घरेलु तथा साना उद्योग प्रवद्र्धनमा जोड दिनुपर्ने
- असार ६, २०८३
भक्तपुर, ९ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सहिद दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ५ गतेदेखि ९ गतेसम्म भएको अन्तरनगर खो खो प्रतियोगिताको पुरस्कार वितरण तथा समापन मङ्गलबार सम्पन्न भयो ।
नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले खेलकुद स्वास्थ्य, अनुशासन, मित्रता र सार्वभौमिकताको लागि हो, खेल मैदान र व्यायामशाला पर्याप्त भए अस्पताल र स्वास्थ्यचौकी थोरै भए पुग्छ भन्नुभयो । नेपाल मजदुर किसान पार्टीले संविधानमै खेलकुद र १८ वर्ष पुगेका युवालाई सैनिक तालिम मौलिक हकको रूपमा व्यवस्था गर्ने प्रस्ताव राखेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संविधासभामा धेरै सङ्ख्या भएका सरकारमा गएका दलहरूलाई नेमकिपाको प्रस्ताव मान्य नहुँदा नेपाली युवालाई खेलकुद र १८ वर्ष नाघेकालाई सैन्य तालिमको व्यवस्था भएन । संविधान संशोधन गरेर भए पनि यी दुवै व्यवस्था राख्नु जरुरी छ ।”
उहाँले भन्नुभयो, “नेपाली भूमि कालापानी भारतीय सेनाले कब्जा गरेको ७० वर्ष भयो । भारतले ७१ भन्दा बढी ठाउँमा नेपाली भूमि अतिक्रमण गरेको छ । गएको मङ्सिरको चुनावको बेला भारतले दार्चुलामा महाकाली नदी १० मिटर मिचेर पानीको धार नेपालतर्फ धकेलेर ढुङ्गाको पर्खाल बनायो । लिम्पियाधुरा नेपालको नक्सामा पर्दछ तर, त्यहाँ नेपालको प्रशासन र जनप्रतिनिधिको उपस्थिति छैन । भारतको सिमानामा परेको बर्दियाको राजापुरमा पनि नेपाली भूमि अतिक्रमण भएको छ । नेपालको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको लागि नेपाली खेलाडीहरू सचेत र स्वस्थ भएर अघि बढ्नु जरुरी छ ।”
“खेलाडीहरू अनुशासनमा बसेर खेल्छन् । तर, नेपालका सिंहदरबारमा पुगेका दलका नेताहरूमा अनुशासन भएन । संसद्मा सरकारलाई विश्वासको मत दिने पार्टीहरू सत्तापक्ष हुन्छन् । प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र बाग्मती प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पार्टी नेमकिपा प्रमुख विपक्षी दल हो । तर, नेका प्रधानमन्त्री र मुख्यमन्त्रीलाई विश्वासको मत दिने र प्रमुख विपक्षी दल पनि दाबी गर्ने ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ बल मिचाइ गर्दै छ । सांसदले बनाएको कानुन संसद्मा कार्यान्वयन नभए देशमा अन्य कानुन लागु हुनेछैन र अराजकता उत्पन्न हुनेछ ।”, सांसद सुवालले भन्नुभयो ।
खेलकुद प्रतियोगितामा हारजितभन्दा खेलाडीहरूबिच मित्रता महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भक्तपुर नगरपालिकालाई धन्यवाद दिँदै सहभागी सबै नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई बधाई दिनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रजातन्त्र पुनःस्थापनाको लागि आफ्नो ज्यानको आहुति दिएका सहिदहरूको बलिदानको स्मरणस्वरूप भक्तपुर नपाले प्रत्येक वर्ष फागुन महिनामा अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले आयोजना गरेको खो खो खेल प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो खो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उल्लेख गर्दै युवाहरू देशको सार्वभौमिकता रक्षा गर्न सक्षम हुनुपर्ने बताउनुभयो ।
बाग्मती प्रदेशका सांसद सृजना सैंजुले अन्तरनगर खो खो प्रतियोगिता २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति समर्पित रहेको औँल्याउँदै देशमा व्यवस्था परिवर्तन भएपछि पनि गरिब जनताको जीवनमा खासै परिवर्तनको अनुभूति हुन नसकेको बताउनुभयो ।
शासक वर्गका नेताहरू भुइँमान्छेबाट महलमा पुगिसके पनि युवाहरूलाई देशमै काम गर्ने वातावरण नरहेको र बर्सेनि लाखौँ युवाहरू विदेशिनुपर्ने बाध्यता रहेको बताउँदै सांसद सैंजुले गरिब जनताको जीवन परिवर्तनको लागि समाजवादी व्यवस्थाको आवश्यकता छ भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणका साथसाथै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको विचार व्यक्त गर्दै देशको सार्वभौमिकता, अनुशासन र मित्रताको लागि भक्तपुर नपाले हरेक वर्ष विद्यालयस्तरीय र अन्तरनगर खेलकुद प्रतियोगिता गरी देशको लागि उत्कृष्ट खेलाडीहरू उत्पादन गर्दै आइरहेको बताउनुभयो ।
कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्यले भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रमा गरिरहेको योगदान उदाहरणीय रहेको बताउँदै कम स्रोत र साधनमा पनि खेलाउन सकिने खो खो खेल प्रतियोगिताको सञ्चालनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यस खेलको महत्व हुने बताउनुभयो । उहाँले निकट भविष्यमा कीर्तिपुर नगरपालिकाले अन्तरनगर उपमेयर कप भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्थानीय तह निर्वाचनको घोषणापत्रअनुसार अन्तरनगर पुरुष खो खो प्रतियोगितामा १३ वटा नगरपालिका र १४ वटा टीमको सहभागिता रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुवालले प्रतियोगितामा प्रथम हुने ठाकुरबाबा नगरपालिकालाई ट्रफी तथा नगद रु. १ लाख ५० हजार, दोस्रो हुने कीर्तिपुर नगरपालिकालाई ट्रफी र रु. १ लाख तथा तेस्रो हुने धनगढी उपमहानगरपालिकालाई ट्रफी र रु. ५० हजार नगद पुरस्कारका साथै खेलाडीहरूलाई पदक प्रदान गर्नुभएको थियो । कार्यक्रमका सभापति प्रजापतिले खेलमा सहभागी नगरपालिकाहरूलाई मायाको चिनो र नगद रु. ५ हजार पुरस्कार प्रदान गर्नुभयो ।
Leave a Reply