भर्खरै :

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएर राष्ट्रपतिको सम्बोधन पूरा नहुने

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएर राष्ट्रपतिको सम्बोधन पूरा नहुने

काठमाडौँ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मकरूपमा काम गर्नुपर्ने खाँचो आँैल्याउनुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा उपकरण सहजरूपमा उपलब्ध गराउनुपर्छ ।” कृषिमा पूर्णकालीन रोजगारी उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले गरिबी न्यूनीकरणका लागि उद्योग क्षेत्रको रोजगारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले कामका लागि युवा विदेसिने अवस्थाको अन्त्य गर्न मुलुकभित्रै रोजगारी सिर्जनाका लागि सार्वजनिक र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले सबैले गुणस्तरीय शिक्षा पाउनुपर्ने जनताको नैसर्गिक अधिकारका लागि गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी पाठ्यक्रम र पठनपाठन पनि आवश्यक रहेकोमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीको सम्बोधनबारे नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालसँग सञ्चारकर्मीहरूले राखेको जिज्ञासाबारे उहाँले भन्नुभयो, “राष्ट्रपति भण्डारीको सम्बोधन पूरा गर्न मावि तहसम्म निःशुल्क र अनिवार्यत तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्छ ।”
दाल, चामल, तरकारी, खाना पकाउने ग्याँस आदि भारतबाट किनेर राष्ट्रपतिको सम्बोधन पूरा नहुने धारणा व्यक्त गर्दै सांसद सुवालले कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेतीलगायत नदीनाला भारतबाट फिर्ता लिएर नेपालीको लगानीमा जलविद्युत् उत्पादन गर्नु जरुरी छ भन्नुभयो ।
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएर राष्ट्रपतिको सम्बोधन पूरा नहुने औँल्याउँदै उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका घर भत्काएर, बाटो चौडा गरेर सडक जाम अन्त्य हुँदैन । मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नै निर्वाचन क्षेत्रमा बसोबास गरी सडक, अस्पताल, कलेज निर्माण गरी देशको सन्तुलित विकास गर्न जरुरी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *