भर्खरै :

नेमकिपा जडसूत्रवादी र सङ्कीर्ण पार्टी होइन

नेपाल मजदुर किसान पार्टी अन्तर्राष्ट्रवादी पार्टी हो । यो पार्टी भारतीय विस्तारवादविरोधी र अमेरिकी साम्राज्यवादविरोधी पार्टी हो । यो श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने देशभक्त पार्टी हो । अतिक्रमित नेपाली भूमि फिर्ता लिन र अतिक्रमण गर्ने देशको विरोध गर्ने पार्टी हो नेमकिपा । कुनै सत्ताको भागबन्डामा नअल्झिएको, कुनै पनि विदेशी शक्ति राष्ट्रको पछि नलागेको र नझुकेको पार्टी नेमकिपालाई सङ्कीर्ण चरित्रको दाबी गर्नु नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दृष्टिदोष हो । स्थापनाकालदेखि देश र जनताप्रति समर्पित, देश र जनताको पक्षमा सङ्घर्ष गर्ने, देश र जनताको सेवा गर्न कानुनी र गैरकानुनी सङ्घर्ष गर्ने दल नेमकिपा कसरी सङ्कीर्णवादी हुन्छ ? क्रान्तिकारी भूमिसुधार लागु गर्न र स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न सङ्घर्षरत दल नेमकिपा सङ्कीर्ण कि कम्युनिस्ट भन्ने तर कम्युनिस्टको सिद्धान्त र विचार थाती राखेर भागबन्डामा लाग्ने, सरकारमा जानको निम्ति जोसुकै दलसँग गठबन्धन गर्ने एकीकृत समाजवादी सङ्कीर्ण ¤ स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेको नेमकिपाको हृदय साँघुरो छैन, चित्त सानो छैन, सङ्कुचित छैन । कुनै दलको दृष्टिकोणबारे गरिएको टिप्पणी सही हुनुपर्छ, मूल्याङ्कन सही हुनुपर्छ ।
नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा हो । वर्गसङ्घर्षविना समाजवाद स्थापना सम्भव छैन भन्ने नेमकिपाको धारणा हो । पुँजीवादी संसदीय व्यवस्थाको निर्वाचनबाट समाजवाद सम्भव छैन भन्ने मान्यता नेमकिपाको हो । नेमकिपाले आत्मसात गरेको मार्गनिर्देशक सिद्धान्तलाई नेपालमा जस्ताको तस्तै लागु गर्नुपर्छ भन्ने धारणा नेमकिपाको होइन । त्यस सिद्धान्तलाई देशको माटो सुहाउँदो लागु गर्नुपर्छ भन्ने अवधारणा नेमकिपाको हो । नेमकिपा सरकारमा नगएको आधारमा, देशघाती एमसीसी सम्झौता र देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउने खालको नागरिकता विधेयकको विरोध गरेको आधारमा नेमकिपा कसरी जडसूत्रवादी हुन्छ ? चीनमा किसान आन्दोलन भयो र क्रान्ति सफल भयो । रुसमा मजदुर आन्दोलन भयो र क्रान्ति सफल भयो । नेपालमा पनि किसान क्रान्तिको आवश्यकता छ । वर्गसङ्घर्षको बाटो छोडेर नेमकिपा सरकारमा सामेल नभएकोले के त्यो आरोप लगाइएको हो ?
श्रमजीवी वर्गको पक्षमा नेमकिपा उभेको स्वीकार्ने एकीकृत समाजवादीले नेतृत्व वर्गलाई सङ्कीर्णता देख्नु एकीकृत समाजवादीको दिउँसै रात पार्ने प्रयास हो । एकीकृत समाजवादीले भनेअनुसार नेमकिपा भक्तपुरमा मात्र सीमित छैन । नेमकिपा भक्तपुरमा मात्र सीमित छ भन्नु आफैँमा सङ्कीर्ण सोच हो । विगतमा नेमकिपाले संसदीय निर्वाचनमा भक्तपुरबाहेक दैलेख र जुम्लामा जितेको थियो । जुम्ला, दैलेख, हुम्ला, मुगु, सुर्खेत, चितवन, काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, सिराहा, रौतहट, सर्लाही, मोरङ, बारा, पर्सालगायत झन्डै ५ दर्जन जिल्लामा नेमकिपाको सङ्गठन छ । यो कुरा थाहा हुँदाहुँदै बुझ पचाएको हो कि यथार्थ लुकाएर जसरी भए पनि विरोध गर्नुपर्छ भनेर सङ्कीर्ण भनिएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *