भर्खरै :

कार्यकर्ताको आफै भित्रको सङ्घर्ष

कार्यकर्ताको आफै भित्रको सङ्घर्ष

देशको राजनैतिक दबुलीमा देखिएका दृश्यहरूमा कति स्वाभाविक र कति कृत्रिम समस्याहरू देखिन्छन् । एक बाल्टिन दूधमा आधा ग्लास अमिलो मिसाएमा एक बाल्टिन दूध फाट्छ । भारतीय एक सचिवको राष्ट्रपति, प्रधानमन्त्री एवम् सबै नेता र उपनेताहरूसँग गरेको भेटले अब नेपालमा अमुक देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र समान स्तरका नेता जानुपर्दैन । नेपाललाई एक सचिव स्तरका व्यक्ति पठाएपछि समस्याहरू समाधान हुनेछ वा नयाँ समस्याहरू थप्न मनग्य छ भन्ने सन्देश दियो ।
त्यसको कारण के होला ? अनुभवी वैद्य र डाक्टरहरूले रोगीको मुख हेरेर आधा रोग थाहा पाउँछन् भनेजस्तै कार्यकर्ता र नेताहरूको भाषा र भाषण तथा तिनीहरूको निर्वाचनको गतिविधि हेरेपछि वा निर्वाचन परिणामका उपायहरू थाहा पाएपछि उनीहरूले देश र बहुमत जनताको स्तर र सीमा थाहा पाउँछन् । हाम्रा हाइस्कूलका विद्यार्थीहरूलाई जस्तोसुकै राम्रा लुगा लगाउन दिए पनि तिनीहरूसँगको ५–१० मिनेटको प्रश्नउत्तर र एक दुई पृष्ठको लेखाइले तिनीहरूको स्तर बुझ्न सकिन्छ । त्यस्तै शासक दलका नेता र मन्त्रीहरूको भाषणले तिनीहरूको बौद्धिक स्तरलाई नाप्नेछन् ।
हजारौँ विद्यार्थीहरूलाई उच्च शिक्षाको निम्ति बाहिर पठाउँदा धेरैले विज्ञान र प्रविधिमा विद्यावारिधि गरेर फर्कने छन्, तर सरकारले तिनीहरूको अध्ययनको स्तरअनुसारको काम र पद दिन नसकेपछि तिनीहरू पहिलेकै देशमा फर्केर काम गर्नेछन् । तिनीहरूले आफ्नै देशमा योग्यताअनुसारको काम नपाएर असन्तोष प्रकट गर्नेछन् वा तिनीहरू निराश भएर मानसिक रोगको शिकार हुनेछन् ।
यसको कारण हो– निर्वाचन जित्ने नाममा निर्वाचन क्षेत्रअनुसारको जात र भाषाका उम्मेदवार उठाइयो । साम्प्रदायिकता र पैसाको भरमा उनीहरूले निर्वाचनमा सफलता हासिल गरे । तर, ती विजयी उम्मेदवारहरूले निर्वाचनमा विजयी हुने आशै गरेका हुँदैनन् । विजय भएपछि संसद् सदस्य मन्त्री भोजको खाद्य परिकारको कोठामा कुकुर पस्दा माछा, मासु, दही, दूध आदि देखेरै हुरुक्क हुन्छन् । अनि त्यसै एउटा बाटामा राखेको प्वक (जाँड बनाउन चामल उसिनेर बनाएको मादक पदार्थ) खाएर तिनीहरू त्यहीँ लडेका कुकुरजस्ता हुने भए । सांसदहरू रेष्टुराँ र झिलीमिलीमा पुगे र मन्त्री, ठेकेदार र कालाबजारीहरूको सङ्गतमा पुगे । उनीहरू देश विदेशी दलालहरूको हातमा पुग्नु स्वाभाविक हो ।
(२)
सुरुमा राजनैतिक कार्यकर्ताहरू उत्साहित र सक्रिय हुन्छन्, तर समाज सरल हुँदैन । प्रतिगामीहरूले फरक विचार र सांस्कृतिक स्तर नमिल्ने केटाकेटीको बीचमा विवाह गराउँछन् । दुई–चार वर्षभित्रै केटीको मागअनुसार केटा पु¥याउन नसक्ने स्थितिमा ‘तिम्रो पार्टीको के काम’, ‘तिम्रो नेताले तिमीलाई नोकर बनायो’ भन्ने खालका कुराहरू खप्नु पर्दा वा बालबच्चा भइसक्दा घरको रडाको बढ्दै जान्छ । अनि पार्टीमा झगडा र अपमान, गुटबन्दी र निराशाले त्यो दल र कार्यकर्ताहरू देशद्रोही, ठेकदार र कालाव्यापारी एवम् तस्करहरूको चङ्गुलमा फस्छन् ।
समाजमा लागुपदार्थ, जुवा–तास र जाँडरक्सीको बिगबिगीले नेताका छोरा–छोरीहरू कलेज र विश्वविद्यालयका कक्षा कोठामा समेत अनुशासनहीनता प्रदर्शन गर्न थाल्छन् । शैक्षिक संस्थाका कर्मचारीहरू पनि कुलत र भ्रष्टाचारले गाँजेका हुन्छन् । छात्र–छात्रा र कर्मचारीहरूको अनुशासनहीनताको कारण कलेज र विश्वविद्यालयमा आगो लाग्छ, जाँचको कापी जल्छ, बेन्च–टेबुल र दराजजस्ता फर्निचरमा आगो लाग्छ, टायर जल्छ, पुलिस पुग्छ– प्रहरी र विद्यार्थीबिच ढुङ्गामुढा हुन्छ । अनि केही महिनाको निम्ति विश्वविद्यालय र कलेजमा ताला लाग्छ वा पढाइ बन्दको घोषणा हुन्छ ।
पढ्ने विद्यार्थी र धनीका छोराछोरीहरू विदेश गएर पढ्छन् र विदेशी विचार लिएर आउँछन्† राम्राराम्रा ठाउँमा काम पाउँछन् र देश विदेशीहरूका प्रभावबाट सञ्चालन सुरु हुन्छ । नेताहरू कर्मचारीहरूको अगाडि नालायक बन्दछन्, त्यसरी शासनमा कर्मचारीतन्त्र र प्रविधितन्त्र (व्युरोक्रेसी र टेक्नोक्रेसी) को पञ्जामा पुग्छ ।
तलदेखि उच्च शिक्षालयसम्म ध्वस्त भएपछि नेता र कार्यकर्ताका छोरा–छोरीहरू पनि कुलतमा लागेका हुन्छन्, झोपडीदेखि दरबारसम्मका पुस्ता गलत बाटो लगाउन मित्र भनिएका साम्राज्यवादी र उपनिवेशवादी देशहरूकै ‘एजेन्ट’ वा ‘दलाल’ हरूबाट छरिएका विषका बीउका सिकार हुन्छन् । धामी र बोक्सी दुवै अमेरिका र बेलायत अर्थात् संरा अमेरिका र युरोेपेली गैरसैनिक दलहरूका सदस्य हुन्छन् । धर्म, पर्यटक, लागूपदार्थका व्यापारी, प्राविधिक र गैरसरकारी संस्थाका विदेशी निर्देशकहरू नै ती बीउहरू हुन्छन् । तलदेखि माथि र गाउँदेखि सहरसम्म तिनीहरूले रोग फैलाएजस्तै अनुशासनहीनता र कुसंस्कृति फैलाउँछन् । नेता, कार्यकर्ता एवम् सचेत नागरिक सबै देश र जनतालाई सरापेर रोएर बस्छन् । एक दिन हाम्रा हरेक सरकारका मन्त्री र कर्मचारी, प्रहरी, गुप्तचर विभाग र सेनासहित इराक र लिवियाजस्तै संरा अमेरिकाको नेतृत्वमा युरोपदेखि जापानसम्मका ‘सुकिला लुगा लगाएका’ गुप्तचर, गुन्डा र हत्याराहरूले तेस्रो विश्वका देशका सरकारहरूलाई चलाउनेछन् । पूर्वी युरोपमा नाटो देशहरूको षड्यन्त्रको एउटा युद्धको खेलमैदान ‘युक्रेन’ भयो । राष्ट्रपति जेलेन्स्की आर्थिकरूपले एक अमेरिकी नागरिक र एजेन्ट हुन् । उसका मुख्यमुख्य सल्लाहकारहरू अमेरिकी हुनेमा आश्चर्य हुनेछैन । उसका अङ्ग रक्षकहरूसमेत अमेरिकीहरू हुनेछन् । रुसजस्तो संसारको सबभन्दा ठूलो देशमा ख्रुश्चेभदेखि गोर्भाचोभसम्म आइपुग्दा रुसमा पश्चिमी देशका ३ लाख गैरसरकारी संस्थाहरू कार्यरत थिए । गोर्भाचोभका आर्थिकदेखि राजनैतिक सल्लाहकारहरू अमेरिकी विभिन्न विश्वविद्यालयका प्राध्यापक भनिएका केन्द्रीय गुप्तचर विभाग (सीआईए) का एजेन्टहरू थिए । आखिर हेर्दाहेर्दै शक्ति सोभियत सङ्घ पतन भयो† १४–१५ टुक्रामा विभाजित भयो र रुसमा पुँजीवादको पुनःस्थापना भयो ।
(३)
इमानदार कार्यकर्ता राजनैतिक दलका छोराछोरी र देशभक्त बुद्धिजीवी र कर्मचारीहरूका छोराछोरी कुलतका शिकार हुन्छन् । आमा चाहिँ पढेनलेखेकी के गरून् । ‘खोइ इमानदार कार्यकर्ता र नेताले के गरे, आफ्नै छोराछोरी हेर्न सक्दैनन् भने देशका लाखौँ केटाकेटी के गरी हेरून् ?’ ‘बुद्धिजीवी र कर्मचारी इमानदार भएर के गर्नु आफ्नै छोरा–छोरी विदेशीको भाँडा माझ्दै छन् …’ हरेक देशभक्तको घरमा यही बाजा बज्छ । समयमै देशमा महिला शिक्षा सुरु भएको भए वा प्रगतिशील शिक्षा सुरु भएको भए आमाहरूले आफ्ना छोराछोरीहरूको शिक्षामा चासो राख्न सक्ने थिए । भोजभतेर, अन्धविश्वास, भजनकीर्तन, तीज र अनेक नाचगानले आमाहरूले देशको विषयमा आफ्ना सन्तानको भविष्यबारे सोच्ने समय निकाल्ने होलान् । कहिलेकाहीँ समाजमा प्रतिगामी र अरुको पैसा खाएर लमी भई देशभक्त र राम्रो परिवारमा स्वार्थी, विदेशमुखी र अन्धविश्वासी परिवारको छोरी भिडाउन पाएकैले पनि राम्रा कार्यकर्ताहरूलाई गा¥हो हुँदै गएको हो । अब ती आमाहरूलाई महिला सङ्गठनका दिदीबहिनीहरूले भाउजू छोराछोरीका बारे दाजुहरूले मात्रै हेर्ने होइनन्, आमाहरूले बढी ध्यान दिनु आवश्यक छ । सबै बाहिरी विषय दाजुहरूलाई मात्र जिम्मेवारी दिँदा कुनै जिल्ला वा विदेशमा जानुभयो भने हामीलाई तरकारीसमेत किन्न आउँदैन, छोराछोरीलाई काम गराएनौँ भनी पछि सबै आफैले गर्नुपर्दा धेरै गा¥हो हुन्छ । दाजुहरूलाई बढी दुःख दिँदा घरको पिरले गलत मानिसबाट सहयोग लिन पुग्दा घर परिवारको समेत इज्जत जाने सम्भावना हुन्छ । यसकारण, केटाकेटीलाई सम्हाल्न अन्य दिदीबहिनीहरूसँग पनि सल्लाह लिनुपर्छ र एकले अर्कोलाई सहयोग दिनुपर्छ, घरमा बसेर रुँदा नचिताएको परिणाम आउँछ, पछि पछुताउनुपर्नेछ ।
राणाकालमा लोग्ने जेलमा, साथी भाइ–भागाभाग । छोरो बिरामी हुँदा वैद्य र डाक्टर बोलाउन पैसा नभएर आत्तिएर बस्दा रोएर छोराको मृत्यु भयो । छोरोको मृत्युको लास बोकी उनी जेलमा गइन् र भनिन्, “अन्त्येष्टि गर्न पनि पैसा छैन, अब मेरो पनि यस्तै अन्त्य हुनेछ ।” लोग्नेले सहन सकेन र गुप्ती कुरा र व्यक्ति सबै नाम लेखेर सरकारलाई दियो र सबै पक्राउ परे, कति सहिद भए । परिवारलाई ठूलो कलङ्क लाग्यो । यसकारण, भाउजूले अरुको कुरा सुनेर दाइलाई धेरै पिर दिनु हुँदैन, सङ्गठनका दिनीबहिनीहरूसँग पनि सुख–दुःख बाँड्नुपर्छ । आफ्ना छोराछोरी सबैलाई माया लाग्छ, तर उत्तर भएका छोराछोरीलाई पनि आफ्नो काम गर्न सिकाउनुपर्छ, भोलि परीक्षा पनि अभिभावहरूले दिनुपर्ने र रोजगारी पनि आमा बाबुले होइन आ–आफैले खोज्न सिकाउनुपर्छ । यसरी महिला सङ्गठनको जिम्मेवारी ठूलो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *