भर्खरै :

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति ६ प्रतिशतमात्रै

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति ६ प्रतिशतमात्रै

काठमाडौँ, २६ माघ (रासस) । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमि अर्थात् ६ प्रतिशतमात्रै सम्पन्न भएको रेल विभागले जनाएको छ ।
हालसम्म बर्दिवासबाट निजगढसम्म ७० किमि निर्माणको मात्रै योजना बनेको विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताउनुभयो । उहाँका अनुसार बाँकी अरू खण्डमा निर्माणको योजना बनेको छैन । एउटा खण्डमा भने विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अध्ययनका क्रममा रहेको छ ।
भारत सरकारको सहयोगमा निर्माणाधीन अरू योजनाजस्तै पूर्व–पश्चिम रेलमार्गमा पनि ‘ब्रोड गेज’मा निर्माण भइरहेको छ । हाल भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालनमा छ । महोत्तरीको विजुलपुरासम्म रेलमार्ग सम्पन्न भइसकेकाले त्यहाँसम्म नै सञ्चालन गरिने सरकारको योजना छ । भारत सरकारको सहयोगमा नै बर्दिवाससम्म रेलमार्ग निर्माण हुनेछ । बर्दिवाससम्म रेलमार्ग बनेपछि त्यहाँबाट निजगढसम्म लैजाने गरी सरकारले यो खण्ड निर्माण गरिरहेको छ ।
आयोजनामा सरकारले वार्षिकरूपमा विनियोजन गर्ने बजेट कम रहेकोले गति लिन नसकेको विभागले जनाएको छ । आयोजनामा हालसम्म वैदेशिक लगानी निश्चित भइसकेको छैन । रेलमार्गको बीचको एउटा खण्डमा अझै पनि विस्तृत अध्ययन सकिएको छैन । पहिले सबै खण्डमा एकैपटक अध्ययन भइसके पनि रेखाङ्कनमा राष्ट्रिय निकुञ्ज परेकाले सो रेखाङ्कन परिवर्तन गरेर हेटौँडा हुँदै भरतपुर पुग्ने गरी तय गरिएकोले बाँकी रहेको हो ।
आयोजना आफै सरकारको प्राथमिकतामा नपरेको र विभिन्न कानुनी अलमल कायम रहेको महानिर्देशक विसुरालले बताउनुभयो । केही समय पहिले आएको रेल्वेसम्बन्धी ऐनले रेल सञ्चालनका लागि बोर्डको व्यवस्था गरेको छ ।
पहिले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग नौ सय ४५ किमि लम्बाइ हुने देखिएको थियो । पहिलेको रेखाङ्कन परिवर्तन गरेर नयाँ अध्ययन हुँदा कूल लम्बाइ परिवर्तन हुनसक्ने देखिएको छ । पुरानो रेखाङ्कन चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय राष्ट्रिय निकुञ्ज भएर जाने गरी अध्ययन भएको थियो । अहिले निजगढ–हेटौँडा–भरतपुरको अध्ययन सकिँदा लम्बाइ केही बढ्ने अनुमान छ ।
नेपालमा रेल यातायातमा अहिलेसम्म उल्लेखनीय उपलब्धि हासिल भइनसके पनि धेरै योजना अघि बढिरहेका छन् । नेपालसँग अन्तरदेशीय रेलमार्ग विस्तारमा दुवै छिमेकी देश भारत र चीनले चासो देखाइरहेका छन् । भारतीय सरकारको सहयोगमा सीमा क्षेत्रमा पाँच रेलमार्ग निर्माणको सम्झौता भएकामा हाल दुई स्थानमा निर्माण भइरहेको छ ।
भारत सरकारले रक्सौलबाट सङ्घीय राजधानी काठमाडौँसम्म रेलमार्ग निर्माणका लागि अध्ययन गरिरहेको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन गरिसकेको चीन सरकारले काठमाडौँ–केरूङ रेलमार्ग निर्माणका लागि केही समय पहिलेमात्रै विस्तृत अध्ययन सुरू गरेको छ । पहिले रेल यातायात भौतिक पूर्वाधार मन्त्रालयमा एउटा आयोजनाको रूपमा रहेको थियो । विसं २०६८ देखि रेल विभाग स्थापना भएपछि त्यसले नै रेल यातायातमा काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *