साहित्य, संस्कृति र नाचगान समुदायको निम्ति हुनुपर्ने
- आश्विन २६, २०८१
राष्ट्रपति बन्नका लागि सार्वजनिक भएका शासक र ठूला दलका नेताहरूको सूची हेर्दा कहीँ नभएको जात्रा नेपालमा भइरहेको विश्लेषण राजनीतिज्ञहरूले गर्न थालेका छन् । राष्ट्रपतिको सूचीमा रहेका ती नामहरू कुनै विदेशी ‘बुद्धिजीवी’ बाट प्रस्तावित छन्, कुनै पार्टी मिलाउनेसँग सम्बन्धित छन् त कुनै गठबन्धन फोड्ने र भएको गठबन्धन कायम गर्नेसित सम्बन्धित छन् । कुनै आफ्नो दलले उपराष्ट्रपति पाए राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउनेसित सम्बन्धित छन् । यही भएर होला, राजनीतिक विश्लेषक एवं प्राध्यापक लोकराज बरालले भने, “सेरेमोनियल राष्ट्रपति चयन गर्न नेपालमा जस्तो लफडा र गलत कृत्य विश्वका अन्य कुनै मुलुकमा भएको मैले देखेको छैन ।” बिहीबार प्रकाशित ‘राजधानी’ दैनिकमा ‘राष्ट्रपति पदमा लफडाले मुलुककै बेइज्जत’ शीर्षकको समाचार छापियो ।
मुलुकमा विकास गरेर, जनताका आधारभूत आवश्यकताका सामग्रीहरू उपलब्ध गराएर, देशको अर्थतन्त्र मजबुत बनाएर देशको इज्जत राख्नुपर्नेमा उल्टो शासक र ठूला दलका नेताहरू बेइज्जत कमाउँदै छन् । नेपालीमा चलेको एउटा भनाइ छ, ‘चराको धोती हुँदैन, नकच्चरोको लाज हुँदैन ।’ कहिले देशको परराष्ट्र नीति उल्लङ्घन गरेर त कहिले देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पु¥याएर शासकहरूले नेपालको देश विदेशमा बदनाम गरिरहेका छन् । सरकार गठन गर्नको लागि मात्र एक महिना बित्यो । अहिले राष्ट्रपति चयन गर्नको लागि पनि एक महिनादेखि शासक र ठूला दलका नेताहरू रात दिन लागिरहे । राष्ट्रपति पदको चयन भागबन्डामा अल्झिएको हुँदा राष्ट्रपतिको उम्मेदवार दिने अघिल्लो दिनसम्म कुन राष्ट्रपति बनाउने भन्ने टुङ्गो लागेको छैन । यो शासक र सत्तामुखी राजनीति गर्ने नेताहरू भागबन्डाको राजनीतिमा केन्द्रित हुँदाको परिणाम हो ।
नेपाललाई युक्रेन बनाउने संयुक्त राज्य अमेरिकी नीतिको विरोध नगरी, नेपाललाई सिक्किम बनाउन भारतीय नागरिकलाई नेपाली नागरिकता दिने षड्यन्त्रको विरोध नगरी देशलाई भारत र अमेरिकाको खेल मैदान बनाउने काममा देशका शासक र ठूला दलका नेताहरू पूर्वाभ्यासमा जुटिरहेका छन् । विदेशी दबाब र प्रभावमा पर्न नहुने भनी फुक्नुपर्ने शासकहरू विदेशी शक्ति राष्ट्रको आडभरोसामा देशको बजेट बनाउँदै छन् । पदको निमित तँछाडमछाड गर्न पछि नपर्ने शासक र ठूला दलका नेताहरू सरकारी उद्योग तथा सङ्घ–संस्थाहरू सञ्चालन गरेर देशमै रोजगारीको व्यवस्था गर्ने काम गर्न किन अघि नबढेका हुन् ? राष्ट्रपति चयनको सेरोफेरोमा झुमेर देशका प्रजातन्त्रवादी, गणतन्त्रवादी, प्रतिक्रियावादी र विदेशी कूटनीतिज्ञहरू ज्यानतोडका साथ लागिरहेको घटनाक्रमले राष्ट्रपति पदकै गरिमामा चोट पुगिरहेको छ । तर, यसबारे शासक दल र ठूला दलका नेताहरूको ध्यान गएको छैन । यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथिकै चोट हो । यसमा शासकहरूको ध्यान जानु आवश्यक छ ।
Leave a Reply