भर्खरै :

नगर प्रमुख प्रजापतिसँग कीर्तिपुर नपाका उपप्रमुख शाक्यको भेट

नगर प्रमुख प्रजापतिसँग कीर्तिपुर नपाका उपप्रमुख शाक्यको भेट

भक्तपुर, ८ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले भेट गर्नुभयो । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तरनगर पुरुष खो खो प्रतियोगिता खेलको अवलोकन गर्न भक्तपुर आउनुभएका उपप्रमुख शाक्यले प्रमुख प्रजापतिसँग सोमबार भेट गर्नुभएको हो ।
भेटमा उहाँहरूबिच भक्तपुरको शिक्षा, पर्यटन, कर्मचारी व्यवस्थापन, विकास निर्माणलगायतका विविध पक्षबारे अनुभव आदानप्रदान भयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न आर्थिक तथा भौतिक सहयोग गर्दै आएको बताउँदै भक्तपुर नपाको मुख्य आयस्रोत पर्यटन भएको हुँदा पर्यटन प्रवद्र्धन र संवद्र्धनमा नगरपालिकाले विशेष भूमिका खेल्दै आएको बताउनुभयो ।
कीर्तिपुर नपाका उपप्रमुख शाक्यले भक्तपुर नपालाई नजिकबाट नियाल्ने अवसर प्राप्त भएको उल्लेख गर्दै नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र अस्पताल सञ्चालनबारे रुचिपूर्वक जिज्ञासा राख्नुभयो ।
कीर्तिपुर नपाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने तयारीमा रहेको बताउँदै उहाँले स्थानीय तह जनताको नजिकको सरकार भएको हुँदा त्यसमार्फत धेरै विकास निर्माणको काम सम्भव भएको बताउनुभयो ।
भेटमा भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, कीर्तिपुर नपाको सहकारी शाखाका वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनलगायतको उपस्थिति थियो । नगर प्रमुख प्रजापतिले उपप्रमुख शाक्यलाई भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *