भर्खरै :

छुमा गणेश द्योछेँको शिलान्यास

छुमा गणेश द्योछेँको शिलान्यास

भक्तपुर, ११ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ६ चोछेँस्थित छुमा गणेश द्योछेँको बिहीबार शिलान्यास गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त १२५ भन्दा बढी सम्पदाहरू पुनःनिर्माण भइसकेको जानकारी गर्दै भक्तपुर नगरका सम्पदाहरू राष्ट्रिय महत्वका सम्पदाहरू भएकोले यसको संरक्षण र संवद्र्धनमा नपाले विशेष जोड दिँदै आएको बताउनुभयो ।
सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले विदेशीहरूको सहयोगलाई भन्दा जनताको साथ र सहयोगलाई प्राथमिकतामा राख्दै काम गरिआएको स्पष्ट पार्दै भक्तपुर शिक्षा र स्वास्थ्य सँगसँगै सम्पदा संरक्षणमा पनि उदाहरणीय बन्दै गएको बताउनुभयो ।
“भक्तपुर नपाका जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त प्रयास र स्थानीय जनताको साथ र अपनत्व रहेकै कारण भक्तपुर आज देशकै नमुना नगरपालिकाको रूपमा स्थापित हुन सफल भएको हो,” प्रमुख प्रजापतिले भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले ऐतिहासिक छुमा गणेश द्योछेँको पुनःनिर्माण कार्य निर्धारित समयमै मौलिक र गुणस्तरीय ढङ्गले सम्पन्न हुने विश्वास व्यक्त गर्दै द्योछेँ निर्माणमा स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगको पनि अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाको विकास निर्माणबारे अवगत गराउँदै जनप्रतिनिधि जनताको सुखदुःखका सहयोगी भएको बताउनुभयो । उहाँले स्थानीय जनताको साथ र सहयोगबिना वडाको गतिविधि अगाडि बढ्न कठिन हुने बताउँदै द्योछेँ पुनःनिर्माणमा यहाँका स्थानीय जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैँया सुवाल, वडासदस्य गोविन्द दुवाल, स्थानीय शिक्षक जगनाथ सुजखू, वडासदस्य सिद्धिराम अवाल र उपभोक्ता समितिका सचिव रमिला प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *