भर्खरै :

“सेवाको भावनाले काम गर्ने चिकित्सकलाई जनताले सम्मान गर्छन्” – रोहित

“सेवाको भावनाले काम गर्ने चिकित्सकलाई जनताले सम्मान गर्छन्” – रोहित

भक्तपुर, २० फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनताको सेवा गर्ने भावनाले काम गर्ने चिकित्सकलाई जनताले सम्मान गर्छन् भन्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा शनिबार आयोजित स्वास्थ्यकर्मीहरूको भेलामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “समाजमा पैसा कमाउने उद्देश्य राख्ने र सेवा गर्ने भावनाले काम गर्ने दुई थरीका चिकित्सक हुन्छन् । सेवा गर्ने भावनाले काम गर्ने चिकित्सकहरू जनताका आँखामा असल डाक्टर हुन्छन् ।”
लामो समयपछि भक्तपुर आउनुभएका डाक्टर अशोकानन्द मिश्रकाबारे चर्चा गर्दै उहाँले बिरामीको घर–घरमा गएर सेवा गर्ने, बिरामीको अवस्था बुझ्ने र अन्य चिकित्सकहरूको काम गर्ने शैलीबारे जानकारी राख्ने एक असल डाक्टर हुनुहुन्छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले डा. मिश्र अत्यन्त अध्ययनशील चिकित्सक भएको बताउँदै अस्पतालमा कार्यरत चिकित्सकहरूले पनि निरन्तर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफू भारतमा प्रवास जीवन बिताइरहेको बेला गोली लागेर घाइते भएको बेला डा. मिश्रले गर्नुभएको सहयोगको स्मरण गर्नुभयो ।
कार्यक्रममा डा. अशोकानन्द मिश्रले ख्वप अस्पतालका स्वास्थ्यकर्मीहरूसँग भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै चिकित्सकहरूले औषधि लेख्ने बेलामा बिरामीको आर्थिक अवस्थालाई ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर अस्पतालमा काम गर्दा हनुमानघाटबाट फर्काएर लगेर कैयौँ बिरामीहरूको उपचार गरेको स्मरण गर्दै आफूले सिकाउनुभन्दा भक्तपुरका जनताबाट सिक्न चाहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सम्भव भएसम्म अबको केही महिनापछि भक्तपुर आउँछु, ख्वप अस्पतालका चिकित्सकहरूसँगै काम गर्छु र मैले सिकाउनुभन्दा भक्तपुरका जनताबाट सिक्न चाहन्छु ।” ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले अस्पतालमा वरिष्ठ चिकित्सक डा. मिश्रलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै नयाँ पुस्ताले उहाँको अनुभवबाट धेरै सिक्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले नेमकिपाको निर्वाचन घोषणापत्रबमोजिम नगरवासीहरूको स्वास्थ्य सेवा छिटोछरिटो दिने प्रयास गरिरहेको उल्लेख गर्दै घरदैलो नर्सिङसेवा, विद्यालय नर्स कार्यक्रम, सामुदायिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन र वडा वडामा स्वास्थ्य शिविर नियमितरूपमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
हाडजोर्नी विशेषज्ञ डा. मजेशप्रताप मल्लले अस्पतालको समग्र अवस्थाबारे र इन्टरनल मेडिसिन विशेषज्ञ डा. अमर प्रजापतिले अन्तरङ्ग विभागअन्तर्गत भइरहेको सेवा प्रवाहबारे सङ्क्षिप्त जानकारी दिनुभएको थियो भने डा. रत्नसुन्दर लासिवाले ख्वप अस्पतालको सङ्क्षिप्त इतिहासबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमपश्चात् डा. मिश्रले ख्वप अस्पतालको अवलोकन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *