भर्खरै :

आधारभूत विद्यालय उच्च शिक्षाको जग

आधारभूत विद्यालय उच्च शिक्षाको जग

भक्तपुर, १० फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपा वडा नं. ५ वासिकचास्थित चण्डेश्वरी आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव बुधबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले आधारभूत विद्यालयहरू उच्च शिक्षाको जग भएको हुँदा भक्तपुर नगरपालिकाले नगरभित्रका आधारभूत विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक आधारहरू तयार गर्ने काम गर्दै आइरहेको बताउनुभयो ।
विद्यालय स्थापनाको ६३ वर्ष पार गरिसकेको चण्डेश्वरी विद्यालयको शैक्षिक प्रगतिमा अझ सुधार हुँदै जाने आशा व्यक्त गर्दै भक्तपुरका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
शिक्षामा भइरहेको निजीकरण र उदारीकरणले गरिब जनताका छोराछोरीहरू उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुँदै आएको प्रसङ्ग जोड्दै उहाँले विद्यालयले आफ्नो भौतिक संरचनाको सुधारसँगसँगै शिक्षाको जगलाई स्तरीय बनाउन आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले बालबालिकाको शिक्षाको जग राम्रो भए भविष्य उज्ज्वल हुने विचार व्यक्त गर्दै विद्यालय तहदेखि नै मेहनत गर्ने बानी विकास गर्न विद्यार्थीलाई प्रेरित गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विद्यार्थीहरूलाई पुरस्कार र सम्मान दिनु भनेको उनीहरूलाई उत्प्रेरणा दिनु हो भन्दै विद्यार्थीहरूको मनोबल उच्च राख्ने विषयमा विद्यालय सजग हुनुपर्ने बताउनुभयो ।
चण्डेश्वरी आधारभूत विद्यालयका प्रअ रीता लाखेमरुले विद्यालयको शैक्षिक अवस्था र प्रगति विवरण प्रस्तुत गर्दै कामदार वर्गका छोराछोरीलाई सामान्य सहयोग शुल्कमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिई सक्षम, योग्य, असल र इमानदार नागरिक तयार गर्दै जाने विद्यालयको मुख्य उद्देश्य भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद त्वानाबासुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी हिमालयश्वरलाल मुल, नेक्राशिसङ्घ नगर समितिका अध्यक्ष गणेशराम थुसालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वार्षिकोत्सवकै अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले परीक्षामा उत्कृष्ट र अतिरिक्त क्रियाकलापमा विजयीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *