भर्खरै :

नयाँ पुस्तामा समाजवादी संस्कृतिको विकास गर्न जरुरी

नयाँ पुस्तामा समाजवादी संस्कृतिको विकास गर्न जरुरी

भक्तपुर, २० फागुन । बासु माध्यमिक विद्यालयको ६० औँ (हीरक जयन्ती) र बासु कलेजको १४ औँ वार्षिकोत्सव नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । सांसद् सुवालले धिमाय् बाजाको पृष्ठधुनमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी समारोहको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा सांसद सुवालले कामदार वर्गका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न बासु शैक्षिक संस्थालाई थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले नयाँ पुस्तालाई देश र जनताको सेवा गर्ने काममा थप योगदान दिनसक्ने बनाउन निरन्तर लाग्न सुझाव दिनुभयो ।
समाजवादी समाजमा सामुदायिक भावनाले बहुसङ्ख्यक जनताको हितको लागि काम हुने र पुँजीवादी समाजमा धनी केही व्यक्तिको हितको लागि काम हुने चर्चा गर्दै उहाँले पुँजीवादी सोचका केही मानिसले विद्यालय कलेजको जग्गा र भवन भाडामा लगाएर व्यक्तिगत स्वार्थ पूर्ति गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ पुस्तामा समाजवादी संस्कृतिको विकास गराउन जरुरी छ ।”
संविधानमा कक्षा १२ सम्म निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने व्यवस्था भए पनि सरकारले कक्षा १० सम्मको लागि पनि पर्याप्त मसलन्द नदिएको सरकार शैक्षिक माफियाको घेरामा परेकोले सस्तोमा स्तरीय जनशक्ति उत्पादन गर्ने ख्वप विश्वविद्यालय विधेयक संसद्मा प्रस्तुतसम्म नगरेकोमा उहाँले सरकारको विरोध गर्नुभयो ।
देशको सन्तुलित विकासको लागि प्रधानमन्त्री, मन्त्री र सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा घर बनाएर बस्नुपर्ने कानुन जरुरी भएको उल्लेख गर्दै उहाँले भारतबाट दाल, चामल, तरकारी ल्याएर काठमाडौँका बासिन्दालाई बचाउन सजिलो नहुने उल्लेख गर्नुभयो ।
उहाँले गरिबले निजी अस्पतालमा उपचार गर्न र निजी विद्यालयमा पढाउन नसक्ने हुँदा सरकारी अस्पताल र सरकारी विद्यालय विकास गर्न जरुरी छ भन्नुभयो ।
एमसीसीविरुद्धको आन्दोलन अझै जारी छ भन्दै उहाँले एमसीसी, एसपीपी साझेदारी कार्यक्रम, नागरिकता विधेयक, गोर्खा भर्ती केन्द्रसहित १९५० को असमान सन्धि खारेज हुनुपर्नेमा जोड दिनुभयो ।
देशको जलविद्युत् र युवा जनशक्ति विदेश निर्यात गरेर देश आत्मनिर्भर नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “युवा जनशक्ति विदेश पठाएर देश आत्मनिर्भर हुँदैन ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपाका नगर प्रमुख सुनिल प्रजापतिले मा.वि. तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहको भए पनि सरकार त्यसलाई कार्यान्वयन गर्न नचाहिरहेको बताउँदै उच्च शिक्षाको जगको रूपमा रहेको विद्यालय तहलाई भक्तपुर नगरपालिकाले विशेष प्राथमिकता दिँदै आएको प्रस्ट पार्नुभयो ।
बन्द, हडताल र तोडफोडले देशका विश्वविद्यालयहरू बन्द हुने स्थितिमा पु¥याई पढ्नकै लागि युवा विद्यार्थीहरू विदेसिन बाध्य भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “देशको कुल बजेट १६ खर्बमा १ खर्ब त विदेशमा पढ्नकै लागि भएको छ । खाद्यान्न आयातमा साढे ३ खर्ब र ग्यासको लागि ३ खर्ब खर्च भएको छ । त्यसैले नयाँ पुस्तालाई आत्मनिर्भरताको पाठ सिकाउन अत्यावश्यक भयो ।”
उहाँले अगाडि भन्नुभयो, “पढ्न जहाँ गए पनि आफ्नोयोग्यता र क्षमता देशको लागि उपयोग गर्नुपर्छ ।”
भक्तपुर नगरपालिकाले गरीब तथा जेहेनदार विद्यार्थीको लागि ४५० जनालाई प्रतिविद्यार्थी ५ लाखको शैक्षिक ऋण प्रदान गरेको र सामुदायिक स्कूलका विद्यार्थीलाई वार्षिक रु. १ करोड र दुई वटा इन्जिनियरिङ कलेजमा वार्षिक २ करोड रूपैयाँको छात्रवृत्ति प्रदान गरेको उल्लेख गर्दै उहाँले सामुदायिक स्कूल सबल बनाउन आवश्यक पूर्वाधारको लागि आर्थिक सहयोग गर्दै आएको बताउनुभयो ।
भक्तपुरका सामुदायिक स्कूलमा भर्ना दर र उत्तीर्ण दर क्रमशः वृद्धि हुँदै आएको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले सामुदायिक स्कूलमा कार्यरत शिक्षक–कर्मचारीले आफ्नो सन्तान सामुदायिक स्कूलमै पढाउनुपर्नेमा जोड दिनुभयो ।
समारोहमा इतिहासविद् प्रा. विश्वमोहन जोशीले ख्वप विश्वविद्यालय खोल्न नदिने प्रजातन्त्रवादी र गणतन्त्रवादी सरकार राणा शासक चन्द्र शमशेर जति पनि नभएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नेपाली विश्वविद्यालयका कलेजहरू क्रमशः बन्द हुँदै जानु र विदेशी विश्वविद्यालयको सम्बन्धमा सञ्चालित कलेजमा विद्यार्थी खचाखच हुनु शिक्षामा नवउदारवादको प्रभाव हो, शिक्षामा विदेशी दलालकै कारण त्रि.वि. को शैक्षिक क्यालेन्डरको ठीक ढङ्गले सञ्चालन नभएको हो भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द बासुकलाको सभापतित्वमा भएको उक्त समारोहमा कलेज व्यवस्थापन समितिका लक्ष्मणराज जोशी, संयुक्त परीक्षा समितिका कृष्णप्रसाद धन्छा र श्रीकृष्ण किसी, वडाध्यक्ष हरिप्रसाद बासुकला, पूर्वविद्यार्थी प्रतिनिधि डा. रत्नसुन्दर लासिवा, सल्लाहकार गणेशप्रसाद सुवालले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्र.अ. एवम् प्राचार्य अम्बिका न्याइच्याईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा स्मारिका पनि विमोचन गरिएको थियो । डिप्लोमा इन कम्प्युटर साइन्सका विद्यार्थीहरूले ३ वटा रोबोटको फूटबल खेल प्रदर्शन गरेका थिए ।
दीर्घसेवी शिक्षक कर्मचारीहरूलाई सम्मान गरिएको उक्त कार्यक्रममा सहायक प्र.अ. द्वय रत्नबहादुर ह्यौँमिखा र रविलाल प्रधानले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *