भर्खरै :

भक्तपुर नगरपालिकाको तेह्रौँ नगरसभा उद्घाटन निर्वाचनबाट समाजवाद ल्याउन सकिन्छ भन्ने विचार संशोधनवाद

भक्तपुर नगरपालिकाको तेह्रौँ नगरसभा उद्घाटन निर्वाचनबाट समाजवाद ल्याउन सकिन्छ भन्ने विचार संशोधनवाद

भक्तपुर, २३ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाको ते¥हौँ नगरसभाको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभाको पूर्ण सफलताको कामना गर्दै सर्वहारावर्गको नेतृत्वमा बाहेक समाजवाद आउँदैन, समाजवाद ल्याउन वर्गसङ्घर्ष आवश्यक छ भन्नुभयो । उहाँले निर्वाचनबाट समाजवाद ल्याउन सकिन्छ भन्ने विचार संशोधनवाद हो, यो कम्युनिस्ट पार्टीभित्रको पुँजीवादी विचार हो भन्नुभयो ।
क्रान्तिको वातावरण तयार भएर पनि क्रान्ति नगर्ने दक्षिणपन्थी अवसरवाद र क्रान्तिको वातावरण तयार नहुँदै क्रान्ति गर्ने वामपन्थी अवसरवादबाट मुक्त भई राजनैतिक सङ्घर्षलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालमा पश्चिमेली संसदीय राजनैतिक प्रणालीमा प्रतिपक्षको व्यवस्था हुने चर्चा गर्दै उहाँले नेपाली काङ्ग्रेसले सरकारलाई समर्थन गरेर संसदीय मूल्य र मान्यता उल्लङ्घन गरेको विचार व्यक्त गर्नुभयो ।
जनतालाई राजनैतिकरूपले सचेत पार्दै सशस्त्र क्रान्तिमार्फत समाजवादी व्यवस्था लागू गर्न राजनैतिक सङ्घर्ष अगाडि बढाइरहेको नेमकिपालाई सङ्कीर्ण र जडसूत्रवादी आरोप लगाउने राजनीतिक दल र दलका नेताहरू संशोधनवादी र अवसरवादी भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
राजनीतिक दलमा स्वच्छता नभएकोले देश पछि परिरहेको बताउँदै उहाँले पद पाउनकै लागि राजनीति गर्नेहरूले देश र जनताको निःस्वार्थ सेवा गर्न नसक्ने बताउनुभयो ।
सहीलाई सही र गलतलाई गलत भन्न सके देशले निकास पाउने र त्यो स्वच्छ राजनीति हुने चर्चा गर्दै उहाँले सच्चा कम्युनिस्ट पार्टीले क्रान्तिकारी भूमिसुधार, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसार काम र कामअनुसार ज्याला, शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
आफूलाई क्रान्तिकारी र समाजवादी भन्ने दलले पुँजीपतिवर्गको नेतृत्वमा सरकारमा जाने नीति द्वैधचरित्र भएको उल्लेख गर्दै उहाँले सिद्धान्तलाई गलत ढङ्गले प्रयोग गरेको हुँदा देशमा राजनीतिक अन्योल देखिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरसभा नगरपालिकाको व्यवस्थापिका भएको बताउँदै सभाले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको लागि आवश्यक ऐन कानुन, नीति नियम, निर्देशिका तथा कार्यविधिहरू तयार गर्दै आएको बताउनुभयो ।
स्वायत्तताको नाउँमा स्थानीय तहमाथि सङ्घ र प्रदेशको हस्तक्षेप नै अहिलेको मुख्य समस्या भएको बताउँदै उहाँले सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई आफ्नो मातहतको निकायजस्तो व्यवहार गर्नु स्वायत्तता र संविधानको भावनाविपरीत भएको बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, कृषि, विकास निर्माण, सरसफाइलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रजापतिले नेमकिपाका अध्यक्ष बिजुक्छेँले कल्पना गर्नुभएको १०० वर्षपछिको भक्तपुर दीर्घकालीन उद्देश्य भएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले नेमकिपाको घोषणापत्रअनुसार देश र जनतामा समर्पित भई काम गरिरहेको चर्चा गर्दै जनप्रतिनिधि र कर्मचारीको अथक प्रयासले नपाले आजको सफलता हासिल गरेको बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नगरसभाको सफलताको शुभकामना दिँदै अनुशासन, सुशासन, कला, संस्कृति संरक्षण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा भक्तपुर नपा उदाहरणीय रहेको बताउनुभयो ।
संविधानले परिकल्पना गरेको सङ्घीयता अभ्यास गर्ने क्रममा भक्तपुरमा सुशासन, शान्ति सुरक्षा कायम गर्न सबैसँग हातेमालो गरी अगाडि बढ्ने बताउँदै उहाँले नगरसभाले आवश्यक ऐन कानुन तर्जुमा गर्न सफलता मिल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विष्णुदत्त पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई सरकारी अस्पताल बनाउन भक्तपुर नपाको विशेष पहल भएको बताउंँदै भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण उपचार सेवा उपलब्ध भएको बताउनुभयो ।
मेडिकल अन्कोलोजीको अध्ययन अध्यापन पनि भक्तपुर क्यान्सर अस्पतालबाट गराइरहेको जानकारी गराउँंदै उहाँले भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरका बिरामीलाई प्यालेटिभ केयर दिँदै आएको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्यसहित सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले सर्वसाधारण जनतालाई कम शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
कलेजमा अध्ययनरत छात्रा विद्यार्थीको तथ्याङ्क उल्लेखनीय भएको चर्चा गर्दै उहाँले देशैभरिका जिल्लाका विद्यार्थीहरू दुवै कलेजमा अध्ययनरत रहेको बताउनुभयो ।
नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *