भर्खरै :

बाल विकासमा अन्तरविद्यालय विविध प्रतियोगिता

बाल विकासमा अन्तरविद्यालय विविध प्रतियोगिता

भक्तपुर, १२ फागुन । बाल विकास सेकेन्डरी स्कूल, लिबालीको ३५ औँ स्थापना दिवसको अवसरमा उपत्यकाव्यापी (काभ्रेसहित) अन्तरविद्यालय विविध प्रतियोगिता शुक्रबार सम्पन्न भए ।
उक्त प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले एक समारोहबिच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद गोसाईले विद्यार्थीहरू भविष्यका देश निर्माणका आधार भएकाले सानैदेखि अध्ययनशील र अनुशासित भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले चिनियाँ समाजमा मित्रता पहिलो प्रतिस्पर्धा दोस्रो भन्ने भनाइ चर्चित रहेको स्मरण गर्दै विद्यार्थीहरू यस्तै भावनाबाट प्रेरित हुनुपर्ने बताउनुभयो ।
महालक्ष्मी सेकेन्डरी स्कूल काठमाडौँका प्रिन्सिपल सनकमान महर्जनले नयाँ पुस्ता अध्ययनशील बन्न सके समाज परिवर्तन छिटो हुने बताउँदै विद्यालयले विद्यार्थीमा व्यवहार र संस्कार सिकाउँदै भोलिका लागि योग्य नागरिक तयार पार्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा मोडर्न कलेज र मोडर्न सेकेन्डरी स्कूल दधिकोटका प्रिन्सिपल अनिल कसपालले यस्ता प्रतियोगिताले विद्यार्थीमा रहेको क्षमतालाई बाहिर ल्याउन सहयोग पु¥याउने भएकोले विद्यालयले समय–समयमा यस्ता प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो ।
विद्यालयले स्थापना दिवसको अवसरमा नेपाली पत्र लेखन, अङ्ग्रेजी पत्रलेखन, नेपाली हस्तलेखन सिनियर, नेपाली हस्तलेखन जुनियर, अङ्ग्रेजी हस्तलेखन सिनियर र अङ्ग्रेजी हस्तलेखन जुनियर प्रतियोगिता आयोजना गरेको थियो ।
उक्त प्रतियोगितामा ५० ओटा स्कूलका २७० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए । प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई फागुन २० गते हुने विद्यालयको ३५ औँ वार्षिकोत्सव समारोहमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *