सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
संयुक्त जनआन्दोलनको क्रममा फागुन ८ गते र अन्य दिनहरूमा घाइते भएका योद्धाहरूको सङ्क्षिप्त जानकारी वर्णानुक्रममा प्रस्तुत छ –
काशीराम दुवाल, चोछेँ
फागुन ८ गते नेक्राविसङ्घका जिल्ला पदाधिकारीहरूले पसलपसलमा गएर पसल बन्द गर्न अनुरोध गर्ने निर्देशन हामीलाई दिएको थियो । त्यसअनुसार हामीले टौमढीबाट पसलमा साहुजीहरूलाई पसल बन्द गर्न अनुरोध गर्दै आयौँ । त्यसबेला साधारण पोशाकका प्रहरीहरूले पसल खोल्न धम्की दिँदै आएको थिए, एक दुई पसल खोल्दै पनि ल्यायो । सूर्यमढीतिरबाट आएको जुलुस सुकुलढोकामा आइपुगेको थियो, म पनि जुलसमा सामेल भएँ । जुलुस सुकुलढोका इनार अगाडि पुगेपछि प्रहरीले रोक्न खोज्यो तर सकेन । त्यस्तै साकोठा, क्वाछेँमा रोक्न खोज्यो र टौमढीमा जुलुसमाथि लाठीचार्ज गरी तितरवितर ग¥यो । फेरि गाःहिटीमाथिबाट जुलुस अगाडि बढ्दै गयो । नासमना पुगेपछि बी.बी. दुवालले बिसर्जन गरे । घर फर्कन पाँचतले मन्दिर पछाडिबाट आउँदा दरबार स्क्वायरमा प्रहरी र साकोठामा जनताबिच इँटा हानहान भइरहेको थियो । त्यस बाटोबाट मूल बाटोमा निस्कन लागेको बेलामा प्रहरीले गोली हानेर एकजना साथीलाई घाइते तुल्यायो । त्यो देखेर सहन नसकी इँटाले हान्दा गोली हानिहाल्यो । निधारमा लागेर म घाइते भएँ ।
कृष्णगोपाल दुवाल, वडा नं. २
टौमढीमा गोली चलाई निहत्था आन्दोलनकारीहरूको हत्या गरिसकेपछि करिब ९ः३० बजेतिर प्रहरीहरूको दफा बालाखु गणेशको मन्दिरतिर आयो । हामी आन्दोलनकारीहरू शारदा स्कूलनिर थियौँ । हामीहरूलाई लक्ष्य गरी प्रहरीहरूले त्यहीँबाट इँटा ढुङ्गाले हाने । त्यसपछि हामीले पनि हान्न थाल्यौँ । एकैछिनमा गोली चलायो । गोली मेरो दाहिने हातको बिचको दुई वटा औँलामा लागी औँलाको टुक्रा नै खसेर हरायो । त्यसपछि मेडिकल (औषधि पसल) मा गएर उपचार गराएँ । नेपाल मजदुर किसान पार्टीले अरनिको सभाभवनमा सहयोगस्वरूप रु. ५ हजार पाएँ । अरू कुनै पाएको छैन । सधैँको लागि म अपाङ्ग हुने भएको हुनाले मलाई बडो दुःख लागिरहेको छ ।
कृष्ण जोशी, वडा नं. ६
८ फागुनका दिन म साथीहरूसँग आफ्नो घरमाथिको पाटीनिर आन्दोलनका कुरा गर्दै थिएँ । इनाचो टोलबाट हानेर ल्याएको गोली मेरो फोक्सोमा छिरेर निस्की भित्तामा ठोक्न गएको थियो । सोही गोली हरिराम लवजू भन्ने साथीलाई पनि लागेको कुरा सुनेको थिएँ । साथीहरूले हामीलाई बनेपा अस्पताल र पाटन अस्पतालमा उपचारको लागि पु¥याए । बनेपाबाट पाटन लाँदा डाक्टर आफैले गाडी चलाएर लगेको थियो ।
देवप्रसाद भैल, वडा नं. १६
फागुन ८ गते प्रहरीहरूले चलाएको गोलीको आवाजले जुलुस तितरवितर भयो । म पनि दौडिरहेको अवस्थामा मेरो देब्रे पाखुराबाट गोली छिरेर भित्तामा ठोकेको मेरै आँखाले देखेँ । चार पाँच पाइला हिँड्न नपाउँदै म ढलेँ । साथीहरूले स्ट्रेचरमा राखी अस्पताल लगिँदै गरेको अवस्थामा फासिस्ट सरकारका प्रहरी जमातले अन्धाधुन्ध लाठी प्रहार गरी मलाई बोकी लगेका साथीहरूलाई रक्ताम्य पारी पिटी घाइते बनायो । त्यसपछि हामीलाई एम्बुलेन्समा राखी वीर अस्पताल पु¥याइयो । सो गोली लागेको हात अहिलेसम्म राम्रो निको नभएकोले दुःख भोगिरहेको छु ।
पुण्यराम कोण्डा, भोलाछेँ ८
फागुन २०४६ सालको दिन टौमढीको क्याफेअगाडि जुलुसलाई तितरवितर गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच इँटा हानाहान भयो । तर, अचानक गोली चलायो र मेरो बायाँ खुट्टाको हड्डीबाट गोली छिरेर गयो । हड्डी चक्नाचुर भयो । त्यहाँबाट साथीहरूले वीर अस्पताल पु¥याए । १३ महिनासम्म प्लास्टर राखेर पनि मेरो खुट्टा पूर्णरूपमा ठीक भएको छैन । अहिले पनि खुट्टा खुम्च्याइ हिँड्नु परिरहेको छ ।
रत्नभाइ कवां, गोल्मढी
८ फागुन २०४६ मा बजार बन्द गर्न तलातुँछीबाट टौमढीसम्म जुलुसमा सहभागी हुँदै आएको थिएँ । टौमढीमा प्रहरीले रोक्न खोज्यो, त्यसपछि भिड उत्तेजित पार्न प्रहरीले बिचैबाट इँटाले हान्यो । त्यसपछि प्रदर्शनकारीहरूले पनि इँटाले हान्न थाले । टौमढीबाट प्रहरीहरू साकोठामा गई फेरि त्यहाँ ढुङ्गा हानाहान भयो । त्यहाँबाट एकजना साथीलाई अब घर जाऔँ भन्दै थिएँ, २५–३० फिट टाढाबाट गोली आई मेरो बायाँ तिघ्राबाट छिरेर गयो । मुख्य नशामा लागी चुँडेको हुँदा घुँडामुनि नचल्ने भई आधी खुट्टा त मरिसकेको जस्तो भइसकेको छ । हालसम्म पनि त्यस्तै नै छ ।
राजकुमार दुमरु, चोर्चा
फागुन ८ गते बन्दको सिलसिलामा बिहान ५ बजेदेखि बिहानी मावि, शारदा मावि आदि स्कूलहरू बन्द गर्न साथीहरूसहित खटिएको थिएँ । स्कूल बन्द गराएर घर फर्किँदा ९ बजेतिर बजारमा जुलुस आएको आवाज सुनियो र खाइराखेको आधा रोटी खल्तीमा घुसारेर बजारतिर लागेँ । गगनभेदी नाराका साथ आएको जुलुसमा सामेल भएँ । जुलुस टौमढीमा पुग्यो । सो ठाउँमा तैनाथ प्रहरीको जत्थाले लाठीचार्ज गयो । सोही लाठीचार्जमा मेरो देब्रे खुट्टाको चप्पल हराइसकेको र खुट्टा मर्किसकेको थियो । तर पनि जुलुसका साथ नासमनासम्म पुगेँ । त्यहाँ बी.बी. दुवालले जुलुस बिसर्जन गरेपछि फर्किँदा क्याफेमा तैनाथ प्रहरीहरूले अश्रुग्याँस फायर गरिरहेका थिए । सोही ठाउँमा प्रहरीसँग प्रतिवाद गरिरहेकै समयमा अपर्झट गोली फायर भयो । जसमा मैले देखेअनुसार पहिलो फायरबाट राजेन्द्र दुमरुलाई लागेको थियो । पछि अरूको साथै मलाई पनि गोली लागी लडेछु । साथीहरूले उठाएर लाकुलाछेँ टोलमा पु¥याई गोली लागेको ठाउँमा कपडाले बाँधेर त्यहाँकै स्ट्रेचरबाट भक्तपुरको अस्पताल पु¥याए । त्यहाँ ब्यान्डेजमात्र लगाई वीर अस्पताल पठाइयो । त्यसको भोलिपल्ट अपरेसन गरियो । चार ठाउँमा सानो गोली लागी पाँचौँ ठाउँमा अपरेसन गरिएको कुरा पछि थाहा पाएँ । २७ औँ दिनको उपचारपछि घाउ निको नहुँदै हनुमानढोका लगी त्यहीँबाट प्रहरी कार्यालय भक्तपुरमा र त्यहाँबाट सेन्ट्रल जेलमा चलान गरिएको थियो ।
राजन प्रजापति, बोलाछेँ
फागुन ८ गते बिहान ५ बजे मेरो साथीले घरमा आएर बोलाउन आएको थियो । त्यो दिन नेपाल बन्द कार्यक्रम थियो । ६ः४५ बजेतिर हामी सल्लाघारी पुग्यौँ । सडकमा प्रहरी भ्यानबाहेक अरू मोटर चलेको थिएन । ८ः२५ बजेतिर अगाडि र पछाडि प्रहरी भ्यान राखेर ट्रलिबस ल्यायो । ड्रात्रसँग सोध्दा प्रशासनले जबरजस्ती गरेर बाध्य ग¥यो, के गर्ने हामीले नचलाउने भनेका थियौँ भनी जवाफ दियो । फेरि अर्को ल्यायो । त्यसलाई साथीहरूले ढुङ्गाले हान्न खोजेका थिए । तर, साथीहरूले नै सम्झाएपछि ढुङ्गाले हानेन । त्यसैबेला बजारमा राम्रोसँग पसल बन्द नभएको खबर पायौँ । त्यसपछि हामी सबै बजारतर्फ लाग्यौँ, सूर्यमढीदेखि नारा लगाउँदै टौमढी पुग्दा प्रहरीहरूले लाठीचार्ज गरे† केही समयपछि नै अन्धाधुन्ध गोली चलाए र मेरो खुट्टाको पाइतालामा गोली लाग्यो । साथीहरूले भक्तपुर अस्पताल पु¥याए । त्यसपछि प्रहरीहरूले वीर अस्पताल पु¥याए । पछि घरमै बसेर उपचार गर्न भनेर साथीहरूले भनेकाले अस्पतालबाट उहाँहरूकै सहयोगबाट सिधा घरमा आएँ ।
राजभक्त खर्बुजा, वडा नं. १५
बिहान ११ बजेतिर म खेतमा काम गरिरहेको बेलामा प्रहरीहरू आई ‘ल हिँड’ भनी जबरजस्ती समातेर लगे । मिनीबस पार्क (वडा नं. १७) मा पुग्ने बित्तिकै एक्कासि मलाई प्रहरीहरूले अन्धाधुन्ध कुटपिट गर्न थाले, आँखाले केही देखिएन, मैले होस गुमाएँ । प्रहरी कार्यालयमा सिमेन्टको भुइँमा पानी छरेर थुन्यो– बस्ने ठाउँ नै भएन । त्यसबेलाको यातनाका पीडा अहिल्यै पनि बरोबर बल्झिने गर्छ ।
राजेन्द्र दुमरु, चोर्चा
बहुदलीय व्यवस्थाको लागि भएको जनआन्दोलनको दोस्रो दिन हामी नेपाल बन्द कार्यक्रमअन्तर्गत भएको शान्तिपूर्ण जुलुसलाई सुकुलढोका, वाणिज्य बैङ्क साकोठासम्म पनि खास केही गरेन । जब हामी टौमढी पुग्यौँ प्रहरीले जुलुसमाथि लाठीचार्ज ग¥यो र इँटा वर्षायो । गल्ली गल्लीबाट प्रहरीको इँटाको जवाफ दिँदै थियो । एक दुई वटा अश्रुग्याँस फ्याँकिएको पनि देखेँ । जब हामी टौमढीको क्याफेको दक्षिणतिर (गःहिटी) को बाटामा थियौँ अचानक के हो के मेरा खुट्टामा जोडसित परेको अनुभव भयो । टाउको झुकाइ हेरेँ । मेरो घुँडामुनिको हाड बिस्तारै खुम्चिएर गएको देखेँ । त्यसपछि गोलीको आवाज पनि सुनेँ । ‘गोली गोली ¤’ भनी साथीहरू गल्लीतिर भाग्न थाले । एउटा साथीको काँधमा समाती म पनि बायाँ खुट्टाले उफ्रीउफ्री गःहिटीसम्म आएँ । त्यहाँबाट मलाई लाकोलाछे गल्लीमा लगियो । बाटामा पल्टाइराख्दा मैले टाउको उठाइ हेरेँ, मेरो गोडा (दायाँ) रक्तमासीले टन्न छोपिएको थियो । कुर्कुचाभन्दा माथि गोली लागी हाड चकनाचुर भएको थियो । भक्तपुर अस्पताल लगियो, पछि वीर अस्पतालमा लगी अपरेसन गरी त्यहाँ २५ दिन राखियो । २५ दिनपछि चैत २ गते डी.एस.पी. कार्यालय भक्तपुरमा थुनियो । मेरो दुवै हातमा वैशाखी थियो । दिशापिसाब गर्न, मुख धुन सम्पूर्ण कामको लागि साथीहरूको सहयोगविना गर्न सक्दिनथेँ । चैत ६ गते सेन्ट्रल जेल चलान गरियो– ठूला अस्पताल लैजाने भनेर । १९ दिनपछि चैत २५ गते राबन्दीहरूसँगै म पनि रिहा भएँ । मैले ७ महिना प्लास्टर राखेँ । तर, अझ पनि खुट्टा दुखिरहन्छ । २–३ किमि हिँड्न पनि खुट्टा असमर्थ छ ।
रामगोपाल दुवाल, चोछेँ
सूर्यमढीदेखि आएको शान्तिपूर्ण जुलुसलाई प्रहरीहरूले तितरबितर गरी दुई टुक्रा वा दुई भागमा जुलुस विभाजन गरिदियो । प्रहरी र जनताबिच सो ठाउँमा भिडन्त भइरहेको बेलामा प्रहरीहरूले गोली प्रहार गरेका थिए । उक्त ठाउँमा मलाई गोली लागेको थियो । पेट, तिघ्रा, औँला, गाला, घाँटीनिर दुई ठाउँमा गरी जम्मा ६ ठाउँमा लागेको थियो । साथीहरूले भक्तपुर अस्पतालमा पु¥याए । त्यहाँबाट वीर अस्पताल पठाइयो । डिस्चार्ज हुनासाथ प्रहरी थाना हनुमानढोका लगेर बेलुका भक्तपुर डी.एस.पी. कार्यालयमा ४ दिन थुनियो । त्यहाँबाट सेन्ट्रल जेलमा २० दिन थुनेर छोडियो ।
लक्ष्मीभक्त कोजू, जेँला
२६ चैत २०४६ का दिन कफ्र्युको समय सकिए (४ बजे) पछि बाहिर आएको बखत प्रहरीहरूद्वारा समाती अमानवीय यातना दिई मेरो हात भाँची दिइएको थियो । म थुनिएँ । बहुदल आएको भोलिपल्ट छोडियो । तर, हालसम्म मेरो हात अलिअलि दुखिरहेको छ
लक्ष्मीभक्त ध्वँजू, वडा नं. १५
८ फागुनको दिन बिहान करिब ९ः३० बजेतिर गोली लागी घाइते भएका योद्धा देवप्रसाद भैललाई स्ट्रेचरमा राखी बोकेर अस्पताल लगिँदै गरेको अवस्थामा मिनीबस पार्कतिर पुग्दा अचानक लाठीधारी प्रहरीहरूले अन्धाधुन्ध लाठी प्रहार गरी पिटेका थिए । जहाँ अरू साथीहरू पनि घाइते भए । मलाई बेहोस हुने गरी लाठी प्रहार गरेको थियो । म होसमा आउँदा वीर अस्पतालको बेडमा थिएँ । पछि भक्तपुरबाट एम्बुलेन्स राखी अस्पताल पु¥याइएको कुरा थाहा पाएँ ।
सत्यसम्मेलन राजोपाध्याय, टौमढी
०४६ चैत १७ गते बेलुका ८ बजेतिर म घरमा निदाइरहेको थिएँ । भोजबाट फर्केका मेरा दाजुले ढोका घच्घच्याएकोले म बिउँझेँ र ढोका खोल्न गएँ । त्यसबेला फासिस्ट पञ्चायतका प्रहरीहरूले मलाई र मेरा दाजु (कमलधर) लाई हाम्रै छिँडीभित्र आई पशुवत ढङ्गले लाठी र बुट वर्षाउन थाले । हाम्रो चिच्याहटले आमा तल ओर्लिनुभयो र ‘मेरा छोराहरूलाई नपिट्नुस्’ भनी बिन्ती गर्नुभयो, गुहार माग्नुभयो तर केही लागेन । ती असभ्य प्रहरीहरूले ‘देशद्रोही आइमाई खुरुक्क जा’ भनेर लाठी वर्षाए । त्यसबेलासम्म म होसमा थिएँ । पछि क्याफेअगाडि एक हुल पुलिसहरूले पनि लाठीले कुट्ने र बुटले हिर्काउन थालेपछि म बेहोस भएँ । पछि प्रहरी थानामा मेरो होस खुल्यो । ‘ज्यापू होसमा आएछ, कुट सालेलाई भन्दै चुरोटको ठुटोले पोल्यो, कुट्यो ।’ त्यसपछि म भक्तपुर अस्पतालको चौरमा फालिराखेको अवस्थामा केही क्षण होसमा आएँ । फेरि बेहोस भएँ । पछि होसमा आउँदा पेटभरि पाइपहरू, अक्सिजन दिइराखेको, सलाइन र रगत दिइराखेको देख्दा सपना नै लाग्यो ।
प्रजातन्त्र पुनःस्थापनापछि नेपाल मजदुर किसान पार्टीले बाहेक कसैले केही सहयोग दिएको छैन, सहयोगको आश्वासनमात्र पाएको छु ।
प्रजातन्त्र ल्याउन नदिन जनतालाई दमन, यातना र गोलीकाण्ड गर्ने जनताका अपराधीहरूमाथि कडा कारबाही नभएसम्म देशमा प्रजातन्त्र उदय भएको मलाई लाग्ने छैन ।
(श्री राजोपाध्यायको वीर अस्पतालको डिस्चार्ज रिपोर्ट (बिरामी दर्ता नं. ८०८९ सर्जरी वार्डको बेड नं. २८) मा ‘Blunt Abdominal Trauma Crupture of Pancreas’ विवरणमा Physical Assult by police भनी अपरेसन गर्दा पेटभित्रका विभिन्न अङ्गहरू फुटेको, रक्तश्राव भएको, रगत जमेकोले Pancreatectomy C Spleenectomy गरिएको डा. केशवदास जोशीले लेख्नुभएको छ ।)
सहदेव ख्याजू, वाँचुत्वा
सूर्यमढीबाट सुरु भएको जुलुसमा म सहभागी थिएँ । बजारमा पसल बन्द गराउँदै नारा लगाउँदै साकोठासम्म पुग्यौँ । त्यहाँ प्रहरीहरूले जुलुसमाथि इँटा ढुङ्गाले हानेपछि प्रदर्शनकारीहरूले पनि हान्न थाले । त्यसपछि दुई तीनचोटि अश्रुग्याँस छोड्यो । विनाचेतावनी गोली चलाइयो, मेरो खुट्टाको बायाँ पैतालामा लाग्यो । साथीहरूले परोपकारमा लगे । त्यहाँबाट बनेपा अस्पताल लगे । फेरि त्यहाँबाट पाटन अस्पताल पठाइयो । १२ फागुनदेखि भक्तपुर डी.एस.पी. कार्यालयमा ल्याई थुनियो । सार्वजनिक अपराधको मुद्दा चलाई भद्रगोल जेलमा पनि थुनियो । हाल घाउ पूर्णरूपमा निको नभए पनि त्यति अप्ठ्यारो छैन ।
सुकुराम ख्याजू, वाँचुत्वा
फागुन ८ गते नेपाल बन्दको कार्यक्रम सूर्यमढीबाट सुरु भयो । दत्तात्रय मन्दिरअगाडि मण्डलेहरूले पसल बन्द नगर्ने भनी जिद्दी गरे । त्यहाँ जुलुसमा सहभागीहरू एकत्रित भए । सुकुलढोकामा प्रहरीको समूह बसिरहेको थियो । साकोठामा पुग्दा सुरेन्द्रप्रताप शाह, लक्ष्मीप्रसाद किसीलगायतका पञ्चहरूले इँटा ढुङ्गा हान्न थाले । वाकीटाकी लिई प्रहरीले ढुङ्गामुढा गरिरहेको थियो । साथीहरूले पनि इँटा ढुङ्गा हान्न थाले । विनाचेतावनी गोली चलाइयो । मेरो अगाडिका साथी पुण्यराम कोण्डालाई लाग्यो । गोलीको आवाज निरन्तर आइरहेको थियो । अलि छेकिने ठाउँतिर आउन खोजेको थिएँ । एउटा गोली मेरो बायाँ पाखुराबाट निस्क्यो, जुन मैले चाल नै पाएको थिइनँ । अस्पतालबाट डी.एस.पी. कार्यालयमा ४ दिन र सेन्ट्रल जेलमा १९ दिन बसी राजबन्दीहरू छुटेको दिन छुटेर आएँ । त्यसपछि पुनः पाटन अस्पतालमा औँला नचलेको हुँदा अपरेसन गराएँ । करिब १५–२० दिन त्यहाँ रहेँ र जम्मा अभ्याससहित ६–७ महिनासम्म उपचार गरी बसेँ । हाल घाउ निको भए पनि बायाँ हत्केलाबाट वस्तु उचाल्न कठीन छ । बहुदलको लागि शरीरमा घाउ भए पनि मन पोलेको छैन जति हिरासतमा प्रहरीले अमानवीय गाली गर्दा पोलेको थियो । नाम सहभागी थिए ।
सुरेन्द्रमान वासिंछ्याक, वडा नं. ३
फागुन ८ गते मैले पनि जुलुसमा भाग लिएको थिएँ । ‘मास’ धेरै थियो । तर, अचानक साकोठामा पुलिसले घेरेर लाठीचार्ज गर्न थाल्यो । साथीहरूलाई मैले ‘नभाग नभाग साथीहरू ¤’ भन्दै थिएँ । तर, प्रहरीको एक जत्थाले मलाई समाती मुक्का लाठी प्रहार गर्यो । यति प्रहार ग¥यो कि केही बेरपछि नै मेरो बायाँ खुट्टाको हड्डी नै चुनामुना पारी शरीरभरि रगतै रगतले भिजाइदियो । यस्तो अवस्थामै दिनभरि डी.एस.पी. कार्यालयमा म थुनिएँ । बेलुकी वीर अस्पतालमा लगेर उपचार गरियो । तर, राम्रो उपचार नै नगरी डिस्चार्ज गरी डी.एस.पी. कार्यालय भक्तपुरमा ल्याई २ दिन थुनी छोडिदियो । राम्ररी उपचार गर्न नपाएकोले हालसम्म मेरो खुट्टा दुखिरहेको छ । हाल मैले त्यही सन्दर्भमा अस्थायी शिक्षण पेशाको रोजगारी गर्दै छु ।
हरिराम लवजू, मः को
टौमढीमा निहत्था प्रदर्शनकारीहरूमाथि अन्धाधुन्ध गोली चलाई हत्या गरेको र सशस्त्र प्रहरी भ्यानहरू ओहोरदोहोर गरी जनतालाई आतङ्कित पारिरहेकोले बिहान ११ बजेतिर अन्य साथीहरूसहित म बाटोमा ब्लक गरी बसिरहेको थिएँ । दत्तात्रयतिरबाट एक समूह प्रहरीहरू बन्दुकको नाल सोझ्याउँदै आए । टौमढीको दृश्यले आक्रोश थाम्न नसकेर प्रहरीमाथि इँटा हान्न थाल्यौँ । प्रहरीले बन्दुक पड्काई हाल्यो । गोली लागेको साथीलाई समात्न दौडिरहँदा चालै नपाई मेरो दाहिने काँधमुनि पछाडिबाट गोली छिरेर अगाडिबाट निस्केर गएछ । साथीहरूले मलाई समात्न आएकोले यसो हेर्दा मेरो काँधबाट रगतको धारा नै बगिरहेको देखेँ र अर्धबेहोसजस्तै भएँ । मलाई बनेपा अस्पतालमा उपचारको लागि लगियो । तर, २ दिन पूरा उपचार गराउन नपाउँदै १० फागुनमा भक्तपुर डी.एस.पी. कार्यालयमा ल्याई अमानवीय यातनासहित ३० दिन जति थुनियो । त्यसपछि केन्द्रीय कारागारमा पठाइयो । बहुदल आएको ४ दिनपछि जेलबाट मुक्त भएँ ।
हरिसुन्दर प्रजापति, वडा नं. १४
८ फागुनमा नासमनाबाट ‘हाम्रा साथीहरूलाई पुलिसले गोली हान्यो, मार्न लाग्यो’ भन्दै चिच्याउँदै नारा लगाउँदै बुलुचातर्फ दौडेर हामी आन्दोलनकारीहरू फेरि टौमढीतिर गयौँ । टौमढीमा नपुग्दै ती फासिस्ट सरकारका प्रहरीहरूले गोली, अश्रुग्याँस छोडे । साथीहरूले त्यहाँबाट घाइते भएकाहरूलाई बोक्दै लगे । मचाहिँ भाग्न लागेका साथीहरूलाई ए साथीहरू नडराउनुस् ¤ नभाग्नुस् ¤ हतोत्साही नहुनुस् भन्दै थिएँ । केही बेरपछि नारा घन्कियो । फेरि गोली चलाई हाल्यो । नरसिंह मन्दिरको अगाडि पुग्दा मलाई पनि गोली हो कि ग्याँस हो लाग्यो । साथीहरूले मलाई भक्तपुर अस्पतालमा लगे । यसरी जनआन्दोलनमा म घाइते भएँ ।
हेलभक्त दुवाल, इताछेँ
फागुन ८ गतेको शान्तिपूर्ण जुलुसका प्रदर्शनकारीहरूमाथि गोली प्रहार गर्दा गोली लागी घाइते भएका देवप्रसाद भैललाई अस्पताल पु¥याउन लैजाँदा मिनीबस पार्कतिर लाठीधारी एक जमात प्रहरीहरू हामीहरूमाथि नै आइलागेर लाठी प्रहार गरेर हामीलाई जीउभरी रक्ताम्य पारिदिएको थियो । म त बेहोसजस्तै भएँ । केही बेरपछि एम्बुलेन्समा राखी वीर अस्पतालमा पु¥याइयो । त्यहाँबाट केही दिनपछि डी.एस.पी. कार्यालय भक्तपुरमा ल्याई थुनियो । १२÷१३ दिनपछि छोड्यो ।
उपरोक्त घाइते योद्धाहरूबाहेक अन्यको नामावली
गणेशलाल खर्बुजा, वडा नं. १५
भक्तबहादुर बाइजू, वडा नं. १५
माहिला सुवाल, वडा नं. १४
मोहनकृष्ण रंजित, वडा नं. ८
राजु जोशी, वडा नं. ४
रामप्रसाद दुवाल, वडा नं. १४
लक्ष्मण कोजू, वडा नं. ५
लक्ष्मण गोसाई, वडा नं. ६
लोकबहादुर खर्बुजा, वडा नं. १५
सत्यनारायण प्रजापति, वडा नं. २
सुन्दर मातां, वडा नं. १५
सूर्यलाल खर्बुजा, वडा नं. १५
(मासिक भक्तपुर, २०४९ फागुन/चैत बाट)
Leave a Reply