भर्खरै :

ज्येष्ठ नागरिक समाजका अगुवा र प्रेरणाका स्रोत

ज्येष्ठ नागरिक समाजका अगुवा र प्रेरणाका स्रोत

भक्तपुर, १३ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहारा हेरचाह केन्द्र सृजनानगरको १२ औँ वार्षिकोत्सव कार्यक्रमको शनिबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
केन्द्रको वार्षिकोत्सवकै अवसरमा सहारा स्मारिका विमोचन गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले ज्येष्ठ नागरिकहरूको सहज जीवनयापनको लागि भनपा वडा नं. ६ मा आदर निकेतनको भवन निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । भक्तपुर नपाले सञ्चालन गर्ने आदर निकेतन पारिवारिक र धार्मिक वातावरणयुक्त बनाउने तयारीमा रहेको बताउँदै उहाँले ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको सेवा गर्ने हेरचाह केन्द्र नगरका सबै टोल टोलमा आवश्यक रहेको बताउनुभयो ।
ज्येष्ठ नागरिक आफैँमा समाजका एक अगुवा र ज्ञान तथा प्रेरणाको स्रोतको रूपमा रहेको उल्लेख गर्दै उहाँले पुँजीवादी समाजमा गरिब जनताको जीवनको कुनै मूल्य नहुने हुँदा समाजवादी व्यवस्था आजको आवश्यकता भएको बताउनुभयो ।
कोही व्यक्ति उमेरले बुढा भए पनि विचार र सोच कहिल्यै बुढो नहुने बताउँदै उहाँले भक्तपुर नपाले गरिब तथा असहाय व्यक्तिलाई आवश्यकताअनुसार निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आइरहेको छ भन्नुभयो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सविता अर्यालले सशक्त र ज्येष्ठ नागरिकको सेवा नै धर्म हो भन्दै सहारा हेरचाह केन्द्रको हरेक गतिविधिमा मन्त्रालय सँगसँगै सहयोगी भएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले ज्येष्ठ नागरिकको हकहितको विषयमा स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै ज्येष्ठ सदस्य हेरचाहको तालिम समुदाय र परिवारसम्म पुर्याउन सके अझ ज्येष्ठ सदस्यहरूको सेवा हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बर्सेनि लाखौँ विद्यार्थीहरूको अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम जारी रहेको चर्चा गर्दै युवालाई व्यापार व्यवसाय गर्न नगरपालिकाले उद्यमशील युवालाई सहुलियत दरमा ऋणको व्यवस्था गरेको बताउनुभयो ।
एजिङ नेपाल, काठमाडौँका कृष्णमुरारी गौतमले सहारा हेरचाह कन्द्रले प्रदान गर्दै आइरहेको सेवा सुविधा आफैँमा प्रशंसनीय कार्य रहेको बताउँदै ज्येष्ठ नागरिक समाजका सम्माननीय व्यक्तिको रूपमा रहेको उल्लेख गर्नुभयो ।
सहारा हेरचाह केन्द्रका अध्यक्ष सुन्दर सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रका सचिव प्रचण्ड कारञ्जित, जिल्ला ज्येष्ठ नागरिक सङ्घ भक्तपुरका अध्यक्ष कैलाशभक्त प्रधानाङ, इवामुरा कलेजका नर्सिङ डाइरेक्टर सानुमाया खड्का, मोर्डन स्कूलका प्रअ अनिल कसपाल, राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र प्रधान, सहारा स्मारिकाका प्रधान सम्पादक धनमान श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, मतिना त्वानाबासु र केन्द्रका व्यवस्थापक कल्पना बोयजूले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले सहारा हेरचाह केन्द्रका ४ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । अन्य अतिथिहरूले केन्द्रलाई भौतिक तथा खाद्यान्न सामग्री प्रदान गर्ने सहायोगी दाताहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *