भर्खरै :

शान्ति निकेतन माविको ५३ औँ वार्षिकोत्सव तथा शिक्षक सम्मान समारोह

शान्ति निकेतन माविको ५३ औँ वार्षिकोत्सव तथा शिक्षक सम्मान समारोह

भक्तपुर, १७ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राममन्दिरमा अवस्थित शान्ति निकेतन माविको ५३ औँ वार्षिकोत्सव कार्यक्रमको बुधबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यालयका उत्कृष्ट शिक्षक निवर्तमान प्रअ महेन्द्रगोपाल कर्माचार्य र अवकाश प्राप्त शिक्षकहरूलाई दोसल्ला र सम्मानपत्रले अभिनन्दन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले राज्यको पूर्ण दायित्वअन्तर्गत पर्ने शिक्षा व्यापारमा परिणत हुँदा कामदार वर्गका बालबालिकाहरू उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएको बताउनुभयो ।
सामुदायिक विद्यालयप्रतिको जनताको आकर्षण बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पैसा कमाउनको लागि नभई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाले शिक्षा हासिल गराउन विद्यार्थीलाई उत्प्रेरित गराउनुपर्नेमा जोड दिनुभयो ।
धेरै प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदैमा विद्यालय राम्रो नहुने धारणा राख्दै उहाँले किताबी ज्ञानका अतिरिक्त व्यवहारिक र समाजउपयोगी ज्ञान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रमुख प्रजापतिले कमजोर विद्यार्थीहरूलाई अरूको दाँजोमा अगाडि बढाउन शिक्षकहरूले थप मेहनत गर्नैपर्ने बताउनुभयो ।
शान्ति निकेतन माविका निवर्तमान प्रअ महेन्द्रगोपाल कर्माचार्यले पद भनेको जिम्मेवारीसँग जोडिएको विषय भएको र आफ्नो काम र कर्तव्यप्रति न्याय गर्न सक्दा समाजबाट समेत राम्रो मूल्याङ्कन हुने अनुभव सुनाउनुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउन सके विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने चर्चा गर्दै भनपाले नगरवासीहरूलाई स्वस्थ स्फूर्त राख्न नगरका ठाउँठाउँमा निःशुल्क खुला व्यायामशाला स्थापना गरेको बताउनुभयो ।
विद्यालयका प्रअ विजयराम प्रजापतिले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रतिकूलताबिच अनुकूलता खोज्दै शान्ति निकेतनले विद्यार्थीहरूलाई प्राप्त स्रोतसाधन र जनशक्ति प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको र हाल यस शैक्षिक वर्षमा यस विद्यालयमा ३७ जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चवाल, शान्ति निकेतन पूर्वविद्यार्थी समाजका अध्यक्ष अच्युत प्रजापति, सहायक प्रअ इन्द्रकुमार साखलगायतले कार्यक्रममा बोल्नुभएको थियो ।
वार्षिकोत्सवकै अवसर पारेर उक्त कार्यक्रममा चित्रकला प्रतियोगिताका विजेता, नारायणीशङ्कर मानन्धर शिक्षा पुरस्कार, वर्ष उत्कृष्ट विद्यार्थी सम्मान, किसमाया रणशङ्कर स्मृति पुरस्कार, रमा–मीना उत्कृष्ट शिक्षा पुरस्कारलगायत विभिन्न शीर्षकमा पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *