बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएका दुईवटा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३३ हजार नाघेको छ र अरु हजारौँ मानिस घाइते भएका छन् । ती भूकम्पका कारण भएको मानवीय मृत्युको सङ्ख्या अझै बढ्न सक्ने र त्यसको परिणामले हुने मानवीय क्षति निकै बढी हुनसक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दिएको छ ।
टर्कीको गाजियान्टेप प्रान्त काहरामानमारस सहरलाई केन्द्रबिन्दु बनाएर गएको पहिलो भूकम्प ७.८ र दोस्रो ७.५ म्याग्निच्यूडको थियो । नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्प पनि ७.८ म्याग्निच्यूडकै थियो । टर्कीमा नयाँ बनेका बहुतल्ले आवासीय भवनहरू समेत भूकम्पका कारण ढलेका छन् र त्यसले नै मानवीय क्षति धेरै भएको प्रस्टै छ ।
आधुनिक निर्माणको प्रविधिअनुसार निर्माण भएका भवनहरूमा यो हदसम्मको धक्काबाट ठूलो क्षति नहुने धारणा धेरैको रह्यो । यहाँको भूकम्पमा सबैभन्दा नयाँ केही भवनहरू पनि ढलेपछि भवन सुरक्षाको मापदण्डबारे केही जरुरी प्रश्नहरू उठेका छन् । सामाजिक सञ्जालमा विज्ञापनसमेत राखिएका एक वर्ष अगाडिमात्र बनेका र भूकम्पप्रतिरोधी मापदण्डअनुसार बनेको दाबी गरिएका कतिपय बहुतल्ले भवन पनि भत्केको र कतिपय कोल्टे परेका छन् । ती भवनहरूमा प्रयोग भएका सबै सामग्री र काम ‘उच्च गुणस्तरका’ भएको र २०१८ मा अद्यावधिक गरिएको नयाँ भवन निर्माण मापदण्डअनुसार बनेको विज्ञापनमा दाबी गरिएका थिए ।
सन् २०१८ को मापदण्डमा भूकम्पको जोखिमयुक्त क्षेत्रमा बन्ने नयाँ संरचनाहरूमा उच्च गुणस्तरको कङ्क्रिटलाई स्टिलको डन्डी प्रयोग गरेर मजबुत बनाउनुपर्ने, भवनमा प्रयोग हुने पिल्लरको लहर र बीमहरू पनि भूकम्पको प्रभाव कम गर्न सक्नेगरी राखिनुपर्ने नियम छ । तर, कडा भूकम्पप्रतिरोधी मापदण्ड लागु भएको क्षेत्रमा धेरै भवनहरू ढलेपछि धेरै मानिसहरूले भवन निर्माण गुणस्तरबारे प्रश्न गरिरहेका छन् । भूकम्प शक्तिशाली भए पनि राम्रोसँग बनाइएको भए भवनहरूले यसको धक्का बहन गर्न सक्नुपर्ने तर त्यसो नगरिएको देखिएको विज्ञहरूले बताइरहेका छन् । धेरै ठाउँमा धक्काको स्तर अत्यधिक मापन भएको ठाउँमा भन्दा कम थियो । यसले भत्किएका हजारौँ घरहरूमध्ये अधिकांशले निर्माण मापदण्ड पूरा गरेका थिएनन् भन्ने पुष्टि हुन्छ ।
टर्कीमा मापदण्डहरूको कार्यान्वयन कमजोर रहेको थियो । पुराना भवनहरूको सबलीकरण पनि निकै काम भएको र नयाँ भवनहरूमा पनि मापदण्ड पालना न्यून रहेको पाइएको छ । ठूल्ठूला भूकम्प आइरहने विगत भए पनि जापानजस्ता देशहरूमा दसौँ लाख मानिसहरू घना जनसङ्ख्या भएको क्षेत्रमा अग्ला भवनहरूमा बसिरहेका छन् र त्यहाँ क्षति न्यून रहेका छन् । यसले पनि भूकम्पप्रतिरोधी निर्माणको मापदण्ड पालनाले मानिसहरूलाई विपद्रुबाट जोगाउन सकिन्छ भन्ने देखाउँछ ।
टर्कीमा सरकारी अधिकारीहरूले भवन निर्माणको मापदण्ड पालना नगरेका भवनहरूलाई निश्चित जरिवाना लिएर सुरक्षा प्रमाणपत्र दिने गरेको थियो । सन् १९६० देखि सुरु गरेर सन् २०१८ सम्म यस्तो प्रचलन कायम रहेको थियो । आलोचकहरूले यस्तो छुट दिने प्रचलनले भूकम्पजस्ता विपत्तिमा जोखिम बढाउन सक्ने भन्दै लामो समयदेखि चेतावनी दिँदै आएका थिए । भूकम्प प्रभावित दक्षिणी टर्कीमा ७५,००० भवनहरूले यस्तो छुट पाएको इन्जिनियरहरूको एउटा संस्थाले जनाएको छ । एकजना भूगर्भविद्ले भने भूकम्पको उच्च जोखिम रहेका क्षेत्रमा यस्तो छुट दिने कानुन पारित भए त्यो ‘अपराध’ हुने चेतावनी दिएका थिए ।
नेपाल सरकार र नेपालका महानगर र नगरपालिकाहरूले टर्की र सिरियामा भएको यस जनधनको क्षतिबाट पाठ सिक्न जरूरी छ । मापदण्ड र नक्साविपरीत कैयौँ तला थप गरेका भवनहरूलाई समेत जरिवाना तिरेको आधारमा नियमित गरिदिने प्राविधिक शाखाका इन्जिनियरहरू समयमै बिउँझनुपर्छ । हुन त सरकारी अधिकारीहरूमात्र होइन सर्वसाधारण नागरिकहरू पनि यसमा सचेत सजग बन्नुपर्छ । २०७२ सालको जस्तो भूकम्प फेरि आएमा जनधनको क्षति कैयौँ गुणा बढ्न सक्ने खतरालाई आजैदेखि न्यूनीकरण गर्न जरूरी छ ।
Leave a Reply