भर्खरै :

अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरूलाई जागृत पार्ने दिन

अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरूलाई जागृत पार्ने दिन

काठमाडौँ, २६ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस चन्द्रागिरीमा बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले श्रमिक महिलाहरूको हक, अधिकार स्थापित तथा महिलाहरूलाई जागृत पारेको दिन मार्च ८ भएको बताउनुभयो ।
उहाँले नेपाल क्रान्तिकारी महिला सङ्घले श्रमिक महिलाको उत्थानको लागि राजनीतिक सचेतना जगाउने काम गर्दै आइरहेका छ भन्नुभयो ।
देशमा राजनीतिक विकृति र विसङ्गति बढ्नुमा शासक दलहरू जिम्मेवार रहेको धारणा राख्दै उहाँले राजनीतिक विकृतिविरूद्ध महिला सङ्घका साथीहरू सक्रिय भएर लाग्नु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “महिला सङ्घका साथीहरूले पत्रिका र पार्टी प्रकाशन अध्ययन गर्न जोड दिई पार्टी प्रकाशनहरूबारे नियमित अन्तरक्रिया र छलफल गर्नु आवश्यक छ ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले अन्तर्राष्ट्रिय श्रमिक वर्गका महिला नेतृहरू क्लारा जेट्किन, जेनी माक्र्सलगायत जीवन सङ्घर्षबाट सिकी अगाडि बढ्नुपर्छ भन्नुभयो ।
श्रमिक महिलालाई अगाडि बढाउन महिलाहरू नै शिक्षित हुनुपर्ने आवश्यकता महसुस गर्दै पार्टीका अग्रजहरूले भक्तपुर नगरपालिकाबाट शिक्षालयहरू स्थापना गरेर देशभरका छोराछोरीलाई न्यूनतम मूल्यमा गुणस्तरीय शिक्षा दिइएको छ । स्वास्थ्य क्षेत्र, सम्पदा निर्माण र फोहोरमैला व्यवस्थापनमा भनपाले विशेष जोड दिई कार्य गरिरहेको छ, उहाँले भन्नुभयो ।
उपप्रमुख जोशीले भन्नुभयो, “समाजवादी व्यवस्थामा मात्र महिला मुक्ति सम्भव छ । अतः समाजवाद स्थापनाको लागि महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुनु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले श्रमिक महिला दिवस राजनीतिक सचेतना जागृत गर्न मनाइरहेको बताउनुभयो ।
नेक्रामहिला सङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष मीना डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा चन्देश्वरी महर्जन र वन्दना महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *