“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, २२ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्नुभयो । उहाँले बोल्नुभएको मन्तव्यको सार सङ्क्षेप प्रस्तुत छ :
“आजको नागरिक दैनिकमा प्रकाशित एक समाचारअनुसार एक दलको एक सांसदले पुँजीवादी सरकारको नेतृत्व आफूले गरेको तर श्रमजीवी वर्गको पार्टी नेपाल मजदुर किसान पार्टीलाई जडसूत्रवादी र सङ्कीर्ण पार्टी आरोप लगाएको ‘होलि वाइन’ को डकारमात्र हो । गएको निर्वाचनमा ५८ जिल्लामा आफ्ना उम्मेदवारी उठाएको नेपाल मजदुर किसान पार्टी सर्वहारा अन्तर्राष्ट्रवादी पार्टी हो ।
माघ १९ गतेको संसद्मा व्यक्त भएको विषयबारे ‘सांसदको जुहारी, सभामुखको मौन, सांसदको आपत्ति’ लगायत समाचार प्रकाशित गरेर उत्तेजना फैलाउने र सभामुखको तटस्थतालाई भङ्ग गराउने काम ‘गोरखापत्र’बाट किन गरियो ?
पुस २७ गतेको ‘गोरखापत्र’मा सांसदको पारिश्रमिक र सुविधा ऐन, २०७३ को दफा २ (ङ) (१) को दस प्रतिशत वा सोभन्दा बढी भएको दलमात्र प्रमुख विपक्षी दल हुने उल्लेख गरियो तर सो ऐनको दफा २ (ङ) (४) मा त्यस्तो दल नभएमा सभामुखले विपक्षी दल तोकिदिने व्यवस्था ‘गोरखापत्र’मा किन प्रकाशित गरिएन ? यसले ‘गोरखापत्र’का महाप्रबन्धक र सम्पादक विदेशी एजेन्ट नै हुनुपर्ने जनताको मत छ र यस्तो सूचना लुकाउनेहरूलाई कारबाही किन हुँदैन ?
नेका संसदीय दलको कार्यालयको तर्फबाट प्रमुख विपक्षी दलको सुविधा कति भनेर पत्र गएको रहेछ । त्यस पत्रमा सचिवालयले प्रमुख विपक्षी दल भनेर देउवालाई तोकेको गलत हो । प्रमुख विपक्षी दल तोक्ने अधिकार सभामुखको मात्र हो । ऐनविपरीत पत्र लेख्नेहरू सबैलाई छानबिन गरी कारबाही गर्नु जरुरी छ ।
भारतबाट ३–४ सय मेघाबाट बिजुली महँगोमा किन्नुपर्ने अवस्थामा सरकारले अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता संसद्बाट पारित गरी नेपालको भएभरको बिजुली भारत हुँदै सिङ्गापुरसम्म पु¥याउने काम गरेकोमा जनताको आपत्ति छ । भारतलाई ९ रुपैयाँमा बेच्ने सरकारले भारतबाट १९ रुपैयाँमा बिजुली किन्ने काम किन गर्दै छ ?
सुस्ताका नेपालीलाई लालपुर्जा भएको जग्गामा भारतीय पक्षले खेती गर्न नदिएको र आफ्नो भूमि लुटिएकोमा जनताले विरोध गरिरहेको लामो समय भयो । यसबारे सरकार किन बोल्दैन ?
भारतीय तरकारी सस्तोमा भित्याएर नेपाल ढाकेपछि चितवनका किसानले सडकमै आफ्नो तरकारी पोखेर विरोध जनाए । सरकारले नेपालको तरकारी भारतको भन्दा सस्तो हुनेगरी आवश्यक अनुदान नेपाली किसानलाई दिनु जरुरी छ । किसान र उपभोक्ता डुब्ने बिचौलिया र व्यापारी मोटाउने स्थिति यो सरकारले किन अन्त्य नगरेको हो ?
नेपालका ६ वर्षमुनिका बालबालिका तीन जनामध्ये एक जना कुपोषणको सिकार भएको तथ्याङ्क छ । भविष्यका कर्णधारहरूको यस्तो बिचल्लीलाई सरकार टुलुटुलु हेरेर किन बस्छ ?
साथीको प्रलोभनमा तान्त्रिक बाबाले मन पराए धेरै पैसा पाउने भनी बलि दिन १६ वर्षीया बालिकालाई मङ्सिर १७ देखि पुस १९ गतेसम्म काठमाडौँमा बन्धक बनाएर पुस २२ गते भारत पु¥याइएका घटनाका दोषीलाई कारबाही किन हुँदैन ?”
सांसद सुवालले सभामुखलाई भेटेर विशेष समयमा आफूले बोल्ने जानकारी गराउँदासमेत सचिवालयका कर्मचारीहरूले अन्य सबै पार्टीका प्रतिनिधि सांसदलाई बोल्न दिने र नेमकिपालाई बोल्न नदिने जालसाजी गरे । सांसद सुवालले संसदमा बोल्न नपाए सडकमा बोल्न जानु भनी आदेश गर्नुपर्ने उल्लेख गर्दै बैठक अवरुद्ध गर्ने जानकारी गराउनुभयो । त्यसपछि सभामुखको कुर्सीमा बसेका उपसभामुख इन्दिरा रानाले सांसद सुवाललाई बोल्ने समय दिने जानकारी गराउनुभयो ।
Leave a Reply