भर्खरै :

विदेशउन्मुख शिक्षा नभई देश र समाज सुहाउँदो शिक्षा प्रदान गर्नु आवश्यक

विदेशउन्मुख शिक्षा नभई देश र समाज सुहाउँदो शिक्षा प्रदान गर्नु आवश्यक

भक्तपुर, १७ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालय तथा कलेजहरूले विदेशउन्मुख शिक्षा नभई हाम्रो देश र समाज सुहाउँदो शिक्षा प्रदान गर्नु आवश्यक भएको बताउनुभयो ।
समाज सुधार माध्यमिक विद्यालयको ५२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले समाज सुधार मावि सिङ्गो समाजलाई शिक्षाको माध्यमबाट परिवर्तन गर्ने दीर्घकालीन सोचका साथ अगाडि बढिरहेको भक्तपुरको पुरानो सामुदायिक विद्यालय भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयहरूलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार निर्माण, आर्थिक अनुदान, शिक्षक तालिमलगायत विविध गतिविधि सञ्चालन गर्दै आएको चर्चा गर्दै उहाँले राजनैतिक नेतृत्वको दूरदर्शी सोचकै कारण भक्तपुर आज देशकै सफा र शिक्षित नगरको रूपमा विकास भएको बताउनुभयो ।
अभिभावकहरू सामुदायिक शिक्षा राम्रो नभएको भन्दै निजी कलेजहरूमा महँगोमा आफ्ना बालबालिकाहरूलाई पढाउन बाध्य भइरहेको उल्लेख गर्दै उहाँले भक्तपुरका सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर तुलनात्मकरूपमा माथि उठिरहेको र त्यहाँ अध्ययनरत विद्यार्थी सङ्ख्या पनि सन्तोषजनक रहेको बताउनुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले ५२ वर्ष सफलतापूर्वक पार गरेको समाज सुधार माविले आगामी दिनहरूमा अझ प्रगतिउन्मुख भई अगाडि बढ्ने विश्वास व्यक्त गर्दै भूतपूर्व विद्यार्थी र शिक्षकहरूले विद्यालयबारे आफ्नो अनुभव नयाँ विद्यार्थीहरूको लागि लिपिबद्ध गरिनु आवश्यक भएको बताउनुभयो ।
राजनीतिक अस्थिरताले देश झन्झन् पछाडि धकेलिँदै गएको धारणा राख्दै उहाँले अस्थिर र अवसरवादी राजनीतिक नेतृत्वले देशको भन्दा व्यक्तिको हित र स्वार्थलाई प्राथमिकतामा राखी काम गर्छन् जुन देशको लागि घातक हुने बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले जातीय, भाषिक र क्षेत्रीय सद्भावले हाम्रो समाज निर्माण हुने भएकोले विद्यार्थीहरूको पहिलो शिक्षक अभिभावक भएको र अभिभावकले विद्यार्थीहरूलाई असल नागरिक बन्न सधैँ प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले शिक्षाले देश विकाससँगै देशको अर्थतन्त्रसमेत बलियो पार्ने उल्लेख गर्दै सामुदायिक विद्यालयको स्तर वृद्धि भए गरिब जनताका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्न सहज हुने बताउनुभयो ।
समाज सुधार माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रअ जगन्नाथ प्रजापतिले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संयुक्त परीक्षा समितिका अध्यक्ष श्रीकृष्ण किसी, पूर्व प्रअ लक्ष्मीनारायण दुवाल, संस्थापक शिक्षक कान्छा बासुकला, अभिभावक प्रतिनिधि रविन बोहजू, भूतपूर्व विद्यार्थी डा. शर्मिला गाइजु, विद्यार्थी प्रतिनिधि सुहाना कार्कीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले विद्यालयका उत्कृष्ट विद्यार्थी र अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *