भर्खरै :

भक्तपुरको शैक्षिक प्रगतिमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण

भक्तपुरको शैक्षिक प्रगतिमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण

भक्तपुर, २७ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ग्लिटर फ्युचर इङ्गलिस स्कूलको २१ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम (अभिभावक दिवस) को शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि नभएसम्म निजी विद्यालयहरूको आवश्यकता रहने बताउँदै भक्तपुरको शैक्षिक विकासमा निजी विद्यालयहरूको भूमिकाबारे प्रस्ट गर्नुभयो ।
भक्तपुर नपाले ख्वप विश्व्विद्यालय सञ्चालन गरी समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्य बोकेको बताउँदै उहाँले भक्तपुरका सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शैक्षिक क्षेत्रमा भक्तपुर देशभरिका जनताले विश्वास गरेको ठाउँ हो । यो गरिमालाई कायम गर्न भक्तपुर नपाले सामुदायिक विद्यालयहरूको लागि भौतिक तथा आर्थिक सहयोगलाई निरन्तरता दिने क्रम जारी छ ।”
उहाँले पढ्नु भनेको किताबको ज्ञानमात्र होइन समाज बुझ्ने र अतिरिक्त कार्यक्रममा सहभागी हुनु पनि हो भन्दै विद्यार्थीहरूलाई संस्कार र व्यवहारिक ज्ञान प्रदान गर्न विद्यालयले सक्रियता देखाउनुपर्छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायत विविध गतिविधिबारे जानकारी दिँदै भक्तपुर नपाले खेलकुदलाई पनि विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो ।
पारागन एकेडेमीका प्रअ पुण्यराम कवांले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व बहन गराउन विद्यालय र अभिभावकले उत्प्रेरित गरिरहनुपर्ने बताउनुभयो ।
ग्लिटर फ्युचरका प्रअ रामप्रसाद खाताखोले विद्यालयको वार्षिक प्रगति प्रस्तुत गर्दैै विद्यालयका कमी कमजोरीबारे अभिभावकहरूको रचनात्मक सुझावको अपेक्षा रहेको बताउनुभयो । उहाँले विद्यालयलाई किताबी ज्ञानसँगै कम्प्युटर, गीत सङ्गीत, नृत्यलगायतका अतिरिक्त गतिविधिमा जोड दिँदै एक विद्यार्थी एक खेलकुदको नीति लिएर अगाडि बढेको बताउनुभयो ।
विद्यालयका शिक्षक जिबेस सितिखुको सभापतित्वमा भएको उक्त वार्षिकोत्सव कार्यक्रममा एसएस कलेजका प्रअ मुकेश योन्जन, नेसनल प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष सन्जय खड्का, अभिभावक प्रतिनिधि साजन मोक्तान, विद्यालय प्रतिनिधि जिविसा सितिखुले शुभकामना मन्तव्य राख्नुभएको थियो भने शिक्षिका बबिता खाताखोले स्वागत मन्तव्य र शिक्षिका ग्यानकेशरी तमखूले धन्यवादज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरूले २०७५, ०७६, ०७७, ०७८ को एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्नुभएको थियो । विद्यालयको आयोजनामा भएको अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिताका विजेताहरूलाई मेडल र प्रमाणपत्र दिनुका साथै विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *