भर्खरै :

पुँजीपतिवर्ग र सामन्तवादको विरोध नगर्नेहरू कम्युनिस्ट नहुने

पुँजीपतिवर्ग र सामन्तवादको विरोध नगर्नेहरू कम्युनिस्ट नहुने

भक्तपुर, २२ माघ । “कुन सरकार ठीक वा गलत छ भन्ने कुरा उसले गर्ने कुराभन्दा पनि कुन वर्गको सेवामा त्यो सरकार प्रतिबद्ध छ त्यो महत्वपूर्ण हुन्छ । कम्युनिस्ट सरकारले बहुसङ्ख्यक कामदार वर्गको हितमा नीति तथा काननुहरू पारित गर्छ भन्ने पुँजीपति सरकारले सीमित पुँजीपतिहरूको हितमा नीति नियम बनाउने गर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा आइतबार भएको प्रशिक्षण कार्यक्रममा राख्नुभएको हो ।
प्रधानमन्त्री भएको बेला बहुसङ्ख्यक कामदार जनताको हितमा केही काम नगर्ने माधवकुमार नेपालले अरुलाई दक्षिणपन्थी र संशोधनवादी देख्नु उसको पाखण्डीपन भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
एकैबाजी आमूल परिवर्तन सम्भव नहुने धारणा राख्दै उहाँले समाजवादी आन्दोलन सफल हुन एक ‘ऐतिहासिक युग’ लाग्न सक्नेतर्फ सचेत गराउनुभयो ।
“फाइदाको निम्ति जे पनि गर्ने प्रवृित्त अवसरवाद हो । क्रान्तिको परिस्थिति तयार नहुँदै क्रान्ति गर्न खोज्नु वामपन्थी अवसरवाद हो भन्ने क्रान्तिको परिस्थिति तयार भए पनि क्रान्ति नगर्नु दक्षिणपन्थी अवसरवाद हो”, अध्यक्ष रोहितले भन्नुभयो ।
निर्वाचनबाट आमूल परिवर्तन गर्ने विचार माक्र्सवादप्रति विश्वासघात नै भएको स्पष्ट धारणा राख्दै उहाँले जुनसुकै आन्दोलन र क्रान्तिबारे तुलनात्मक अध्ययनको खाँचो आँैल्याउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले शत्रु र मित्र चिन्न सक्नुपर्छ । शत्रुलाई मित्र सम्झने र मित्रलाई शत्रु सम्झने गल्ती हामीबाट हुनुहुँदैन । शब्दजालमा नफसी शब्दबारे गहन छलफल आवश्यक छ ।”
अन्यायको विरोध गर्न नसक्नु र साँचो कुराको समर्थन गर्न नसक्नु अपराध नै भएको धारणा राख्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पुँजीपतिवर्ग र सामन्तवादको विरोध नगर्नेहरू कम्युनिस्ट हुनसक्दैनन् । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभई भाइकाङ्ग्रेसजस्तै हो ।”
‘कहिल्यै सूर्य नअस्ताउने’ मुलुक कहलिएको बेलायती साम्राज्यवादको पतन भएजस्तै अमेरिकी साम्राज्यवाद पतनोन्मुख अवस्थामा रहेको छ, उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले नेमकिपा स्थापनाका आधारहरूबारे स्पष्ट पार्दै नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपा ‘प्रकाशस्तम्भ’को रुपमा रहेको बताउनुभयो ।
नेमकिपा स्थापना नभएको भए नेपालमा देश र जनताको पक्षमा र विश्व सर्वहारावर्गको पक्षमा कामदार जनतालाई सचेत पार्ने तथा भारतीय विस्तारवाद एवं अमेरिकी साम्राज्यवादको विरोध गर्ने पार्टी नै नहुने धारणा राख्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवाद र अवसरवादको विरुद्धमा सङ्घर्ष गरी समाजवादी आन्दोलन अगाडि बढाउने कार्यमा नेमकिपा जिम्मेवारीपूर्वक लागिरहेको छ, उहाँले भन्नुभयो ।
नेमकिपाको योगदानकै कारण भक्तपुर आज शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा उदाहरणीय नगर बन्न सफल भएको केन्द्रीय अध्यक्ष लासिवाले उल्लेख गर्नुभयो ।
इन्जिनियरिङ समाज नेपालका केन्द्रीय अध्यक्ष रवीन्द्र फोजूले ‘नेमकिपाका स्थापनाको पृष्ठभूमि र पञ्चायतकालसम्मको नेमकिपा’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
नेमकिपा स्थापना गर्नमा बाग्मती, नारायणी र जनकपुर अञ्चलका कार्यकर्ताहरूको योगदान रहेको चर्चा गर्दै उहाँले पञ्चायतको निरङ्कुश समयमा पनि नेमकिपाका कार्यकर्ताहरूले भेरी र कर्णालीमा सङ्गठन विस्तार गरी जनतालाई राजनीतिकरुपमा सचेत गर्ने काम गरेको बताउनुभयो ।
नेमकिपाले सैद्धान्तिक सङ्घर्ष र पार्टी प्रकाशनमा जोड दिई कार्यकर्ताहरूको सांस्कृतिकस्तर उकास्न जोड दिएको छ, उहाँले भन्नुभयो ।
प्रभात अङ्ग्रेजी मा.वि.का प्रअ बदनकेशरी प्रजापतिले ‘भक्तपुरको किसान आन्दोलन’बारे प्रकाश पार्नुभएको थियो ।
भूमिसुधार अगाडि भक्तपुरका किसानहरूको स्थिति दयनीय रहेको चर्चा गर्दै उहाँले भक्तपुरको किसान सङ्घर्षको प्रभावमा नेमकिपाको सङ्गठन विस्तार भएको धारणा राख्नुभयो ।
कार्यक्रममा समाजका केन्द्रीय सचिव शिवराम धुख्वा र केन्द्रीय सदस्य दिलकृष्ण माकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *