भर्खरै :

राष्ट्रपति चयनमा कसले कसलाई लात मार्ने हो ?

व्यक्तिगत, दलगत स्वार्थ तथा भागबन्डामा अल्झिएका कारण हालसम्मका शासकहरूले कहिले पनि राष्ट्रिय सवालमा सही निर्णय गर्न सकेनन् । दलको अनेकानेक सर्त, स्वार्थ राख्ने विगत र हाल सत्तामा रहेका शासकहरूले राष्ट्रपति चयनकै सन्दर्भमा कसले कसलाई धोका दिने हुन्† थाङनामा सुताउने हुन्, थाहा हुँदैन । ती शासकहरूले एकले अर्काेलाई धेरै विश्वास पनि गर्न सकेका छैनन् । लात पो मार्ने हो कि भनी शङ्कैशङ्काको घेरामा रहेका तिनीहरूको ध्यान देशको लागि कस्तो राष्ट्रपति चयन गर्नेतर्फ गएको छैन । योग्य राष्ट्रपति चयन गर्नेतर्फभन्दा राष्ट्रपति पदलाई बल्छीमा राखेर एकले अर्काेलाई फसाउने चालबाजीमा शासकहरू रातदिन दौडधूप गरिरहेका छन् । उनीहरूमा दलको इमानदारिता देखिएको छैन । देश र जनताको अहितमा ल्याइएको ऐन कानुन अस्वीकार गर्ने, देशको स्वाधीनता र सार्वभौमिकतामा आँच नपु¥याउने, देशलाई दूरगामी असर नपु¥याउने काममा हस्ताक्षर नगर्ने राष्ट्रपति देशको लागि खाँचो छ ।
सत्तारुढ गठबन्धन कायम होस् या नहोस्, त्यो जनताको सरोकारको विषय होइन । कुनै एक दलका व्यक्ति राष्ट्रपति बन्ने पक्का छ । पछि उपराष्ट्रपति पनि चुनिएला । तर, राष्ट्रपति चयनको लागि भइरहेको खेलमा शुद्ध मन र शुद्ध विचार देखिँदैन । के देशको राजनीति यसरी नै अघि बढिरहने हो ? शासकहरूले देशमा सही सन्देश दिने कि गलत सन्देश ¤ शासकहरूको गैरजिम्मेवारीपनका कारण जनताले असल शासनको अनुभूति गर्न पाएका छैनन् । शासकहरू मुलुक र जनताप्रति जवाफदेही भएर लागिरहेका छैनन् । यो देशको लागि विडम्बना हो । यसरी नै देशको राजनीति अघि बढेमा देश समृद्धि हुनेछैन, नेपाली जनता सुखी हुनेछैनन् । सरकारको काम कारबाही जनमुखी हुनुपर्छ । शासकहरूको धारणा स्पष्ट हुनुपर्छ । शासकहरू द्वैधचरित्रको हुनुहुँदैन । राष्ट्रपति चयनको सन्दर्भमा शासक दलका नेताहरूको विचार स्पष्ट छैन ।
राष्ट्रपति स्वच्छ छविको हुनुपर्छ । कसैको दबाब र प्रभावमा नपरी विवेक पु¥याएर निर्णय गर्न सक्ने राष्ट्रपति चयन गर्नुपर्छ । संविधान पनि पालना गर्ने, देशको छविमा दाग नलाग्ने गरी काम गर्ने, नेपालको अस्तित्वमा असर नपु¥याउने राष्ट्रपति देशको आवश्यकता हो । एकले अर्काेलाई उचाल्ने, थचार्ने, विश्वासघात गर्ने राजनीतिले सही निकास दिन सक्दैन† योग्य राष्ट्रपति चयन गर्न सक्दैन । देशको आर्थिक अवस्था जर्जर हुनु, देशको राजनीति सङ्कटमा पर्नु र लामो समयसम्म अनिर्णयको बन्दी बन्नुको कारण शासकहरूको सही राजनीति नहुँदाको परिणाम हो । यही कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको १३ वर्ष बितिसक्दा पनि जनताले शासन व्यवस्थाको वास्तविक अनुभूति गर्न सकेका छैनन् । शासकहरू अझै चेतिएका छैनन् । सही राजनीति गरेर जनताको विश्वास जित्नुको सट्टा छलछाम, षड्यन्त्र, लोभलालचको राजनीतिमा शासकहरू फसिरहेका छन् । शासकहरूले सही राजनीति नगरेसम्म, दलका नेताहरू देश र जनताप्रति जिम्मेवार नबनेसम्म देशले विकासमा कोल्टो फेर्न सक्ने छैन । अतः राष्ट्रपति पदलाई भागबन्डाको अंश नबनाइयोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *