भर्खरै :

काभ्रेमा नेक्राविसङ्घको प्रशिक्षण कार्यक्रम

काभ्रेमा नेक्राविसङ्घको प्रशिक्षण कार्यक्रम

काभ्रे, ६ फागुन । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा बनेपामा शनिबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन, पाकिस्तान विभाजन भई पूर्वी पाकिस्तानलाई बङ्गलादेश बनाउनु तथा निर्वाचन उपयोग गर्ने आदि विषय नै नेपाल मजदुर किसान पार्टी स्थापनाका आधारहरू भएको बताउनुभयो ।
काभ्रे जिल्लामा नेमकिपाको सङ्गठन विस्तार र अग्रजहरूको योगदानबारे उहाँले सविस्तार प्रकाश पार्नुभएको थियो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले नेक्राविसङ्घका कार्यकर्ताहरूले अध्ययनशील भएर विद्यार्थी समस्या र शिक्षा व्यवस्थामा भएका कमी कमजोरी औँल्याउने र आफ्नो अध्ययनको निचोड विद्यार्थीमाझ पु¥याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णालीमा पाठ्यपुस्तक पुगेको छैन, विद्यार्थीहरू पाठ्यपुस्तकविना परीक्षा दिन बाध्य छन् । यस विषयमा नेक्राविसङ्घले शिक्षा व्यवस्थाको कमजोरी प्रस्टरूपमा राखेको छ । छिटो छरिटो दुर्गम भेगमा पाठ्यपुस्तक पु¥याउनुपर्छ ।”
“जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिँदै गएको छ, यसको कारक पुँजीवादी व्यवस्था हो । पुँजीवादले नाफाको लागि ठूलाठूला वायु प्रदूषणयुक्त कलकारखानाबाट वायुमण्डललाई प्रभावित पारिरहेका छन् । मानवको लागि र सम्पूर्ण प्राणी जगतकै लागि पुँजीवाद अभिशाप भएको छ,” अध्यक्ष गुरूङले भन्नुभयो ।
नेक्राविसङ्घ काभ्रेका अध्यक्ष सेमसल तामाङको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा सुशीला तामाङ, होइसल तामाङ, राजु तामाङ र सोफिला तामाङलगायतले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *