भर्खरै :

ख्वप भक्तपुर मिनिबस यातायात कर्मचारी एकाइ समितिको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

ख्वप भक्तपुर मिनिबस यातायात कर्मचारी एकाइ समितिको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

भक्तपुर, २१ फागुन । नेपाल क्रान्तिकारी मजदुर सङ्घ अन्तर्गतगठित ख्वप भक्तपुर मिनिबस यातायात कर्मचारी एकाइ समितिको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन शनिबार सूर्यविनायकमा सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले चालक र परिचालकहरूको बोली र व्यवहार सुसंस्कृत हुनु आवश्यक भएको चर्चा गर्दै सूचना प्रविधिसँग सम्बन्धित जीपीएस प्रणालीबारे पनि जानकारी यातायात मजदुरहरूसँग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “सार्वजनिक यातायातका गाडीहरू २० वर्षपछि चलाउन नपाउने कानुनी व्यवस्था भारतीय पुँजीको सेवा गर्न बनाइएको हो । यस्तो कानुनी व्यवस्था बनाउने शासकहरूलाई भारतीय एकाधिकार पुँजीले कमिसन दिएको हुन्छ । यसकारण, बीस वर्षको सीमा सार्वजनिक यातायातमा खारेज गर्नुपर्दछ ।”
मजदुर वर्गका गुरू माक्र्स र एङ्गेल्सले विश्वका मजदुर एक हुन आह्वान गर्नुभएको हो । यसकारण, सम्पूर्ण मजदुरहरूको सांस्कृतिक स्तर विकास गरी एक हुनु आवश्यक छ, सचिव सुवालले भन्नुभयो ।
“देशमा सङ्कट ल्याएका शासक दलहरू नै हुन् । पुँजीवादी पार्टीहरूले सार्वजनिक संस्थान सस्तोमा बिक्री गरेर युवालाई वैेदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न पठाए । यसरी देशको हित हुँदैन”, उहाँले स्पष्ट पार्नुभयो ।
समितिका अध्यक्ष शिवराम त्वानाबासुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रामजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवाल, भनपा वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोरा, ख्वप भक्तपुर मिनिबस सेवा यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र महर्जन, प्रबन्धक उमेश प्रधान, रामकाजी भुजू, दिनेश प्रधान र विष्णुप्रसाद न्यौपानेले पनि बोल्नुभएको थियो ।
सभामा राजेश बुयो, राजन कार्की र बद्री कोजुले पनि बोल्नुभएको थियो । सभाले शिवराम त्वानाबासुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *