भर्खरै :

असल, इमानदार र देशभक्त नागरिक तयार गर्नु आवश्यक

विद्यालय देशको लागि आवश्यक जनशक्ति तयार गर्ने थलो हो । यतिबेला देशको गाउँ–ठाउँ, कुना–कन्दरा, बस्तीबस्तीमा वैज्ञानिक शिक्षा पु¥याउनुपर्ने आवाज बुलन्द भइरहेको छ । जनताका छोराछोरीको चेतना जगाउने, चेतनाको लहर फैलाउने, अन्धविश्वास, कुरीति, विकृति हटाएर एक आदर्शोन्मुख समाज बनाएर सभ्य, सुसूचित नागरिकहरू तयार गर्नुपर्ने देशको आवश्यकता हो । विद्यार्थीलाई सत्मार्गमा लगेर देशको लागि आवश्यक जनशक्ति तयार गरेर विवेकशील समाज बनाउन विद्यालयमा शिक्षकको महत्वपूर्ण स्थान हुन्छ । विद्यार्थीको ज्ञान, सीप, मनोवृत्ति, रूचि, योग्यता, क्षमता समेटी सर्वाङ्गीण विकासमा टेवा पु¥याउन सोही बमोजिमको पाठ्यक्रमको आवश्यकता हुन्छ । विद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाले मात्र ज्ञानको क्षितिजलाई फराकिलो पार्न नसक्ने हुँदा थप नवीनतम ज्ञान, सीप, विकास गर्न र मानवीय चाहना समय अनुकूल बनाउन विद्यालयमा सन्दर्भ सामग्रीहरूको खाँचो हुन्छ र त्यो विद्यालयले व्यवस्थापन गर्नुपर्छ ।
यतिबेला सामुदायिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम भइरहेको छ । वागीश्वरी मावि, ब्रह्मायणी आधारभूत विद्यालय, आदर्श आजाद मावि, समाज सुधार माविमा सहभागी अतिथि, समाजसेवी, बुद्धिजीवी तथा शिक्षकहरूले यस्तै विचार व्यक्त गरे । विद्यालय असल, योग्य, सक्षम, देशभक्त, अनुशासित अध्ययनशील बनाउने थलो भएकोले पनि शिक्षक, अभिभावक, बुद्धिजीवी र गन्यमान्यहरूको यसतर्फ ध्यान जानु स्वाभाविक हो । देशका शासकहरू देशभक्त, दूरदर्शी र देश र जनताप्रति चिन्तन नहुँदा देशको शैक्षिक स्थिति चित्तबुझ्दो छैन । एकातिर देशको शिक्षा व्यवस्था गतिलो छैन भने अर्कोतिर शासकहरूकै लापरबाहीको कारण देश विदेशी शक्ति राष्ट्रहरूको खेल मैदान बन्दै छ । शासकहरूको राजनीति भागबन्डा र सत्तामुखी राजनीतिमा केन्द्रित हुँदा देशको अखण्डता र सार्वभौमसत्तामा आँच पुगिरहेको छ । यस्ता विचारहरू प्रत्येक विद्यालयका विद्यार्थीबिच पु¥याउनु जरूरी छ । यस्तो कुरा विद्यार्थीमाझ पु¥याइँदैन, शिक्षक र अभिभावकबिच छलफल, अन्तरक्रिया हुँदैन, तद्नुसार विद्यार्थीलाई सचेत पार्दैन भने देशमा कसरी असल, देशभक्त र कर्तव्यनिष्ठ नागरिक तयार हुन्छ, दक्ष जनशक्ति तयार हुन्छ ?
विद्यार्थी जीवनकालदेखि नै घुस खान नहुने, अनियमित कार्य गर्न नहुने, देशविरोधी भावना फैलाउन नहुने विचार शिक्षक र अभिभावकले दिनुपर्छ । उनीहरूमा देशभक्तिपूर्ण भावना जगाउनुपर्छ । विदेशी थिचोमिचो र सीमा अतिक्रमणविरोधी भावना जगाउनुपर्छ । समयमै यस्तो विचार प्रवाह गरिएन भने कुनै देशले नेपालमा आक्रमण गरेमा, थिचोमिचो गरेमा विद्यार्थीहरू उठ्ने छैनन्, देश जोगाउन सङ्घर्ष गर्ने छैनन् । पढ्दैमा, उच्च शिक्षा हासिल गर्दैमा कुनै विद्यार्थी सक्षम, योग्य, असल देशभक्त हुन्छ भन्ने होइन । उनीहरूलाई चरित्रवान बनाउने, अनुशासित बनाउने, कर्तव्यनिष्ठ, जिम्मेवार नागरिक बनाउने काम शिक्षक, अभिभावक र समाजका प्रतिष्ठित समुदायको हो । शिक्षकले विद्यार्थीलाई समयमा सही मार्ग देखाएनन् भने उनीहरू देश र जनताप्रति जिम्मेवार बन्दैनन् । यसकारण, विद्यार्थीलाई सचेत पार्ने, विचारबाट सुसूचित पार्ने काम गरिरहनुपर्छ । देशप्रेमको भावना जगाउनुपर्छ, असल र इमानदार नागरिक तयार गर्नुपर्छ । यस्तै यस्तै विचार सामुदायिक विद्यालयका वार्षिकोत्सवमा व्यक्त हुनु स्वागतयोग्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *