भर्खरै :

अन्तरनगर खो खो प्रतियोगितामा कीर्तिपुर र ठाकुरबाबा नपा फाइनलमा

अन्तरनगर खो खो प्रतियोगितामा कीर्तिपुर र ठाकुरबाबा नपा फाइनलमा

भक्तपुर, ८ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर पुरुष खो खो प्रतियोगितामा कीर्तिपुर नगरपालिका र बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका फाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको सेमिफाइनलका खेलहरूमा ठाकुरबाबा नगरपालिकाले कैलाली जिल्लाको धनगढी नगरपालिकालाई र कीर्तिपुर नगरपालिकाले भक्तपुर नगरपालिकाको ‘बी’ टीमलाई पराजित गरी फाइनलको यात्रा तय गरेको छ ।
ठाकुरबाबा नगरपालिकाले धनगढी नगरपालिकालाई ५ अङ्कका विरुद्ध १२ अङ्कले जित हासिल गरेको हो । त्यस्तै कीर्तिपुर नगरपालिकाले आयोजक भक्तपुर नगरपालिकाको ‘बी’ टीमलाई १६–१० अङ्कले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
आइतबार नै भएको धनगढी उपमहानगरपालिका र खाँडबारी नगरपालिकाबिच सम्पन्न क्वाटर फाइनल खेलमा धनगढी उपमहानगरपालिकाले १९–१४ अङ्कले जित हासिल गरेको थियो । ठाकुरबाबा नगरपालिका र कलैया उपमहानगरपालिकाबिच भएको अर्को क्वाटर फाइनलमा ठाकुरबाबा नगरपालिका २०–४ अङ्कले जित्दै सेमिफाइनल पुग्न सफल भएको थियो ।
कीर्तिपुर नगरपालिका र भक्तपुर नगरपालिकाको ‘ए’ टीमबिच भएको खेलमा कीर्तिपुर नगरपालिकाले १३–३ अङ्कले भक्तपुरलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको थियो ।
भक्तपुर नगरपालिकाको ‘बी’ टीमले नवलपुर जिल्लाको कावासोती नगरपालिकालाई १५–४ अङ्कले पराजित गर्दै सेमिफाइलको यात्रा तय गरेको थियो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीका अनुसार मङ्गलबार बिहान ८ बजे तेस्रो स्थानको लागि र ९ बजे फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *