदि तरकारी चितवनको नारायणगढस्थित पुलचोकको सडकमा तरकारी फालेर आन्दोलन गरेका हुन् । आयातीत भारतीय तरकारीको कारण स्वदेशी तरकारीले बजार नपाएपछि तरकारी खेती गर्ने किसानहरू आन्दोलनमा उत्रेका हुन् । बिचौलियाको कारण उत्पादित तरकारी सस्तोमा दिए पनि बिक्री नभएपछि सडकमा तरकारी खन्याएर किसानहरू आक्रोशित भएका छन् । माघ २१ गते प्रकाशित ‘नागरिक’ मा ‘सडकमा तरकारी फालेर विरोध प्रदर्शन’, सोही दिनको ‘नयाँ पत्रिका’ मा ‘किसानले फेरि सडकमा फाले तरकारी’ र अन्नपूर्णमा ‘विदेशी तरकारी बजारमा, स्वदेशी सडकमा’ शीर्षकका समाचारहरू छापिए ।
भारतीय तरकारी आयात बढी भएको चितवनका कृषकहरूको दुखेसो हो । उत्पादन गरेको तरकारी राज्यले बजारसम्म पु¥याउनुपर्ने किसानहरूको माग हो । बिचौलियाले बढी नाफा खाने हुँदा तरकारी महँगो भएकोले तरकारी बिक्रीमा समस्या भएको किसानहरूको भनाइ हो । किसानहरू कहिले बढी पानी परेर त कहिले पानी नपरेर मर्कामा पर्छन् । कहिले बाढी पहिरो त कहिले सुख्खा भएर तरकारी र खाद्य बालीको नोक्सान हुन्छ । कहिले बाली लाग्ने बेला या तरकारी टिप्ने बेला असिना पर्छ त कहिले नक्कली त कहिले म्याद नाघेको बीउ परेर बाली नै लाग्दैन र किसानहरूको श्रम, समय र लगानी सबै खेर जान्छ ।
खेतीपातीको लागि चाहिने रासायनिक मल पनि बेलैमा प्राप्त हुँदैन । प्रत्येक वर्ष मलको हाहाकार हुन्छ । कहिले ढिलो आउँछ त कहिले गुणस्तरहीन मल आउँछ । यसले उत्पादन राम्रो हुँदैन । यसले खाद्यान्न अभाव हुन्छ । आत्मनिर्भर बनाउने भन्दाभन्दै देश खाद्यान्नमा परनिर्भर भइरहेको छ । अहिले पनि देश तरकारी, फलफुल र खाद्यान्न विदेशीकै भरमा चलिरहेको छ । आफ्नो देशलाई कसरी खाद्यान्नमा आत्मनिर्भर बनाउने भन्नेतर्फ सत्तासीन दलहरूको ध्यान पुगेको छैन । चितवनमै ५० प्रतिशत तरकारी भारतबाट आयात भइरहेको किसानहरूको दाबी छ । देशमै आवश्यकताअनुसार गोलभँेडा, फर्सी, घ्यूसिमी, काँक्रो आदि तरकारी उत्पादन गर्न किसानहरू मेहनत गर्थे, उत्पादन गर्थे । तर, बिक्री गर्ने बेला विदेशी तरकारीको आयातले आफ्नो तरकारी बिक्री हुँदैन । विदेशी तरकारी आयात हुँदा एकातिर देशको आयस्रोत बाहिरिन्छ भने अर्काेतिर यहाँको तरकारी खेर जान्छ र वर्ष दिन गरेको श्रम, समय र लगानी खेर गई जीवन जोहो गर्न मर्का पर्छ । दिनरात, गा¥होफारो, घामपानी, दुःखकष्ट नभनी उत्पादन गरिएको तरकारी नबिकेपछि बाध्य भएर तरकारी सडकमा फाल्नुपर्ने स्थिति आउनु राम्रो सङ्केत होइन । यसबारे राज्यले सोच्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *