भर्खरै :

रुसी क्रान्तिका नेतृ नाडेज्दा क्रुप्स्काया (१८६९–१९३९) को सङ्क्षिप्त चर्चा

रुसी क्रान्तिका नेतृ नाडेज्दा क्रुप्स्काया (१८६९–१९३९) को सङ्क्षिप्त चर्चा

आज पश्चिमका केहि व्यक्तिहरूले मात्र नाडेज्दा क्रुप्स्कायाको नाम सुनेका भए पनि उहाँले रुसी क्रान्तिमा सक्रिय एवम् नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । उहाँका समकालीन अन्य महिलाहरू जस्तै अलेक्जान्ड्रा कोलोन्ताई अथवा रोजा लक्जेम्बर्गजस्तो अन्तर्राष्ट्रियरूपमा प्रख्यात नभए पनि क्रुप्स्काया तीस वर्षसम्म बोल्सेभिक कम्युनिस्ट पार्टीको नेतृत्वमा हुनुहुन्थ्यो । उहाँ १९३९ मा आफ्नो मृत्यु हुँदासम्म साम्यवादको उद्देश्य प्राप्तिको लागि अनवरतरूपले काम गरिरहनुभयो ।
क्रुप्स्काया रुसी अक्टोबर समाजवादी क्रान्तिका नायक लेनिनकी पत्नी हुनुहुन्थ्यो । तर, उहाँ लेनिनकी पत्नीमात्र हुनुहुन्थेन, उहाँ लेनिनकी आजीवन क्रान्तिकारी सहयोद्धा र सहपाठी पनि हुनुहुन्थ्यो ।

सुरुका वर्षहरू :
प्रजातन्त्रप्रति आस्था राख्ने एक अधिकृतकी छोरीको रूपमा उहाँको जन्म सन् १८६९ मा भएको थियो । उहाँ १४ वर्षको उमेरमै आफ्नो परिवारका गरिबीका कारण जीवनयापनको लागि शिक्षिका बन्नुभयो । स्कूलको राम्रो नतिजाको कारण उहाँ सेन्ट पिटर्सवर्गमा सञ्चालन हुने शिक्षक प्रशिक्षणमा छानिनुभयो, जुन त्यसबेला महिलाको लागि एकमात्र तालिम लिने ठाउँ थियो । त्यहाँ उहाँ माक्र्सवादी विचारधारा भएका व्यक्तिहरूको सम्पर्कमा आउनुभयो । त्यहाँ उहाँले औद्योगिक क्षेत्रमा रात्री पाठशाला सञ्चालन गर्नुभयो ।
उहाँले सन् १८९१–१८९६ सम्म पढाउनुभयो । त्यस समयमा उहाँले मजदुरहरूबिच क्रान्तिकारी विचार प्रचार गर्नुभयो र सेन्ट पिटर्सवर्गका मजदुर मुक्तिको लागि सङ्घर्षरत युनियन गठन गर्न सहयोग गर्नुभयो । सन् १८९६ मा उहाँ गिरफ्तार हुनुभयो र सन् १८९८ मा ३ वर्षको लागि दुर्गम प्रान्तमा निर्वासित हुनुभयो । त्यसै अवधिमा निर्वासनमै रहनुभएका लेनिनसँग विवाह गर्नुभयो ।

लामो समयसम्मको निर्वासन :
जारशाहीको दबाबका कारण क्रुप्स्काया र लेनिन सन् १९०१–१९०५ सम्म र सन् १९०७– १९१७ सम्म रसिया बाहिर बस्नुभयो । युरोपको निर्वासनमा रहेको समयमा क्रुप्स्कायाले विना थकान अनेकौँ कामहरू गर्नुभयो । उहाँ इस्क्रा (झिल्को) पत्रिकाको सचिव हुनुहुन्थ्यो, जुन समाजिक प्रजातन्त्रवादी पार्टी (यो त्यसबेलासम्म बोल्सेभिक र मेन्सेभिकमा विभाजित भइसकेका थिएनन्) को पहिलो अवैधानिक पत्रिका थियो । यो पत्रिकाले क्रान्तिकारी रुसी माक्र्सवादीहरूलाई एकताबद्ध गर्न एउटा सङ्गठकको भूमिका निर्वाह गरेको थियो ।
क्रुप्स्कायाको हातले प्रतिमहिना करिब ३ सय चिठीहरू पठाउनुपर्दथ्यो । जसलाई जार प्रहरीको आँखा नपर्ने गरी साङ्केतिक भाषामा लेख्नुपर्दथ्यो । उहाँ रुसी सामाजिक प्रजातन्त्रवादी पार्टीको केन्द्रीय समितिको विदेश विभागको सचिव पनि हुनुहुन्थ्यो । उहाँले सन् १९०३–१९०६ सम्म धेरै सम्मेलनहरूमा पार्टी प्रतिनिधिको रूपमा भाग लिनुभयो ।
सन् १९०५ मा रसियामा भएको प्रजातान्त्रिक आन्दोलन लगातार बढिरहेको थियो । यसले पार्टीलाई अर्ध–वैधानिकता प्रदान ग¥यो जसको परिणामस्वरूप लेनिन र क्रुप्स्कायालाई छोटो समयको लागि रसिया फर्कन छुट भयो । त्यस अवधिमा क्रुप्स्कायाले सुरुमा सेन्ट पिटर्सवर्ग र पछि फिनल्यान्डमा केन्द्रीय समितिको सचिवको रूपमा काम गर्नुभयो । तर, सन् १९०५ को पुँजीवादी प्रजातान्त्रिक आन्दोलनलाई जारले दमन गर्यो र लेनिन एवम् त्रुप्स्कायालाई पुनः युरोपमा निर्वासित हुन बाध्य पारियो ।

शिक्षाशास्त्री एवं सङ्गठनकर्ता :
सन् १९१०–१९१३ को बिचमा क्रुप्स्कायाले शैक्षिक सुधारबारे दर्जनौँ लेखहरू लेख्नुभयो । यसले उहाँलाई पार्टीभित्र एउटा नेतृत्वकारी शिक्षाविद्को रूपमा स्थापित गर्यो । उहाँले पार्टीको अवैधानिक समाचारपत्रको सम्पादक मण्डलको सचिव एवं पार्टी स्कूलको प्रशिक्षकको रूपमा काम गर्नुभयो । उहाँ कैयौँ सम्मेलनहरूमा पार्टी प्रतिनिधि बन्नुभयो र समाजवादी युवक सङ्गठनहरू निर्माण गर्न सहयोग गर्नुभयो । उहाँ सन् १९१५ मा स्वीजरल्यान्डमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा भाग लिने बोल्सेभिक प्रतिनिधिहरूमध्येको एकजना हुनुहुन्थ्यो ।
सन् १९१७ को फेब्रुअरीमा भएको पुँजीवादी क्रान्तिपछि उहाँ रसिया फर्कनुभयो र नगर सल्लाहकारको रूपमा निर्वाचित हुनुभयो । उहाँले सेन्ट पिटर्सवर्गको श्रमिक क्षेत्रमा शैक्षिक सङ्गठनकर्ताको रूपमा काम गर्नुभयो ।
अक्टोबर क्रान्ति हुनेबेला लेनिन फिनिस सीमाक्षेत्रमा गुप्तवासमा जानुभयो । त्यसबेला क्रुप्स्कायाले केन्द्रिय समिति, पार्टीको पिटर्सवर्ग समिति र सैन्य क्रान्तिकारी समितिहरूलाई लेनिनको निर्देशनहरू भएका चिठ्ठीहरू पठाउने खतरापूर्ण कामहरू गर्नुभयो ।

साक्षरता अभियान :
अक्टोबर क्रान्तिपछि क्रुप्स्काया शैक्षिक जन समितिको सदस्य बन्नुभयो र सार्वजनिक शिक्षाको पहिलो निर्देशिका तयार पार्न सहयोग गर्नुभयो । उहाँ प्रौढ शिक्षा र साक्षरता अभियानलाई बढाउन जोड दिनुहुन्थ्यो । यसअनुसार निरक्षरताविरुद्ध लड्न ३० हजारभन्दा बढी कक्षाहरू सञ्चालन गरिए । सन् १९१९ मा माक्र्सवादी समूहको प्रमुखको रूपमा समाजवाद निर्माणको लागि अघि बढ्न प्रवचन दिँदै, फिल्महरू देखाउँदै र समाचारपत्र एवं पर्चाहरू वितरण गर्दै देशव्यापी भ्रमण गर्नुभयो । चरम खाद्य सङ्कट एवं गृहयुद्ध चलिरहेको समयमा यस्तो भ्रमण गर्ने काम सजिलो थिएन ।
लेनिनको मृत्युपछि क्रुप्स्कायाले ‘लेनिनको सम्झनामा’ शीर्षकमा लेनिनको जीवनसम्बन्धी महत्वपूर्ण पुस्तक लेख्नुभयो । निःसन्देह, उहाँ एउटा महान पार्टी कार्यकर्ता र शैक्षिक सिद्धान्त र प्रयोगको क्षेत्रको नेतृ हुनुहुन्थ्यो । तर, लेनिन र स्तालिनजस्तो माक्र्सवादी सिद्धान्तकार भने हुनुहुन्थेन ।

ट्राटस्की – झिनोवेभ पक्षमा सामेल :
लेनिनको मृत्युपछि क्रुप्स्काया बोल्सेभिक पार्टीभित्रको फ्याक्सनमा सामेल हुनुभयो जसलाई ‘नयाँ प्रतिपक्ष’ भनेर चिनिन्थ्यो । यस गुटको नेतृत्व मेन्सेभिक नेता ट्राटस्कीले गरिरहेका थिए जसको विरुद्ध लेनिनले कैयौँ सैद्धान्तिक लडाइँहरू लड्नुभएको थियो । वास्तवमा ट्राटस्की अक्टोबर क्रान्तिभन्दा केही हप्ता पहिलेमात्र बोल्सेभिक पार्टीमा प्रवेश गरेका थिए ।
यस समूहको नेतृत्वमा बोल्सेभिक पार्टीमा लामो समयदेखि सदस्य रहिरहेका झिनोवेभ र कामेनेभ पनि थिए जसले अक्टोबरमा भएको समाजवादी विद्रोहको विरुद्धमा मतदान गरेका थिए र सशस्त्र विद्रोहको निर्धारित मितिलाई सार्वजनिक गरी खुलारूपले विरोधमा उत्रिएका थिए । यस गद्दारीको परिणामस्वरूप पराजयबाट बच्न उहाँले विद्रोहलाई अगाडि सार्नुपर्यो । उनीहरूले केन्द्रीय समितिको निर्णयप्रति गद्धारी गरेको कुरा लनिनले घोषणा गर्नुभयो र उनीहरूलाई पार्टीबाट निष्कासन गरियो ।
त्यस प्रतिपक्ष गुटले क्रुप्स्काया उनीहरूको पक्षमा भएकोले राजनैतिक फाइदा उठाई सन् १९२५ को १४ औँ पार्टी कङ्ग्रेसमा समाजवाद निर्माणको सम्भावनालाई नकार्दै प्रतिवेदन पेश गर्यो र औद्योगिकीकरण गर्ने पार्टीको नीतिमा अवरोध खडा गर्यो । तर, लेनिनले युरोपियन क्रान्तिले रसियालाई अनुशरण नगरेमा एउटामात्रै देशमा भए पनि समाजवाद स्थापना गर्नुपर्ने कुरा वर्षौँ पहिले लेखिसक्नुभएको थियो – ( हेर्नुहोस् – लेनिन ः संयुक्त राज्य युरोप–१९१५)
स्तालिनले सोभियत सङ्घमा समाजवाद स्थापना गर्ने लेनिनको कार्यक्रमलाई अगाडि बढाउनुभयो । उहाँले औद्योगिकीकरण सामूहिकीकरण अभियानको नेतृत्व गर्नुभयो । उहाँ नयाँ प्रतिपक्ष (जसको अवस्था कमजोर थियो) को विरुद्धमा दृढरूपले उभिनुभयो । स्तालिनले पूर्ण बहुमत पार्टी सदस्यहरूको समर्थन प्राप्त गर्नुभयो र नयाँ प्रतिपक्षको लाइन पूर्णतः अस्वीकृत भयो ।
आफ्नो क्रान्तिकारी नीतिको निरन्तरतालाई ध्यानमा राख्दै लेनिनले विभिन्न सदस्यहरूको वर्गीकरण गरी केन्द्रीय समितिलाई लेख्नुभएको थियो । स्तालिनको बारेमा उहाँको आलोचना यो थियो कि नेतृत्वदायी सदस्यहरूले उहाँलाई छाने पनि उहाँ महासचिव पदको लागि ज्यादै सोझो हुनुहुन्छ । तर, ट्राटस्कीको लामो मेन्सेभिक इतिहास छ । सम्मेलनको पूर्ण बहुमतले लामो समयदेखिका बोल्सेभिक नेता स्तालिनलाई लेनिनको उत्तराधिकारीको रूपमा चयन ग¥यो ।
लेनिनको मृत्युपछि क्रुप्स्कायाले बुखारीनको समर्थन गर्न पुग्नुभयो । तर, स्तालिनको नीतिको सच्चाइ बुझेपछि उहाँले प्रतिपक्ष छाडेर स्तालिनको पक्षमा द¥होसँग लाग्नुभयो ।
ट्राटस्कीवादीहरूको प्रतिक्रान्तिकारी स्वरूपलाई बुझेर क्रुप्स्कायाले प्रतिपक्ष गुट छाडी त्यसको विरोधी भएको छोटो समयपछि सन् १९२६ अक्टोबर १६ मा उनीहरूले आफ्नो गल्तिको क्षमा याचना गर्दै अब त्यस्तो गुटबन्दीमा नलाग्ने प्रतिबद्धता जाहेर गर्दै वक्तव्य निकाले । उनीहरूले त्यो वक्तव्य कङ्ग्रेसमा भएको लज्जास्पद पराजय र कम्युनिस्ट श्रमिकहरूबाट भएको भत्र्सनाले गर्दा हिनताबोधको कारणबाट पनि निकालेका थिए ।

शालिक होइन स्कूल बनाऔँ :
क्रुप्स्कायाले आफ्नो बाँकी जीवनमा बोल्सेभिक पार्टीको धेरै नेतृत्वदायी पदहरू सम्हाल्नुभयो । उहाँले बालबालिकाको स्याहारमा गरिने बेवास्ताविरुद्ध र पूर्व स्कूल शिक्षालाई बढाउन अभियानहरू सञ्चालन गर्नुभयो । उहाँले प्रवचनहरू दिने, लेखहरू लेख्ने र फ्याक्ट्रीहरूको बैठक र सम्मेलनहरूमा भाषण गर्ने काममा कडा मेहनत गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय आन्दोलनमा पनि अहम् भूमिका निर्वाह गर्नुभयो । उहाँ कम्युनिस्ट इन्टरनेसनलको ४ वटा कङ्ग्रेसमा प्रतिनिधि बन्नुभयो ।
क्रुप्स्काया आफ्नो श्रीमान्को शालिक र स्मारकहरू बनाउने कामको विरोधी हुनुहुन्थ्यो । लेनिनको मृत्युपछि उहाँले किसान तथा मजदुरहरूको नाममा एउटा वक्तव्य निकाल्नुभएको थियो जसमा उहाँले लेख्नुभएको थियो :
यदि तपाईँहरूले भ्लादिमिर इलिच लेनिनको नामलाई गौरवान्वित गर्न चाहनुहुन्छ भने डे नर्सरीहरू, नर्सरी स्कूलहरू, बाल–गृहहरू, स्कूलहरू, पुस्तकालयहरू, क्लिनिकहरू, अस्पतालहरू, व्यक्तिगत घरहरूलाई सङ्गठित गर्नुहोस् र उहाँको उपदेशलाई सर्वत्र व्यवहारमा लागु गरौँ ।
आफ्नो मृत्यु नहुँदासम्म झन्डै ५० वर्ष उहाँले यो कार्य गर्नुभयो । उहाँले आफूलाई सदा समाजवादको उद्देश्य प्राप्तिको लागि समर्पित गर्नुभयो ।

सम्पादकीय टिप्पणीहरू :
१. उहाँको पुरा नाम नाडेज्दा कोन्स्तान्तिनोभ्ना क्रुप्स्काया थियो ।
२. सेन्ट पिटर्सवर्गमा नाडेज्दा क्रुप्स्काया लेनिनको नेतृत्वमा गठित माक्र्सवादी अध्ययन समूहको सम्पर्कमा आउनुभयो । त्यहाँ उहाँले सर्वप्रथम सन् १८९४ मा लेनिनलाई भेट्नुभएको थियो । उहाँ सन् १८९८ देखि पार्टी सदस्य हुनुभयो ।
३. सेन्ट पिटर्सवर्ग लिग अफ स्ट्रगलसँग सम्बन्धित भएको कारण उहाँलाई ७ मे १८९८ का दिन ३ वर्षका लागि निर्वासन गरियो ।
४. १० जुलाई १८९८ मा लेनिनसँग विवाह गर्नुभयो ।
साभार : ‘विश्व प्रसिद्ध महिलाका जीवनी र कार्यहरू’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *