भर्खरै :

नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति विज्ञहरूको चिन्ता

नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति विज्ञहरूको चिन्ता

काठमाडौँ, ५ फागुन । चिनियाँ प्राध्यापकहरूले नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति चासो देखाएका छन् । बिहीबार सिचुवान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रले नेपाल, चीन र भारतका प्राध्यापक एवम् विज्ञहरूबिच गरेको श्रव्यदृश्य अन्तरक्रियामा बोल्ने अधिकांश प्राध्यापकहरूले नेपाल राजनीतिक अस्थिरताको चङ्गुलमा फस्ने सम्भावना बढेको बताएका छन् । उनीहरूले पछिल्लो समयमा संरा अमेरिकालगायत विभिन्न देशका अधिकारीहरूको भ्रमणतर्फ सङ्केत गर्दै शक्ति देशबिचको प्रतिस्पर्धामा नेपाल फसे दुर्भाग्य हुने बताएका छन् ।
“नेपालको आकाशमा अझै अस्थिरता मडारिन छोडेको छैन”, चिनियाँ समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठान (सीआईसीआईआर) का प्राध्यापक हु शिशेंगले सन् २०२२ मा नेपालमा भएका तीन निर्वाचनका विशेषताबारे बोल्दै भने । उनले चुनावअघि एउटा गठबन्धन र पछि अर्को गठबन्धनमा सामेल भई सरकार बनाउने स्वार्थमा आधारित प्रवृत्तिले अस्थिरताको जोखिम बढाएको बताए ।
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक श्रवण सिंहले सीमित नेपाली बजारको कारण चीनसँग रेलमार्ग बनाउने प्रस्तावबारे उठाएको प्रश्नको जवाफमा चिनियाँ प्राध्यापक हुले यातायात सहज हुने अवस्थामा नेपाल आउने चिनियाँ बौद्ध धर्मावलम्बीहरूले आर्थिक समृद्धिको नेपाली सपनामा टेवा पु¥याउन सक्ने बताए । चीनको बीआरआई परियोजना र संरा अमेरिकी एमसीसीका साथै भारतको छिमेकी प्रथम नीतिबाट नेपालले धेरै उपलब्धि हासिल गर्न सक्ने भन्दै उनले नेपाल प्रमुख शक्तिबिचको स्पर्धा गर्ने खालभन्दा आपसी लाभको क्षेत्र हुनुपर्ने बताए ।
भारतीय प्राध्यापक सिंहले पुष्पकमल दाहाल नेतृत्वको सरकार बने यता लगातार चीनमुखी सक्रियताले भारतलाई सशङ्कित बनाएको बताए ।
“तपाईँहरूले कति हेक्का राख्नुभएको छ कुन्नि ! प्रधानमन्त्री दाहालको शपथग्रहण भएको दिन २६ डिसेम्बर माओ त्सेतुङको जन्म जयन्ती थियो । उनले पदभार ग्रहण गरेसँगै चीन–नेपाल रेलमार्गको सम्भावनाको अध्ययन गर्न चिनियाँ टोली नेपाल आयो । महिनौँदेखि बन्द रहेको चिनियाँ नाका खुला गरियो । चिनियाँ बैङ्कको सफ्ट लोनमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रम दाहालले उद्घाटन गरे । यी सबै घटनाक्रमले भारतलाई सोच्नुपर्ने बनाएको छ”, उनले भने ।
सिंहले भारतीय बौद्धिकहरूबिच नेपाल असंलग्नताको नीति त्यागेर बहुपक्षीय संलग्नताको नीतिमा जान लागेको चर्चा रहेको बताए ।
काठमाडौँ स्कूल अफ लका निर्देशक डा. युवराज संग्रौलाले नेपालका राजनीतिक दलहरूको अकर्मण्यताबारे नेपाली जनतालाई थाहा भए पनि नेपालको अवस्थाको निम्ति नेपालका राजनीतिक दलभन्दा बाह्य शक्तिको भूमिका बढ्दो रहेको बताए । उनले विशेषतः पश्चिमा देश र भारतलाई सङ्केत गर्दै नेपालमा नियन्त्रित अस्थिरता कायम राख्न खोजिएको बताए ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक खड्ग केसीले नेपालमा समानुपातिक निर्वाचन प्रणालीले राजनीतिक अस्थिरता निम्त्याउन टेवा पु¥याएको बताउँदै राजनीतिक नेताहरूको सिद्धान्तहीन र स्वार्थी राजनीतिक गतिविधिको नेपाल विदेशी शक्तिको क्रिडास्थल बन्न सक्ने बताए । ‘भूराजनीतिक जटिलताः सन् २०२२ को चुनावपछिको नयाँ सरकार’ बारे बोल्दै उनले नेपालमा चुनावपश्चात् राजनीतिक अस्थिरताको सम्भावना बढेको र त्यसको निम्ति सत्तामुखी राजनीति दोषी भएको बताए ।
हपेई युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजिनेशअन्तर्गत नेपाल अध्ययन केन्द्रका निर्देशक प्राध्यापक झाङ शुबिनले ‘ओली–प्रचण्डबिच तेस्रो गठबन्धनः समृद्धिको लागि एकता’ बारे बोल्दै बहुमत प्राप्त नेपाली काङ्ग्रेस सरकार बाहिर रहेको अवस्थामा नेपालको अहिलेको सत्ता समीकरण कुनै पनि बेला तोडिए देश अझ अस्थिरतामा धकेलिने बताए ।
चीनका लागि नेपालका पूर्वराजदूत तथा पूर्व मुख्य सचिव लीलामणि पौडेलले आफ्नै आयस्रोतबाट मात्र अर्थतन्त्र चलाउन नसक्ने अवस्थामा नेपालको विकासको निम्ति विदेशी सहायता आवश्यक भएको र नेपालमा पश्चिमा नेतृत्वका बहुपक्षीय वित्तीय निकायले वित्तीय लगानी बढाउन खोजेको चर्चा गरे । उनले पश्चिमा प्रचारमाध्यमले प्रचार गरेजस्तै चिनियाँ बेल्ड एन्ड रोड परियोजना (बीआरआई) वित्तीय जालो नभएको तथ्याङ्कसहित प्रस्तुत गरे ।
सिक्किम विश्वविद्यालयका उपकुलपति तथा सिचुवान विश्वविद्यालयका अतिथि प्राध्यापक महेन्द्र पी. लामाले नेपालको सङ्घीय व्यवस्थाका जोखिम र सम्भावनाबारे चर्चा गर्दै नेपालका प्रदेशहरूको विशेषताका आधारमा भविष्यको विदेश नीतिका सम्भावनाबारे विश्लेषण गरे ।
सिचुवान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्र (आईएसएएस) का प्रमुख प्राध्यापक ली ताओको अध्यक्षतामा भएको अन्तरक्रियामा युनान विश्वविद्यालयको स्कुल अफ माक्र्सिजमका प्राध्यापक युआन छुन, नेपाल अन्तर्राष्ट्रिय सहकार्य तथा संलग्नता प्रतिष्ठानका अनुसन्धान निर्देशक डा. प्रमोद जैसवाल, सिचुवान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रका नेपाल अध्ययन केन्द्रका निर्देशक डा. ह्वांग चेङत्व, उपनिर्देशक डा. काओ लियाङ, नेपाल–चीन मैत्री मञ्चका अध्यक्ष डा. कल्याणराज शर्मा, अनुसन्धानकर्ताहरू प्रेमराज जोशी र प्रशान्तकुमार विकलगायतले समकालीन नेपाली राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिका विविध आयामबारे बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *