उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भक्तपुर, १२ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न भक्तपुर नपाले आर्थिक तथा भौतिक सहयोग गर्दै सामुदायिक विद्यालयमा उत्कृष्ट शिक्षा प्रदान गर्ने उद्देश्यले काम गर्दै आइरहेको बताउनुभएको छ ।
भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित ब्रह्मायणी आधारभूत विद्यालयको ३१ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुरका शैक्षिक संस्थाहरू अध्ययन गर्न विभिन्न नगर, महानगर र उपमहानगर तथा गाउँपालिकाका जनप्रतिनिधिहरू आउने क्रम जारी रहेको बताउनुभयो ।
देशभर सामुदायिक विद्यालयप्रति अभिभावकहरूको आकर्षण घट्दै गइरहेको समयमा भक्तपुरका सामुदायिक विद्यालयले अब्बलरूपमा सामुदायिक शैक्षिक संस्थाहरू अगाडि बढाइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको स्तर वृद्धि गर्न सकेनौँ भने निजी विद्यालयले सामुदायिक विद्यालयलाई उछिन्नेछ ।”
असल, इमानदार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नेतर्फ विद्यालयले विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विकसित देशहरूमा जस्तै सामुदायिक विद्यालय विद्यार्थीहरूको पहिलो रोजाइको शैक्षिक संस्था हुनुपर्ने बताउनुभयो । भक्तपुर नपाले शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन सुरु गर्दै आइरहेकोमा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने योजनासाथ अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
ब्रह्मायणी आधारभूत विद्यालयका संस्थापक अध्यक्ष ज्ञानसागर प्रजापतिले सामुदायिक विद्यालय कुनै निजी विद्यालत्न्दा कम छैन भन्ने भावनाले शिक्षकहरूले आफ्ना विद्यार्थीलाई अध्यापनमा जोड दिए शैक्षिक विकासमा टेवा पुग्ने बताउनुभयो ।
गरिब जनता पढ्ने विद्यालयमा सरकारको ध्यान जान नसकेको र शिक्षामा राज्यले बहन गर्नुपर्ने दायित्य बहन गर्न नसकेको यथार्थ प्रस्तुत गर्दै उहाँले विद्यार्थीलाई राम्रो कामको लागि हौसला बढाउन सके उनीहरूमा उत्प्रेरणा जाग्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वअध्यक्ष मोहनप्रसाद प्रजापति, वडासदस्य रामसुन्दर बासी, आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष दीपक माक र शिक्षिकाद्वय इन्दिरा लाछिमस्यू र सुशिला प्रजापतिले पनि बोल्नुभएको थियो ।
विद्यालयका प्रअ तीर्थलक्ष्मी धन्छाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीकेन्द्रित शिक्षण विधिहरू प्रयोग गरी सिकाइ उपलब्धि वृद्धि गर्ने, कक्षामा कमजोर विद्यार्थीहरूलाई विशेष जोड दिएर अगाडि बढ्ने, विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका लागि अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै जाने विद्यालयको भावी योजना रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अन्य अतिथिहरूले विद्यालयका उत्कृष्ट विद्यार्थी र अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरूलाई मेडल र पुरस्कार वितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले ‘ब्रह्मायणी आधारभूत विद्यालय’ स्मारिका २०७९ पनि विमोचन गर्नुभएको थियो ।
Leave a Reply