यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । यसको उद्देश्य देशमा भएको शोषक सामन्तको विरुद्धमा लड्ने हो† भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, जर्मनीको नाजीवाद, बेलायत, फ्रान्स र जापानजस्ता उपनिवेशवादी र नव–उपनिवेशवादको विरोधमा आवाज उठाउने हो । यसको विरोधमा कुनै पनि देशका जनताले आवाज उठाएमा ऐक्यबद्धता जनाउने हो । यस्तो उद्देश्य लिएर स्थापना भएको कम्युनिस्ट पार्टी २०१५ सालको चुनावमा हार भयो । वास्तवमा यो हारको लागि ठूलो भूमिका भारतले खेलेको थियो । भारतले नेपाली काङ्ग्रेसलाई धन र जनले सहयोग ग¥यो र काङ्ग्रेस पार्टीको जित भयो ।
कम्युनिस्टहरू निर्भिक र निडर हुन्छन् । कम्युनिस्टहरू कसैको अगाडि झुक्दैनन् । उनीहरू वर्गसङ्घर्षमा विश्वास गर्छन् । शोषितवर्गको पक्ष लिएर सामन्तवाद र पुँजीपतिवर्गको विरोधमा सङ्घर्ष गर्छन् । यही आधारमा समय–समयमा विभिन्न सङ्घर्षहरू भइरहे । कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी र देशभक्त हुन्छन् । तर, सबै देशभक्त कम्युनिस्ट हुँदैनन् । सबै अन्तर्राष्ट्रवादी पनि कम्युनिस्ट हुँदैनन् । नेपाल मजदुर किसान पार्टी संसारको कुनै देशमाथि साम्राज्यवादीहरूले थिचोमिचो गर्छन् भने त्यसको विरोधमा आवाज उठाउँछ । सच्चा देशभक्त र सच्चा कम्युनिस्टहरूले आफ्नो देशको एक इन्च पनि जग्गा मिच्न दिने छैनन् । तर, दुःखको कुरो नेपालका कम्युनिस्ट शासक दलहरूले भारतीय विस्तारवादले जतिसुकै आफ्नो भू–भाग मिचे पनि विरोध गरेका छैनन् । उनीहरू भारतीय कठपुतलीहरू हुन् । करिब २०२४ सालतिर (मसँग साल याद भएन) संवत् १९८९ सालमा आएको बाढीले नारायणी नदीले आफ्नो बाटो फेरेर करिब एक दशमलव ५ किलो मिटरभन्दा बढी नेपाली भूभाग भारततिर पर्ने गरी बगेको थियो ।
नवलपरासी जिल्लाको सुस्ता भन्ने गाउँको क्षेत्रफल ४०,९८० हेक्टर थियो । त्यसमध्ये १४५०० हेक्टर भारतले अतिक्रमण गरेर लिइसकेको छ भने ७ हजार हेक्टर भूमिमात्र नेपालीहरूले उपभोग गरिरहेका छन् । बाँकी १९७८० हेक्टर भूभागमा भारतीय विस्तारवादले खानकै लागि विवाद गरिरहेको छ । त्यसपछि सीमा विवाद सुरु भएको हो । सन् १९८१ मा नेपाल र भारतबिच सीमा विवादको विषयमा एउटा समिति बनाइएको थियो । त्यो समितिको २००३ मा वार्ता भएको थियो । तर, वार्ता असफल भयो । त्यसबेला भारतीयहरूले नेपालको सुस्ता भू–भाग मिचेको विषयमा भक्तपुरमा एउटा ठूलो जुलुस भएको थियो । त्यस जुलुसमा अग्रज हजारौँ कार्यकर्ताहरू संलग्न थिए । त्यतिबेला विद्यार्थीहरूको सङ्ख्या थोरै थियो । भक्तपुर किसानहरूको बाहुल्यता भएको जिल्ला भएकोले जुलुसमा धेरै किसान कार्यकर्ताहरू संलग्न थिए । जुलुस भक्तपुरको च्याम्हासिंहबाट सुरु भएर अगाडि बढेको थियो । जुलुस सूर्यमढी, दत्तात्रय, इनाचो हुँदै अगाडि बढिरहेको थियो । जुलुसको मुख्य नारा ‘भारतीय विस्तारवाद मुर्दावाद !’, ‘कालापानी हाम्रै हो ¤’, ‘सुस्ता पनि हाम्रै हो !’, ‘नेपाली जनता एक होऔँ !’, भारतीय विस्तारवाद सुस्ता छोड !’ आदि थियो । जुलुस जोशका साथ अगाडि बढ्दै थियो । जुलुस गोल्मढी टोल पुगेपछि पुलिसले जुलुस रोक्न खोज्यो । जुलुस अगाडि बढ्दै थियो । जुलुसलाई रोक्न सकिएन । त्यसपछि पुलिसहरूले लाठिचार्ज गरे । जुलुसमा सहभागीहरू पनि कम थिएनन् । जुलुसमा सहभागी किसान कार्यकर्ता, विद्यार्थी र मजदुरहरूले प्रतिकार गरे ।
पहिले पहिले घरमा कपडा बुन्ने गर्दथ्यो । त्यसलाई सर्वसाधारण भाषामा घरबुन्ना कपडा भनिन्थ्यो । कपडा बुन्नको लागि बाटोमा लट्ठीहरू राखेर धागो लम्ब्याउने गर्दथ्यो । त्यस कामलाई नेवारी भाषामा ‘थाज्या यनेगु’ भनिन्छ । करिब १०–१२ फिटको दुरीमा २–२ वटा लट्ठी बाँधेर मिलाएर ठड्याइएको हुन्छ । त्यसलाई ‘थाज्या कथि’ भनिन्छ । त्यो कथि वेदबाँसको हुन्छ । दुई छेउमा मोटा मोटा लट्ठी ठड्याइ ढुङ्गाको बिचमा प्वाल बनाएर राखेको हुन्छ । त्यसलाई ‘हि कि’ भनिन्छ । यहाँ ‘कि’ भनेको लट्ठी हो र ‘हि’ भनेको बेर्ने हो । यही थाज्यामा भएको ‘हि कि’ र थाज्या कथिहरू निकालेर पुलिसमाथि जाइलागेको थियो । पुलिस भागे । दिनभरि जुलुसको चर्चा र परिचर्चा भयो ।
त्यस जुलुस ‘सुस्ता काण्ड’ नामले प्रसिद्ध छ । भक्तपुरवासीहरूको प्रत्येक ढुकढुकीमा आज पनि सुस्ताको नारा घन्किरहेको छ – भारतीय विस्तारवाद सुस्ता छोड ! भारतीय विस्तारवाद मुर्दावाद ! नेपाली जनता एक होऔँ ! यसरी नेपाल मजदुर किसान पार्टीले भारतीय विस्तारवादको आवाज उठाउँदै आयो र सन् १८१६ को सम्झौताको विरोधमा आवाज उठाउँदै आयो । नेपाल मजदुर किसान पार्टी भारतीय विस्तारवादको विरोधमा सदन र सडकमा आवाज उठाउने पार्टी हो ।
२०७९ माघ १० गते सुस्ता बचाउ अभियानका एक अभियन्ता उपचारको क्रममा मृत्यु भयो । किनभने, उपचारको लागि ऊसँग पैसा थिएन । देशभक्तलाई राज्यले माया होइन तिरस्कार ग¥यो । यो २०७९ माघ ९ गतेको घटनाबारे अनलाइन समाचारमा प्रसारण गरेको थियो ।
नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले २०२३ सालतिर भियतनाम युद्धको लागि अमेरिकी सैनिक पठाएको विरोधमा आवाज बुलन्द गरे । २०२३ साल मङ्सिर–पुसतिर भक्तपुरको हनुमानघाटस्थित परोपकार संस्थाबाट अमेरिकाको विरोधमा जुलुस भएको थियो । त्यसबेला जुलुसमा प्रदर्शनकारीहरूले अमेरिकी साम्राज्यवाद भियतनाम छोड ! आदि नारा लगाएका थिए । भियतनाममा भएको अमेरिकी दमन र भियतनामी जनतामाथि गरेको अन्यायका दृश्यहरूको फोटो प्लेकार्डको रूपमा प्रयोग गरिएको थियो । यो जुलुस हनुमानघाटबाट सुरु गरेर गोल्मढी, चासुखेल, टिबुक्छेँ हुँदै दरबारस्क्वायर पुगेको थियो । पछि जुलुस दरबारस्क्वायरको ‘फसिदेग’ हाल सिलुमहादेवको मन्दिरमा गएर कोणसभामा परिणत भयो । प्लेकार्डका फोटोहरू सिलुमहादेवको खुड्किलाहरूमा राखेका थिए । पछि ती फोटोहरू पुलिसद्वारा जफत गरियो । यसरी हिन्द चीनमाथि अमेरिकी हस्तक्षेपको विरोधमा फोटो प्रदर्शनी र जुलुस गरेर नेमकिपाले आफूलाई अन्तर्राष्ट्रवादीको परिचय दिएको थियो ।
केही दिनपछि अग्रज नेता नारायणमान बिजुक्छेँ समातिए । उहाँ जेलमा पनि जेलका गार्ड र पुलिसहरूसँग राजनैतिक कुरा गर्नुहुन्थ्यो ।
भियतनाममा अमेरिकी हस्तक्षेप हुनुभन्दा अगाडि भियतनाम, लाओस र कम्बोडिया एउटै देश थियो ।
अमेरिकाको ‘झगडा गराउ, राज्य चलाउ’ भने नीतिअनुसार भियतनामबाट लाओस र कम्बोडिया छुट्यायो र भियतनाम अलग्ग ग¥यो ।
पछि अमेरिकाले कम्बोडिया र लाओसमा पनि आक्रमण ग¥यो । त्यसकारण, कम्बोडिया र लाओसमाथि गरेको आक्रमणको विरोधमा नेमकिपाले भक्तपुरमा बारम्बार जुलुस गरेको थियो ।
नेपाल मजदुर किसान पार्टीले बहुमत जनताको हितको लागि आवाज उठाइरहेको छ । तराईका जिल्लाहरूमा पनि किसान सङ्घर्ष भयो । भक्तपुरका किसानहरूको समस्या साँढे थियो । त्यसबेला गाउँघरमा झैँ सहरभित्र पनि ठूलाबडा सामन्तहरूले गाई पाल्थे । जब गाईले बाच्छो जन्माउँछ तब त्यसलाई धर्मको नाउँमा बाच्छोलाई दामेर खुला छोडिदिन्छ । घरमा पालिराख्यो भने गाईको दूध खुवाइरहनुपर्ने हुन्छ । दूध आफूले खानको लागि बाच्छाहरू त्यतिकै महादेवको नाउँमा बाहिर छोडिदिन्छ । यसले गर्दा बजारमा व्यापारीहरूको पसलको सामान खाइदिन्छ । उता खेतबारीतिर किसानहरूले रगत पसिना बगाई लगाइराखेको बाली खाइदिन्छ । यसरी साँढेले किसानहरूलाई दुःख दिएको सहन नसकेर नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ताहरूले यहाँको साँढे नगरकोट डाँडाभन्दा पूर्वसम्म धपाएका थिए । यस साँढे धपाइएको विरोधमा भक्तपुरका सामन्तहरू मिलेर विरोध गरे । यसको विरोधमा पार्टी कार्यकताहरू लागिपरे ।
वि.सं. २०२१ सालमा नेपालमा पञ्चायती व्यवस्थाका शासकले भूमिसुधार योजना लागु ग¥यो । यस योजनाअनुसार नेपालको सम्पूर्ण भू–भागलाई ४ भागमा विभाजन गरिदियो । सबभन्दा राम्रो अर्थात् सिँचाइ लाग्ने मैदान र खोलाको किनारका जग्गालाई अवल, अलि भिरालो सिँचाइ लाग्ने जमिनलाई दोयम, भिरालो सिँचाइ नलाग्ने, धानबाली लगाउन नसकिने जग्गालाई सिम र अरू बाली नै नलाग्ने कोदो फापरजस्तो बाली लगाउने जग्गालाई चाहार भनेर विभाजन गरियो । यी जग्गाको किसिमअनुसार मोहीले तल्सिङलाई बाली तिर्नुपर्ने कानुनी व्यवस्था थियो । कतिपय तल्सिङले मोहीमाथि धेरै अत्याचार गरिराखेको थियो । किसानहरूले आफ्नो रगत पसिना बगाएर उब्जाएको बालीमा तल्सिङले चार भागको एक भागमात्र किसानलाई दिन्थ्यो । तीन भाग तल्सिङले लिन्थ्यो । अब भूमिसुधारको ऐनअनुसार मोहीले अवल जग्गा भएकाले २३ पाथीमात्र धान तिर्ने, दोयम भएकाले १८ पाथी धान, सिम भएकाले ११ पाथी मकै तिर्ने नियम बन्यो । देशमा जग्गाको नापी नक्सा तयार गरेर कुन जग्गा कुन हो छुट्याएर जग्गावाला तल्सिङलाई सक्कली लालपुर्जा र मोहीलाई नक्कली लालपुर्जा वितरण गरियो । त्यसमा पनि मोही किसानहरूलाई आफूले कमाएको जग्गाको मोहीको नाम आफ्नै राख्नुपर्छ भनी चोटा बैठक र टोलटोलमा किसान सङ्घले किसानहरूलाई सिकाएको थियो । यसबाट अरूको जग्गा कमाएर खाने धेरै किसानहरूले जग्गामा आफ्नो अधिकार प्राप्त गरे । तर सामन्तहरू यो भूमिसुधारको कानुन मान्न तयार भएनन् । किसानहरूमाथि थिचोमिचो नै गरेर खाने सोच उनीहरूको थियो । त्यसबेला एकातिर बाली तिर्ने र भर्पाई लिने आन्दोलन र अर्काेतिर जोत कायम गर्न बाली काट्ने आन्दोलन गर्नुप¥यो ।
भर्पार्ई आन्दोलन के हो र किन गर्नुप¥यो ? मोहीले बाली बुझाउँदा बाली लिने तर बाली लिएको प्रमाण नदिने तल्सिङको नियतविरुद्ध भर्पाई आन्दोलन भएको थियो । भूमिसुधारको कानुनमा ३–४ वर्ष लगातार बाली नबुझाएमा तल्सिङले किसानहरूको मोहीयानी हक खोसेर बेदखल गर्न सकिन्थ्यो । त्यही कानुनलाई आधार मानेर मोहीयानी हक खोस्न बाली लिएर बाली बुझेको प्रमाण नदिने गरेको पाइयो । त्यसो गरेपछि मोहीसँगै कार्यकर्ताहरू बाली तिर्न जाने र भर्पाई लेखाएर ल्याउने गरे । यदि तल्सिङले भर्पाई या बाली बुझेको प्रमाण नदिएमा तल्सिङलाई बाली नतिरी नगर पञ्चायतमा लगेर धरौटी राख्ने गर्दथ्यो । किनभने, कानुनमा तल्सिङले बाली नबुझेमा वा भर्पाई नदिएमा धरौटी राख्न पाइने व्यवस्था गरेको थियो । यसलाई भर्पाई आन्दोलन भनेर भनियो । यो आन्दोलन करिब दस वर्षसम्म चल्यो ।
जोत कायम गर्न पनि नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ताहरूले धेरै सङ्घर्ष गर्नुभएको थियो । मोहीले आफूले कमाएको खेतमा बाली लगाउँछ । बाली काट्ने समयमा मोहीलाई थाहै नदिई आधा काँचो आधा पाको धान राति नै तल्सिङले काटेर लाने गर्दथ्यो । मोहीसँग जग्गा खोसेर लिन्थ्यो । यो कुरो थाहा पाएपछि किसान कार्यकर्ताहरू जम्मा भएर ती बेइमान तल्सिङको जग्गामा बाली काटेर वास्तविक मोहीको घरमा बाली पु¥याउने गर्दथ्यो । यसरी बाली काट्ने आन्दोलनमा कतिपय ठाउँमा पुलिस बोलाइराखेको हुन्थ्यो । पुलिससँग मुठभेद हुन्थ्यो । कतिपय कार्यकर्ताहरूलाई झूटो मुद्दा लगाएर जेलमा राखेको थियो । यसरी मोहीयानी हक सुरक्षा गर्नको लागि नेपाल मजदुर किसान पार्टीका नेताहरू जेलनेलदेखि नडराई बाली काट्ने आन्दोलनमा सहभागी भएर किसान आन्दोलनलाई अगाडि बढाएका थिए ।
मोहीयानी हकको सुरक्षाको लागि किसानहरूले गुठी जग्गा रैकर गर्नुपर्छ भनेर आवाज उठाए । किनभने, गुठी जग्गा सरकारी जग्गा हो भनेर सरकारले मोहीयानी हक बेदखल गर्ने गरी कानुन बनाएको थियो । त्यसकारण, नेमकिपाका अग्रजहरू समय–समयमा डेलिगेसन गए† सम्बन्धित भूमिसम्बन्धी ज्ञाताहरूसँग छलफल गर्न पुगे । धेरै आन्दोलनपछि जग्गा रैतानीमा परिवर्तन गर्न लगाउन सफल भयो । फेरि यो गुठी जग्गामा छ्वायबाली (मध्यष्ठ) खानेहरू (महन्तहरू) मिलेर गुठी जग्गा रैतानीको विरोधमा आए । त्यसपछि हालसम्म गुठी जग्गा रैतानी गर्न पाएको छैन । कतिपय मोहीहरू आत्तिएर बसे । यसरी भूमिसम्बन्धी बढी आन्दोलन भक्तपुरमा भएकोले भक्तपुरका किसानहरूले जग्गाको बेचबिखन गर्दा आधा जग्गा पाउने भए ।
हाल नेपालमा सहकारी संस्थाहरू धेरै छन् । ती सहकारी संस्थाले कृषक या मजदुरहरूलाई प्रत्यक्ष फाइदा दिएको खासै हामीले देखेका छैनौँ । हामीले पैसाको कारोबार गर्ने अथवा बैङ्ककै रूपमा मात्र देखेका छौँ । त्यसबेलाको सहकारी आन्दोलनमा प्रत्येक किसानहरूलाई एउटा भाँडो दिएको हुन्छ । त्यस भाँडोमा दिनको १ मुठी धान राख्ने र महिनामा एकपटक सबैको धान टोलमा जम्मा गरिन्थ्यो । त्यो धान सहकारीले बेचिदिन्थ्यो । त्यो धान बेचेको पैसाबाट किसानहरूलाई चाहिने मल, बीउबिजन किनेर ल्याइदिन्थ्यो । त्यो बीउबिजन र मल टोल–टोलमा लगेर बाँडिदिन्थ्यो । तर, दुःखको कुरा केही समयपछि सहकारीका सञ्चालक र कार्यकर्ताहरूले मल र बीउबिजन किसानहरूलाई वितरण गर्नुको सट्टा, पैसाको मकै किनेर ल्याएर बेचे र नाफा लिए । यसरी किसानहरूको रगत पसिनाको कमाइमा निजी सम्पत्तिजस्तै गरेर नाफा खाएर भ्रष्टाचार गरेको थाहा पाएपछि किसान कार्यकर्ताहरू मिलेर बचत फिर्ता मागे । बचत फिर्ता गर्न नसकेपछि सञ्चालक समातियो र उल्टो टोपी लगाई भक्तपुर नगर परिक्रमा गराइयो । यस आन्दोलनलाई सहकारी आन्दोलन वा भ्रष्टाचारविरोधी आन्दोलन भनिन्छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू विचलनमा आए । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराको अध्ययनको कमीले विभिन्न नेताहरूले आफ्नै किसिमको विचार राखेर आन्दोलन गर्ने कुरा गरे । कोही भारतीय नक्सलवाद र चार मजुमदारको सिद्धान्तमा लागेर झापाकाण्ड गरे । कोही हाम्रो मुख्य शत्रु राजा हो राजालाई समाप्त गरेपछि देशमा समाजवाद आउँछ भन्नेतिर लागे । कोही चुनावमा भाग लिने र बहुमत सङ्ख्या जिताएर समाजवाद लागु गर्नेतिर लागे । यसरी सिद्धान्त नमिलेपछि कम्युनिस्टहरू गुट उपगुटमा लागे र एकले अर्कालाई गालीगलौज गर्नतिर लागे । यस्तो बेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’ नामक पुस्तक लेखेर कम्युनिस्टहरूको चरित्र स्पष्ट पारिदिनुभयो । किताबमा वर्गशत्रु को हो र मित्र को हो भन्ने कुरा स्पष्ट पारिएको थियो । त्यस्तै पुस्तकमा भारतीय विस्तारवाद हाम्रो मुख्य बाह्य शत्रु भनी उल्लेख थियो । पञ्चायत व्यवस्थाभित्र घुसेर बाह्य र आन्तरिकरूपमा सङ्घर्ष चलाउनुपर्छ भनेर लेखियो । पञ्चायतको चुनावमा भाग लिएर जनताको हितको लागि काम गरिएको थियो । नेमकिपाले अमेरिकी साम्राज्यवादको विरोध गरेको थियो । खु्रश्चेभको नीतिलाई लिएर रुसी सामाजिक साम्राज्यवादको विरोध गरियो । ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ नामक पुस्तक लेखियो ।
सङ्गठन विस्तारको क्रममा चितवन जिल्ला नेपाल मजदुर किसान पार्टीको सबभन्दा राम्रो जिल्ला थियो । त्यसकारण, चितवनका जनताले शोषण, दमन र अन्यायको विरोधमा आन्दोलन सुरु गरेका थिए । त्यसलाई ‘जुगेडी काण्ड’ भनिन्छ ।
यसरी अन्य कम्युनिस्ट पार्टीहरूसँगको अन्तद्र्वन्द्वपछि नेपालमा एउटै कम्युनिस्ट पार्टी भएर विकास नहुने देखेर २०३१ माघ १० गते दरभङ्गामा बसेको केन्द्रीय समितिको निर्णयअनुसार नेपाल मजदुर किसान पार्टी विधिवतरूपमा स्थापना भएको थियो । त्यसकारण, प्रत्येक वर्ष माघ १० गते नेपाल मजदुर किसान पार्टीले स्थापना दिवस मनाउँदै आएको हो ।
नेपाल मजदुर किसान पार्टीको मुख्य उद्देश्य देशमा आमूल परिवर्तन गर्ने हो । यो आमूल परिवर्तनको लागि ‘सशस्त्र सङ्घर्ष’ गर्ने हो । यसको लागि सम्पूर्ण कार्यकर्ताहरू जनतामाझ गएर प्रचारप्रसार गर्ने हो र गरिरहेको छ ।
Leave a Reply