भर्खरै :

भक्तपुर नगरपालिकामा जर्मन—दक्षिण एसियाली संसदीय टोलीलाई स्वागत

भक्तपुर नगरपालिकामा जर्मन—दक्षिण एसियाली संसदीय टोलीलाई स्वागत

भक्तपुर, ९ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको भ्रमणमा आएका जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्यहरूलाई मङ्गलबार भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।
भक्तपुर दरबार क्षेत्रको अवलोकनमा आएको उक्त प्रतिनिधिमण्डललाई नगर प्रमुख प्रजापतिले भादगाउँले टोपी लगाएर स्वागत गर्नुभएको हो ।
सो अवसरमा प्रमुख प्रजापतिले नेपालको लागि जर्मन सरकारले विगतमा पु¥याएको सहयोगको लागि धन्यवाद दिँदै दुई देशबिचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरमा जर्मन प्रोजेक्टले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा सुधार गर्न केही सहयोग पु¥याएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जर्मनहरूलाई भक्तपुरका जनताले बिर्सेका छैनन् ।”
भक्तपुरको मौलिक कला, संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले काम गर्दै आइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले युवाहरूलाई राजनीतिकरूपमा सचेत पार्ने काम गर्दै आएको बताउनुभयो ।
भक्तपुर घुम्न आउने पर्यटकहरूबाट उठेको पर्यटन शुल्कको रकमबाट भक्तपुरको सम्पदा संरक्षण, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा खर्च गर्दै आइरहेको बताउँदै उहाँले भक्तपुर नपाले आफूलाई प्राप्त अधिकारको प्रयोग गरी ऐन–कानुन निर्माण गर्दै कार्यान्वयनमा जोड दिँदै आएको बताउनुभयो ।
प्रतिनिधिमण्डलको तर्फबाट जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्य रेनेट कुनास्टले जर्मनी र नेपालबिचको मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको उल्लेख गर्दै भक्तपुरको कला, संस्कृति र मौलिकता संरक्षणबाट आफूहरू निकै प्रभावित भएको बताउनुभयो ।
नेपालको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक वैभवता नै यहाँका विकासका आधारहरू भएको बताउँदै उहाँले भक्तपुर नपाबाट भइरहेको सम्पदा संरक्षण आफैमा गौरवको विषय हो भन्नुभयो ।
जर्मन सरकारले भक्तपुरको सम्पदा पुनःनिर्माणमा चासोपूर्वक सहयोग गर्दै आइरहेको बताउँदै उहाँले नेपालको परम्परागत कृषि विधिलाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिनु आवश्यक छ भन्नुुभयो ।
उक्त टोलीमा जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्यहरू रेनेट कुनास्ट, एन्ड्रियास लरेम, पाउल लेहेरेदर, रिया स्क्रोडर, माल्टी काउफमान, अन्ड्रे हान, सोफिया तुम्स्का र सेबास्टियन स्केनेडरलगायतको उपस्थिति थियो । नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।
भेटपश्चात् प्रतिनिधिमण्डल टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरू राष्ट्रिय कला सङ्ग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *