भर्खरै :

नेमकिपा दैलेखको १४ औँ जिल्ला सम्मेलन सम्पन्न वलीको अध्यक्षतामा जिल्ला समिति गठन

नेमकिपा दैलेखको १४ औँ जिल्ला सम्मेलन सम्पन्न वलीको अध्यक्षतामा जिल्ला समिति गठन

दैलेख, १३ फागुन । नेपाल मजदुर किसान पार्टीको १४ औँ जिल्ला सम्मेलन जगत वलीको अध्यक्षतामा १८ सदस्यीय नयाँ नेतृत्व चयन गरेर समापन भएको छ ।
शुक्रबार र शनिबार सम्पन्न नेमकिपा, दैलेखको सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरेको छ ।
नवनिर्वाचित कार्यसमितिलाई बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष एवम् नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टीको विधानअनुसार शपथग्रहण गराउनुभएको थियो । सचिव सुवालले सर्वसम्मत्तिमा निर्वाचित नयाँ कार्यसमितिलाई बधाई दिँदै पार्टीको सिद्धान्तबाट शिक्षित र सचेत गराएर जनताको सङ्गठन विस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नवनिर्वाचित जिल्ला समितिका सबै सदस्यहरू देश र जनताको इमानदारीपूर्वक सेवामा अग्रसर हुने विश्वास व्यक्त गर्नुुभयो ।
पार्टीका केन्द्रीय सदस्य नर्मा गुरूङले नवनिर्वाचित कार्यसमितलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष जगत ओलीले पार्टीको विधानअनुसार इमानदारीसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बन्दसत्रमा नेमकिपाका सचिव प्रेम सुवालले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा प्रशिक्षण दिनुभएको थियो । नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाको विधान र अनुशासन र नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले मानव समाजको विकासक्रमबारे प्रशिक्षण दिनुभएको थियो ।
बन्दसत्रमा विभिन्न पालिका समिति, जनवर्गीय सङ्गठनका जिल्ला समितिले आफ्नो गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेको थियो ।
सम्मेलनले किसानको निम्ति सस्तो र गुणस्तरीय मल सुलभ तरिकाले व्यवस्था गर्न माग गरेको छ । देशघाती नागरिकता विधेयक अविलम्ब खारेज गर्नुपर्ने, नेपाली युवालाई भाडाको सिपाहीँ बनाउने सन् १९४७ को गोर्खा भर्ती र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि अविलम्ब खारेज गर्नुपर्ने, खुला सीमा नियमन र बन्द गर्नुपर्ने, महाकाली नदीको धार नेपालतिर धकेलेर भारतले बनाएको तटबन्ध तत्काल भत्काउनुपर्ने, नेपाली भूमि कालापानी कब्जा गरी बसेका भारतीय सेनालाई तत्काल हटाउनुपर्ने प्रस्ताव पारित ग¥यो ।
नेमकिपा दैलेखले दुर्गम जिल्लाहरूमा यातायातको व्यवस्था गरी आवागमन सहज गर्नुपर्ने, नयाँ शैक्षिक वर्षका लागि समयमै पाठ्यपुस्तक पु¥याउन सरकारको ध्यानाकर्षण गरेको छ । महिला हिंसाका जघन्य अपराधीहरूलाई मृत्युदण्डसमेतको कानुनी प्रावधानको बन्दोबस्त गर्न र महिलामा आत्मबल विकासको लागि विद्यालय तहदेखि नै खेलकुदको विषयलाई अनिवार्य गर्न, जङ्गली जनावरले गर्दा किसानले लगाएको बाली नष्ट भएकोले वन्यजन्तुको नियन्त्रण गर्न र दैलेख जिल्लामा उत्खनन हुने पेट्रोलियम पदार्थको अन्वेषणबारे यथार्थ जानकारी स्थानीय जनतालाई दिनुपर्ने माग गरिएको छ ।
नेमकिपा, दैलेखले युक्रेनलाई रणभूमि बनाउने र एसियालाई अन्त्यहीन युद्धमा फसाउने अमेरिकी साम्राज्यवादको युद्ध सरदार नीतिको विरोध गरेको छ । क्युवा र प्रजग कोरियामाथिको नाकाबन्दी खारेज गर्नसमेत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *