लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
राजनीतिक दृष्टिकोण स्पष्ट नभएसम्म राजनीतिक दलले गर्ने काम सहज हुनेछैन । शासक नेताहरूको अस्पष्ट दृष्टिकोणले गर्दा कार्यकर्ता र जनता अन्योलमा परेका छन् । नेका प्रतिपक्षमा बस्नुपर्ने थियो । तर, उसले सरकारको समर्थन ग¥यो या सरकारको पक्षमा मतदान ग¥यो । यो पश्चिमेली संसदीय व्यवस्थाविपरीत कदम हो । प्रतिपक्षको मुख्य काम सरकारको दोषपूर्ण काम, गलत नीति र नियमको विरोध गर्ने या खबरदारी गर्ने हो । सरकारमा बसेर वा सरकारको समर्थन गरेर सरकारी नीति र कार्यको विरोध गर्न मिल्दैन । तर, त्यो कुरा उसको पार्टीभित्र उठाउन पाइन्छ । सरकारमा रहेर सरकारकै विरोध गर्ने हो भने मन्त्री पदबाट राजीनामा दिनुपर्छ या सरकारबाट बाहिर बस्नुपर्छ । लायक नभएका या विषय ज्ञान नभएका सांसदहरू मन्त्री भएर देशमा कसरी शिक्षा र स्वास्थ्यमा प्रगति या सुधार हुन्छ ? त्यसको दोष कर्मचारीलाई दिएर समस्या समाधान हुने होइन । त्यसको दोषी सत्तासीन राजनीतिक दलहरु नै हुन्छन् ।
नेकाले आफ्नो दलको नेता या संसद्लाई राष्ट्रपति पाउने उद्देश्यले सरकारको समर्थन गर्नु पश्चिमेली संसदीय मान्यताविपरीत छ । आफ्नो दलको सिद्धान्त र विचारलाई गलत ढङ्गले प्रयोग गर्नु उचित होइन । यसले अन्योल बढाउँछ । संसदीय व्यवस्थाको पक्षमा छैन भने या त विरोध गर्नुपर्छ या सही छ भने उपयोग गर्नुपर्छ । यसबारे नेकाले स्पष्ट पार्नुपर्छ ।
प्रजातान्त्रिक व्यवस्थामा संसद्मा प्रतिनिधित्व गर्ने दलले आ–आफ्नो दलको धारणा राख्न पाउँछ । कसैले भिन्न मत राख्ने नाउँमा बोल्न नदिने र बोल्दैमा त्यो दलको विचार आत्मसात गर्नुपर्छ भन्ने होइन । कसैले आफ्नो दलको मत राख्दैमा के संसदीय व्यवस्था तासको घरजस्तै भत्किन्छ ? राजतन्त्र र हिन्दू धर्मबारे कसैले वकालत गर्न पाइन्छ र त्यसको प्रतिकार या असहमति पनि जनाउन पाइन्छ । विचारको स्वतन्त्रतालाई रोक्न मिल्दैन । संसद्मा दलले बल या शक्तिलाई प्राथमिकता होइन विचारलाई स्थान दिनुपर्छ† विचारले काम गर्ने हो, बलले होइन ।
सांसद सङ्ख्या मुख्य होइन विचार र चिन्तन मुख्य हो । सिद्धान्त र विचार थाती राखेर मौका पाएपछि अवसर खोज्ने दलका नेताहरू दूरदर्शी हुँदैनन् । आफूलाई क्रान्तिकारी, कम्युनिस्ट र समाजवादी भन्ने दलका नेताहरू पुँजीपतिवर्गको पृष्ठपोषण गर्ने दलको सरकारमा किन जान्छन् ? कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकार राजतन्त्रवादी नेताहरू छिरेपछि देश कतातिर जान्छ ? सोच्नुपर्ने विषय छ । दलले शत्रु मित्र शक्ति चिन्दैन भने त्यसको कसरी सुनिश्चित हुन्छ ? शत्रुलाई मित्र र मित्रलाई शत्रु ठान्ने दलका नेताहरू के गलत राजनीतिमा लागिरहेका त छैनन् ? हरेक राजनीतिक दललाई विचार या तर्कले मूल्याङ्कन गर्ने हो । स्वच्छ र सही राजनीति नगर्ने दलले देशको विकास गर्दैन । देशका सबै दलका नेताहरूले स्वच्छ राजनीति गर्नुपर्छ, देश र जनताप्रति समर्पित भएर अघि बढ्नुपर्छ ।
Leave a Reply