भर्खरै :

बाँके, सुर्खेत, दैलेख, अछाम, कालीकोट र जुम्ला अध्ययन भ्रमणको स्मरण–२

बाँके, सुर्खेत, दैलेख, अछाम, कालीकोट र जुम्ला अध्ययन भ्रमणको स्मरण–२

अविस्मरणीय जुम्ला बसाइ
माघ ११ गते, बुधबार
जुम्लाको यात्रा यो मेरो पहिलो अनुभव भने थिएन । २०६७ सालतिर काठमाडौँबाट नेपालगञ्ज र नेपालगञ्जबाट जुम्लाको हवाई उडानमार्फत यात्रा गर्ने अवसर मिलेको थियो । काठमाडौँदेखि जुम्लासम्म प्लेनमा र जुम्लादेखि कालीकोटको मान्म सहरसम्म गाडीबाट पुगेका थियौँ । गाडीबाट जाँदा म र अर्को महिला साथी डराउँछन् भनेर हामीलाई गाडीमा पर्दा हालेर बाहिरको दृश्य केही नदेखिने गरी लगिएको थियो । तर पनि गाडीको झ्यालबाट चियाइचियाइ हेर्दै कालीकोट पुगेको त्यो दिनको स्मरण आज पनि झलझली आउँछ ।
यसपटकको जुम्ला भ्रमण भने वास्तवमै अविस्मरणीय रह्यो । जाडोयामको यात्रा त्यसमाथि हिउँले ढक्कमक्क ढाकेको अवस्थामा जुम्ला आउनु हाम्रो लागि सुनौलो यात्राजस्तै रह्यो । हिउँले भरिपूर्ण कर्णाली वास्तवमै स्वीट्जरल्यान्डभन्दा कम थिएन ।
भनिन्छ, अवसर र चुनौती भनेको सँगसँगै आउने कुरा हो । निरन्तरको हिमपातले जुम्लावासीको दिनचर्या कष्टकर बने पनि त्यही हिमपातले त्यहाँका किसानहरूलाई खुसी अनुभूति गराएको छ । हिमपात भएपछि जुम्लावासीहरू खुसी हुन्छन् । कारण, हिमपातका कारण खेतबारीमा हुने कीरा फट्याङ्ग्राहरू नास हुन्छन् र मलको रूपमा प्रयोग हुन्छन् । फलस्वरूप किसानहरूले लगाएको बाली राम्रो हुन्छ, उब्जनी बढ्छ । हामीलाई पनि सुरुमा जुम्ला पुग्दा हिउँ नै हिउँले छोपेको जुम्ला बजार देख्दा निकै रमाइलो लागेको थियो । त्यस दृश्य निकै नै आकर्षक थियो । तर, हिउँमा कुल्चँदै बजार परिक्रमा गर्दा चिसोले कठ्याङ्ग्रिने, हातखुट्टा पुरै चिसो भएर सा¥है गा¥हो बनाएको थियो ।

जुम्लामा प्रशिक्षण
आज बिहान करिब ९ बजेतिर सुनिल प्रजापतिको जुम्लास्थित ‘रेडियो खुला आकाश’ एफएममा अन्तर्वार्ताको निम्ति पुग्यौँ । हिमपातको कारण नेटवर्क राम्रोसँग नदेखाउने, बत्ती नहुँदा प्रत्यक्ष प्रसारण गर्न नसकिने, हाललाई रेकर्डमात्र गर्ने कुरा भयो । सोहीअनुसार स्टुडियोमा सबै बन्दोबस्त मिलाइएको थियो । कार्यक्रम सुरु गर्नै लाग्दा बत्ती गयो । त्यसपश्चात् केही समय अलमल भयो । त्यसैक्रममा एकजना मित्रले स्टुडियोकै कौसीमा गएर रेकर्ड गर्न पाए अन्तर्वार्ता अझ जीवन्त हुने कुरा बताए । रेडियोको नाम नै खुला आकाश, त्यसमाथि खुला आकाशमुनि बसेर अन्तर्वार्ता लिने कुरा सबैलाई चित्त बुझ्यो ।
त्यहीअनुसारको बन्दोबस्त गरी त्यहाँका सञ्चारकर्मी भीम नेपालीले प्रजापतिसँग करिब ४५ मिनेटको समसामयिक राजनीतिक विषयमा अन्तर्वार्ता लिनुभयो । छतबाट देखिने हिमपातको दृश्य निकै आकर्षक थियो । टाढा टाढासम्म देखिएको पहाडभरि सेताम्य हिउँले भरिएको थियो । मान्छेहरू आफ्नो छतमा रहेका हिउँ साबेलले पन्छाउँदै थिए, केही बालबालिकाहरू हिउँको डल्लो पारेर एकआपसमा हिउँले हानेर पनि खेलिरहेका थिए । कौसीमा राखिएको सोलारभरि सेतो हिउँले छोपिएको थियो । केही मानिसहरू सोलारको हिउँ सोहर्दै थिए । जुम्लाको हिमपातको दृश्यले निश्चय नै विशेष किसिमको रमाइलो अनुभूति दियो ।
तत्पश्चात्् हामी खानाको लागि होटल पुग्यौँ । खानापश्चात् हामी जुम्लाको चन्दननाथ नगरपालिकामा गएका थियौँ । नगर प्रमुख प्रजापतिले चन्दननाथ नपाका जनप्रतिनिधिसँग भेट्ने कार्यक्रम थियो । चन्दननाथ नपाका प्रमुख र उपप्रमुख दुवै काम विशेषले काठमाडाँै जानुभएको रहेछ । हामीलाई कार्यबाहक प्रमुख वडा नं. ४ का वडाध्यक्ष नवराज देवकोटाले स्वागत गर्नुभयो र दुई नपाबिच राजनीतिक, सांस्कृतिक, सामाजिक विषयमा अनुभव तथा विचार आदानप्रदान भयो ।
त्यहाँ सकाएर हामी जुम्लास्थित नेमकिपाको पार्टी कार्यालय रहेको ठाउँमा प्रशिक्षण कार्यक्रममा सहभागी भयौँ । त्यहाँ पनि जुम्लाका विभिन्न ठाउँहरूबाट घण्टौँ पैदल गरेर आएका पार्टीका अग्रज कार्यहरूमाझ अतिथि प्रजापतिले प्रशिक्षण दिनुभयो ।
प्रशिक्षण कार्यक्रमपश्चात् जुम्ला बजार अवलोकन भ्रमणमा निस्क्यौँ । हामीले चन्दननाथ मन्दिरको स्थलगत अवलोकन भ्रमण गर्यौँ । हिउँ नै हिउँले भरिएको जुम्ला बजारलाई नजिकबाट नियाल्ने अवसर मिल्यो ।

२०७९ माघ १२, बिहीबार
आज बिहानै दैलेखको लागि हिँड्नु थियो । ढोकामा हिउँ जमेको कारण हाम्रो गाडीको ढोका बन्द गर्न सकेनौँ । तातो पानी खन्याएर बरफ पगालेरमात्रै ढोका बन्द गर्न सक्ने अवस्था भयो । बिहान ७ बजे नै जुम्लाबाट दैलेखको लागि हिँड्ने हाम्रो सल्लाहअनुरूप बिहानै हाम्रो यात्रा दैलेखको लागि अगाडि बढ्यो । सडक र पहाडका दुवैतर्फ सेताम्य हिउँले ढाकिएको रमणीय दृश्य हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो । ठाउँ ठाउँमा फाटफुट ढुङ्गाहरू खसिरहेका थिए । हिमपातको रमणीय दृश्य गाडी भित्रैबाट मोबाइलमा कैद गर्दै अगाडि बढ्दै गयौँ । बाटोमा आउँदै गर्दा कालीकोटका नन्दबहादुर शाहीले घरमा खाना पाकिसकेको जानकारी दिनुभयो ।
करिब १२ बजे हामी मान्म खाँडाचक्र पुग्यौँ । मान्ममा मज्जाले घाम लागिरहेको थियो । हामीले केहीबेर घाम तापेर खाना खानतर्फ लाग्यौँ । मार्सी धानको स्वादसँगै हामीले निकै मीठो भोजन गर्यौँ । त्यहाँबाट करिब १ बजे राकमको लागि हिँड्यौँ ।
राकमको जनचेतना माविमा प्रशिक्षण कार्यक्रम राखिएको थियो । निर्धारित समत्न्दा १ घण्टा अगाडि राकम पुग्यौँ । त्यसैले नजिकै रहेका दैलेखबाट अछाम जोड्ने बनिरहेको नयाँ पुलको अवलोकन गर्न त्यहाँको पुरानो झोलुङ्गे पुलसम्म गयौँ ।
करिब ४ः३० बजे प्रशिक्षण कार्यक्रम सुरु भयो । सुनिल प्रजापतिले नेमकिपा स्थापनाका आधारहरू, पार्टीको उद्देश्य प्राप्तिका लागि सदनदेखि सडकसम्म पार्टीले खेल्दै आएको भूमिकाबारे स्पष्ट पार्नुभयो । कार्यक्रम ७ः३० बजेसम्म चलेको थियो ।
कार्यक्रम सकिएलगत्तै सारथी संसार डटकम टेलिभिजन (अनलाइन) का प्रतिनिधि लोकेन्द्र विश्वकर्मासँगको अन्तर्वार्ताको लागि गयौँ । भनपाले शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुदलगायत क्षेत्रमा गर्दै आएको कामबारे केन्द्रित भएर अन्तर्वार्ता लिइएको थियो । करिब ४० मिनेट जतिको अन्तर्वार्ता सकाएर बस्नको लागि साथीहरूले मिलाइराख्नुभएको हेमन्त होटलमा पुग्यौँ ।

दैलेखको यात्रा
२०७९ माघ १३, शुक्रबार
कर्णाली नदीको किनारामा हाम्रो बास भएकोले होला, रातभर हावाहुरीले हामीलाई सुत्न असहज बनायो । हावाहुरीको आवाजले रातको २ बजेदेखि निदाउन सकिएन । हुरीको कारण कोठाको झ्यालका शिशा, चुकुलहरूको आवाज निरन्तर बजिरह्यो । जीवनमै यति भयानक हुरीको महसुस कहिल्यै गरिएको थिएन । राति २ बजेदेखि चलेको हुरी बिहानसम्म निरन्तर तेजगतिमा चलिरहेको थियो ।
बिहान ७ः३० बजेतिर स्थानीय साथीहरू हामीलाई बिदा गर्न आउनुभयो । सँगै चिया र बिस्कुट खाएर हामी दैलेख पादुकामा हुने प्रशिक्षण कार्यक्रमको लागि अगाडि बढ्यौँ । हामी मध्यपश्चिम राजमार्ग हुँदै दैलेखको लागि हिँड्यौँ । बन्दै गरेको मध्यपश्चिम राजमार्ग निकै घुमाउरो बाटो थियो । तर, बाटो पुरै चौडा र ढलान गरिएको हुँदा यात्रा सहज भयो ।
दैलेखको आठबीस नगरपालिकाको सातालामा साथीहरूसँग सामान्य भेटघाट भयो । उहाँहरूको सुझावअनुसार लक्ष्मी मावि र त्यहाँको स्वास्थ्य केन्द्रको अवलोकनमा गयौँ । विद्यालयमा प्रअ र शिक्षकहरूसँग भेटघाट गरी विद्यालयको अवस्थाबारे सङ्क्षिप्त जानकारी लिने काम भयो । प्रमुख प्रजापतिले भनपाले शिक्षा क्षेत्रमा गरिरहेको कामबारे पनि जानकारी दिनुभयो । साथीहरूकै आग्रहमा त्यहाँको स्वास्थ्य केन्द्रको पनि अवलोकन गरियो । वडा नं. १ का वडाध्यक्षसँग भेट गरी स्वास्थ्य चौकी र वडाको बारेमा सङ्क्षिप्त जानकारी लिने काम भयो ।
सरसरती दैलेखको सात्तलाका साथीहरूसँग भएको कुराकानी सुन्दा त्यस ठाउँमा अहिलेसम्म बत्तीको व्यवस्था नरहेको थाहा भयो । स्वास्थ्य चौकीमा पनि आवश्यक स्वास्थ्य सेवा सुविधा नहुँदा कति सुत्केरीले प्रसूतिको समयमा ज्यानसमेत गुमाएको घटना उहाँहरूले सुनाउनुभयो । त्यहाँका स्थानीय जनता राजनैतिकरूपमा सचेत त देखिन्छन् तर चुनावको समयमा शासक दलका नेता कार्यकर्ताहरूबाटै पैसाको छेलोखेलो गरी चुनाव जित्ने गरेको कुरा उहाँले प्रस्ट पार्नुभयो । यहाँका जनतालाई राजनीतिकरूपमा सचेत पार्ने काम कसैले नगर्ने तर पद र पैसाको लोभ देखाएर मान्छेलाई दुरूपयोग गर्ने गरेको दुःखेसो उहाँहरूले गर्नुभयो । गरिब, सोझासाधा जनतालाई बिगार्ने काम शासक दलबाटै भइरहेको यही कुराबाट पनि प्रस्ट हुन्छ । हाम्रो दैलेखको दुल्लुस्थित पादुकामा आज प्रशिक्षण कार्यक्रम तय थियो ।
हामी करिब १ बजेतिर पादुकामा पुग्यौँ । पादुका मन्दिर परिसरमा साथीहरू भेला हुने क्रम जारी थियो । त्यहाँ साथीहरूले वनभोज शैलीको कार्यक्रम राख्नुभएको थियो । हामीलाई पनि त्यहीँ खानाको बन्दोबस्त गरिएको थियो । बिहानको खाना खाइसकेपछि नजिकै रहेको खुला चौरमा प्रशिक्षण कार्यक्रम सञ्चालन भयो । उक्त प्रशिक्षण कार्यक्रममा प्रजापतिले पार्टी स्थापनाको आधार र समसामयिक राजनीतिबारे प्रशिक्षण दिनुभयो ।
करिब १०० जनाको उपस्थितिमा भएको उक्त प्रशिक्षणमा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाही, निरकबहादुर शाहीलगायतले पार्टीले त्यहाँका जनप्रतिनिधिले स्थानीय तहमा भोग्दै आएका समस्याहरूबारे प्रस्ट्याउनुभयो । कार्यक्रम करिब साँझको ५.३० बजेसम्म चल्यो । कार्यक्रमकै बिचमा पार्टी प्रकाशनहरू प्रदर्शनीमा राखिएको थियो । दैलेखका धेरै साथीहरूले पार्टीको पुराना प्रकाशनहरू किनेर लानुभएको थियो ।
कार्यक्रम सकिएपछि नजिकै रहेको हंस ज्वाला मन्दिरको अवलोकन गर्नेतर्फ लाग्यौँ । खेतको बिचमा अवस्थित दैलेखको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको हंस ज्वाला मन्दिरको मर्मत कार्य भइरहेको थियो । उपभोक्ता समितिका अध्यक्षले सहरी विकास मन्त्रालयले बजेटमा मन्दिरको पुनःनिर्माण भइरहेको जानकारी दिनुभयो । त्यहाँ सलाइ वा कुनै ज्वलनशील वस्तुले छुनासाथ ग्यास बल्ने अवस्था थियो । उपभोक्ता समितिका साथीहरूसँग सामान्य छलफल गरी सामूहिक फोटो खिच्यौँ र हामी आफ्नो बाटो लाग्यौँ । नेपाल सरकार र पुरातत्व विभागले ध्यान दिएर त्यसबारे अध्ययन अनुसन्धान गरेको खण्डमा नयाँ नयाँ तथ्य पत्ता लाग्ने देखिन्छ ।
रातको ९ः३० बजे खाना खाइ जम्बुकाँधस्थित जग्यबहादुर शाहीको घरमा बास बस्न पुग्यौँ । निकै मौलिक शैलीको घर थियो । आँगनभरि ठूल्ठूला आँपका रुखहरू थिए । घर अगाडि बाख्रापालन र माछापालन गरिएको थियो । हामीलाई बस्न दुईवटा कोठाको व्यवस्था गर्नुभएको थियो । कोठामा छिर्दा एक किसिमको बेग्लै आनन्द अनुभूति भयो ।

अछाममा प्रशिक्षण
२०७९ माघ १४
आजको हाम्रो मुख्य कार्यक्रम अछामको असाराघाटमा प्रशिक्षण थियो । सोहीअनुसार हामी बिहान सबेरै तयार भयौँ । हामी बिहान उठ्दा त जग्य दाइको घरमा कोदोको रोटी पाकिसकेको रहेछ । पाहुनालाई खुवाउन भनेर भाउजूले बिहानै कोदोको रोटी पकाउँदै हुनुहुन्थ्यो । हामीलाई दूध र कोदोको रोटी खुवाएर त्यहाँबाट बिदा गर्नुभयो ।
बिहान ७ः३० बजे रेडियो हाम्रो समावेशीमा अन्तर्वार्ता थियो । ठीक समयमा स्टेसनमा पुग्यौँ । नेमकिपाबारे र स्थानीय तह विशेषगरी भनपाका गतिविधिहरूबारे अन्तर्वार्ता केन्द्रित थियो । आधा घण्टाको अन्तर्वार्तापछि हामी अछामको भैरवी स्थानमा हुने कार्यकर्ता प्रशिक्षणको लागि असाराघाटतर्फ लाग्यौँ ।
अछामको भीमसेनस्थानमा भएको कार्यक्रम करिब १ बजेतिर सुरु भयो । कार्यक्रम करिब ४ बजेसम्म चल्यो । त्यस कार्यक्रममा प्लस टु अध्ययनरत विद्यार्थीहरूको राम्रो उपस्थिति थियो । कार्यक्रममा उपस्थित विद्यार्थी र अभिभावकहरूसँग अन्तरक्रियात्मक छलफल भयो । जसले उहाँहरूमा उत्साह मिलेको अनुभव भयो ।
कार्यक्रमपछि तल्लो डुङ्गेश्वरतर्फ लाग्यौँ । पालेवडामा केही साथीहरू हाम्रो प्रतिक्षामा बसिराखेका थिए । सबैसँग भलाकुसारी गरी हामी तल्लो डुङ्गेश्वरतर्फ लाग्यौँ । साँझ ८ बजेतिर पुग्यौँ । खाने र बस्ने एउटै होटलमा मिलायौँ ।

दैलेखको माथिल्लो डुङ्गेश्वरमा कार्यक्रम
२०७९ माघ १५
हामी हिजै माथिल्लो डुङ्गेश्वरमा बस्न पुगेको हुँदा कार्यक्रम स्थल पुग्न समस्या भएन । आधा घण्टाको यात्रामा हामी तल्लोबाट माथिल्लो डुङ्गेश्वर पुग्यौँ ।
दिनको करिब १ बजेतिर कार्यक्रम सुरु भयो । ४.३० बजेसम्म राजनीतिक कक्षा सञ्चालन भएको थियो । साँझ ५ बजेतिर सुर्खेततर्फ लाग्यौँ । हाम्रो आजको योजना भने सुर्खेतसम्म पुग्ने थियो । साँझ ६ः३० बजे सुर्खेतको होटलमा पुग्यौँ ।

नगर प्रमुखहरूसँगको भेटघाट
२०७९ माघ १६
सुर्खेतको काँक्रेबिहार र बुलबुले ताल अवलोकन गर्न हामी त्यसतर्फ लाग्यौँ ।
निर्धारित कार्यक्रमअनुसार हामी विभिन्न नगरपालिकाका नगर प्रमुखहरूसँग भेटघाटको लागि हिड्यौँ । सुरुमा छिन्चुस्थित भेरिगङ्गा नगरपालिकाका प्रमुखसित भेट्ने कार्यक्रम तय थियो । सोहीअनुरूप हामी ११ बजेतिर नगरपालिका कार्यालयमा पुग्यौँ । नगर प्रमुख यज्ञप्रसाद ढकाल आफ्नो कार्यकक्षमा हाम्रो पर्खाइमा बसिरहनुभएको थियो । सामान्य परिचयपश्चात् दुई नगरपालिकाबिच शिक्षा र विकास निर्माणबारे एकापसमा अनुभव आदानप्रदान भयो ।
लगत्तै हामी सुर्खेतकै गुर्भाकोट नपाका प्रमुखलगायत पदाधिकारीहरूसित भेटन गयौँ । छिन्चुुबाट करिब ३० मिनेट गाडीको यात्रापश्चात् हामी गुर्भाकोट नपामा पुग्यौँ । उहाँहरू भर्खरै कार्यपालिका बैठक सकाएर हाम्रो स्वागतको लागि बसिरहनुभएको थियो । भक्तपुर नपाको टीमलाई उहाँहरूले हार्दिकताका साथ स्वागत गर्नुभयो ।
तत्पश्चात् हामीलाई बाँके पुग्नु थियो । बिचमा कुनै अलमल नगरी हामी सरासर हुइँकियौँ । बाँके जिल्ला कोहलपुर नपाका पूर्ण आचार्यसँग पनि भेटघाट गर्यौँ । सोही क्रममा सल्यानका शारदा नपाका प्रमुखसित भेट भयो । शारदा नपाका प्रमुख प्रकाश भण्डारीले भक्तपुर नपाका असल अभ्यासबारे आफू परिचित भएको र भक्तपुर नपा भ्रमणमा आउन उत्सुक भएको बताउनुभयो । त्यहाँ भेटघाटपश्चात् हामी सिधै बर्दिया जिल्लाका बाँसगढी नपाका प्रमुख खड्गबहादुर खड्कासँग भेट्न गयौँ । नगर प्रमुख प्रजापति र खड्काबिच शिक्षामा भइरहेको गतिविधिबारे अनुभव आदानप्रदान भयो । भेटमा नगरका कार्यकारी अधिकृत कमलप्रसाद पौडेलसँग पनि भेट भयो । पौडेल कामको सिलसिलामा भक्तपुरमा बसिसकेको र भक्तपुर नपाबारे राम्रो जानकारी रहेको कुराकानीबाट थाहा भयो । हामी पहिले बसेकै मानसरोबर होटलमा बस्न आयौँ ।

बाँकेको जिल्ला परिषद्
२०७९ माघ १७
आज बिहान ८ बजे कोहलपुर एनटीभीमा अन्तर्वार्ता राखिएको थियो । सोहीअनुरूप हामी आधा घण्टा अगाडि नै त्यहाँ पुग्यौँ । अन्तर्वार्ता प्रत्यक्ष प्रसारण थियो ।
तत्पश्चात् हामी कोहलपुरका साथी नविनकुमार शाहीको घरमा खानाको लागि हिँड्यौँ । दिउँसो १ बजे देउराली सहकारीको सभाहलमा नेमकिपा बाँकेको दोस्रो जिल्ला परिषद्् राखिएको थियो । सोहीअनुरूप हामी त्यसतर्फ लाग्यौँ । सुनिल प्रजापतिले परिषद्को उद्घाटन गरी प्रशिक्षण दिनुभयो । प्रशिक्षण कार्यक्रम सकिने बित्तिकै करिब ५ बजेतिर हामी फक्र्यौँ । पश्चिमाञ्चल भ्रमणको करिब कार्यक्रम सकिएको हुँदा माघ १८ गते घर पुग्ने योजनाअनुसार हामी निस्किहाल्यौँ । आज जहाँसम्म पुग्न सकिन्छ पुग्ने भन्ने हेतुले निस्केका हामी राति १० बजे बुटवल पुगेका थियौँ । सबैजना निकै थाकेका थियौँ ।

घर प्रस्थान
२०७९ माघ १८
१३ दिने भ्रमण सकाएर हामी बुटवलमा भक्तपुरको लागि हिड्यौँ । बिहान ७ बजे बुटवलबाट हिँडेका हामीले दाउन्नेमा चियानास्ता गर्यौँ । जसरी नि १२ बजेअगाडि मुग्लिन सडक काट्नुपर्ने थियो । १२ बजे अगाडि नै मुग्लिन पुगियो । त्यहाँ खाना खायौँ र सरासर घर फक्यौँ । ५ बजेतिर भक्तपुर पुग्यौँ ।
समाप्त

(२०७९ माघ ६—१८ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *