भर्खरै :

सुर्खेतमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको ११ औँ जिल्ला सम्मेलन

सुर्खेतमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको ११ औँ जिल्ला सम्मेलन

सुर्खेत, ९ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, सुर्खेतको १० औँ जिल्ला सम्मेलन मङ्गलबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । मङ्गलबार नै बन्दसत्र पनि सञ्चालन भएको थियो ।
सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेक्राविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले देशको स्वतन्त्रता, सार्वभौमिकता तथा भूअखण्डता कायम गर्न देशभक्त विद्यार्थी एकजुट हुनुपर्ने भनाइ राख्नुभयो ।
एमसीसी पारित गराएर संरा अमेरिकाले नेपाललाई युद्धभूमि बनाउन खोजिरहेको भन्दै उहाँले रुस र युक्रेनबिचको युद्ध भड्काउने काम संरा अमेरिका तथा पश्चिमा पुँजीवादी देशहरूले गरिरहेको विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले युद्धलाई अझ लम्ब्याउनकै निम्ति युक्रेनलाई हतियार सहयोग गर्ने संरा अमेरिकाले रुसलाई चीनले हतियार बेच्न खोजेको भन्नु अनैतिक हो भन्नुभयो । उहाँले रुसलाई समाप्त पारेर चीनमाथि हान्ने साम्राज्यवादी युद्धविरुद्ध सारा नेपाली एक हुनुपर्ने तर्क राख्नुभयो ।
उहाँले नेमकिपाले समाजवादी समाज स्थापना गर्न गरिबका छोराछोरीलाई सङ्गठित गर्न खोजेको भन्दै उत्पादनका साधन सामाजिकीकरण नभएसम्म देशको मूल समस्या समाधान नहुने भनाइ राख्नुभयो । उहाँले नेक्राविसङ्घले व्यक्तित्व विकासमा समान अवसरको नारा लगाउँदै आएको भन्दै यो नारा लागू गर्न अर्को आन्दोलन आवश्यक भएको विचार राख्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले शिक्षामा लागु नवउदारवादी नीतिको कारण गरिबका छोराछोरीले शिक्षाबाट वञ्चित हुनु परेको विचार राख्नुभयो । उहाँले यसपालि देशभर नै पाठ्यपुस्तक अभाव हुने सम्भावना भएको भन्दै सरकार कर्तव्यच्युत भएको तर्क राख्नुभयो ।
नेमकिपा, सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले पुँजीवादी व्यवस्थाले मजदुर र किसानलाई बाँच्न नदिएको भनाइ राख्नुभयो ।
नेक्राविसङ्घ, सुर्खेतका संयोजक राजन विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्रायुसङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापा, नेक्राकिसङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेक्रामसङघका जिल्ला सदस्य विजुकला राना, नेक्राविसङ्घका केन्द्रीय सदस्य रवीन्द्र भण्डारी, नेक्राविसङ्घका तुल्सी सिजापतिलगायतले मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनको बन्दसत्रबाट राजन विकको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । बन्दसत्रमा नेक्राविसङ्घका पूर्वअध्यक्ष सरोजराज गोसाईले नेक्राविसङ्घले समाजवादी गणतन्त्रको नारा पहिलोपटक लगाएर दोस्रो जनआन्दोलनलाई नयाँ उचाइ प्रदान गरेको भनाइ राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *