नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, २० फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले राष्ट्रपति संस्थालाई भूमिकाविहीन बनाए देश सिक्किमीकरण हुने बताउनुभएको छ ।
शनिबार बाल विकास सेकेन्डरी स्कूलको ३५ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले राष्ट्रपति विद्यादेवी भण्डारीले देशघाती नागरिकता विधेयक प्रमाणित गरेको भए देश बर्बाद भइसक्ने थियो भन्नुभयो ।
उहाँले राष्ट्रपतिको उक्त कदमको विरोध गर्नेहरू विदेशी दलाल र देशघाती तत्व भएको बताउनुभयो ।
अहिले देशको मुख्यमुख्य पदमा रहेका व्यक्तिहरू खराब हुँदा देशले दुर्गति भोग्नुपरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भोलिको सुन्दर भविष्यको लागि विद्यालय तहदेखि नै विद्यार्थीलाई राजनीतिबारे बुझाउन र देशलाई माया गर्न सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले देशको भविष्य नै आजका बालबालिका भएकाले विद्यालयका विद्यार्थीलाई संस्कारयुक्त बनाउनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विगत धेरै वर्षदेखि सरकारले शिक्षा र स्वास्थ्यबाट हात झिकेर शिक्षा–स्वास्थ्य व्यापारिक घराना तथा दलालहरूलाई भक्तपुरले देशैभरका सर्वसाधारण जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
उहाँले अध्यक्ष रोहित भारत प्रवासबाट फर्केपछि भक्तपुरमा गुणस्तरीय शैक्षिक अभियान अगाडि बढेको चर्चा गर्दै बाल विकास स्कूल त्यसैको नमुना भएको बताउनुभयो ।
उहाँले शिक्षक, अभिभावकले विद्यार्थीलाई देशभक्तिको भावना सिकाउनुपर्ने धारणा राख्दै यो देशमा केही हुँदैन भनेर विद्यार्थीलाई विदेश पलायन गराउन खोज्नेहरू विदेशीका दलाल भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सृजना सैँजूले राजनीतिमा नैतिकता हराउँदै गएकोले विद्यार्थीहरूलाई नैतिकता र इमानदारिताको पाठ सिकाउनुपर्ने धारणा राख्नुभयो ।
शिक्षक र अभिभावकले बालबालिकालाई इमानदार र नैतिकवान् बनाउनुपर्ने विचार व्यक्त गर्दै उहाँले देशलाई बर्बाद गर्न खोज्नेहरूले विद्यार्थीलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले नेपालको राजनीतिमा कोही इमानदार र चोखो व्यक्ति छ भने त्यो अध्यक्ष रोहित नै भएको बताउँदै आफू भक्तपुरबाट निकै प्रभावित भएको बताउनुभयो ।
उहाँले सरकारले शिक्षामा नियोजन गरेकोले सरकारी क्याम्पस र विद्यालयमा शिक्षक र डेक्सबेन्च भए पनि विद्यार्थी नभएको बताउनुभयो ।
साहित्यकार नरेन्द्रराज प्रसाईले देशमा नक्कली कम्युनिस्टहरूको बिगबिगी रहेको बेला नेमकिपा मात्रख सच्चा कम्युनिस्ट पार्टी भएको प्रस्ट पार्नुभयो ।
कवयित्री इन्दिरा प्रसाईले देशको नेतृत्वले भक्तपुरबाट सिक्नुपर्ने बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगका निर्देशक तथा वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा. दिलिप शर्माले समाज निर्माणको मुख्य आधार नै विद्यार्थी भएकोले विद्यालय र अभिभावकले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले बालबालिकाको चौतर्फी विकासको लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
डा. के.बी. कर्माचार्यले बालबालिकाको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा अभिभावक प्रतिनिधि घनश्याम खड्का र शिक्षिक सीतालक्ष्मी प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा डा. मिश्रलाई नेमकिपाका अध्यक्ष रोहितले अभिनन्दन गर्नुभएको थियो ।
विद्यालयको ३५ औँ वार्षिकोत्सवको अवसरमा भएका विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा विद्यालयमा अनवरतरूपमा १० वर्षभन्दा बढी सेवा गरेका शिक्षक कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
Leave a Reply