भर्खरै :

नेपाली शासकहरूमा दास मनोवृत्ति यथावत

नेपाली शासकहरूमा दास मनोवृत्ति यथावत

नेपाल र नेपालीको निम्ति अहित हुने काम गरेर विदेशी शक्ति राष्ट्र शासकहरूलाई खुसी पार्ने नेपाली शासकहरू देशभक्त होइनन्, विदेशभक्त हुन् । विकास र आर्थिक सहयोगको लोभ बाँडेर छिमेकी देश भिडाउने यत्न साम्राज्यवादी देशहरूले पहिलेदेखि गर्दै आएको इतिहास साक्षी छ । विस्तारवादी र साम्राज्यवादी शासकहरूले नेपाली शासकहरूको कमी कमजोरी बुझेका छन् । नेपाली शासकहरूको कमजोरीको फाइदा लिँदै साम्राज्यवादी देश अमेरिकाले लोभलालच देखाएर मात्र होइन धम्काएर एमसीसी सम्झौता पारित गराएको हो । साम्राज्यवादी देशको प्रभाव र दबाबमा नेपाली शासकहरू झुके र नेपाल र नेपालीको अहितमा देशघाती सम्झौता भयो । यस्ता सन्धि सम्झौता गर्न र गराउन विस्तारवादी देश भारत पनि पछाडि परेको छैन । नेपालको नदी नाला, प्राकृतिक स्रोत र साधन आफ्नो हातमा लिने देश भारत नै हो । नेपालको सुस्ता भारतले लिएकै हो, नेपाली भूमि अतिक्रमण गरिरहेकै हो, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध बनाएकै हो ।
भारत र अमेरिकाजस्ता ठूला देशहरूलाई खुसी पार्न नसकेसम्म देश विकास सम्भव छैन भन्ने मान्यता नेपाली शासकहरूमा छ । जुन जुन देशबाट जति बढी सक्छ त्यति आर्थिक सहयोग लिनुपर्छ भन्ने मान्यता राख्ने तर देशको अस्मितामा आँच पुग्ने विषयमा कुनै चासो नराख्ने नेपाली शासकहरूकै कारण वास्तवमा नेपाल परनिर्भर बन्दै गएको हो । साम्राज्यवादी र विस्तारवादी देशहरूले नेपाली शासकहरूलाई एउटा काममा चुकाएपछि, फसाएपछि अर्काे त्यस्तै कदम चालेर या लोभलाग्दा योजना ल्याएर फसाउने काम गरिरहेका छन् । कोसी, गण्डकी, महाकाली, टनकपुर सन्धि यसका दृष्टान्तहरू हुन् । नेपाली शासकहरू चुक्दै गए† विदेशी शासकहरूले चुकाउँदै गए । साम्राज्यवादी र विस्तारवादी शासकहरूले भनेपछि आँखा चिम्ली समर्थन गर्ने, उनीहरूले फालेको लोभको जालमा फस्ने नेपाली शासकहरूको दास मनोवृत्तिले पनि नेपालमा विदेशी शक्ति राष्ट्रहरूको चलखेल बढ्दै गएको हो । देशको अस्मिताको ख्याल नगर्ने, विदेशी शक्ति राष्ट्रसँग असमान सन्धि सम्झौता गर्न पाएपछि विकास ठान्ने, गौरवको अनुभूति गर्ने नेपाली शासकहरूको कारण नेपालमा विदेशी चलखेल बढेको हो, देश र विदेशमा नेपालको बदनाम हुँदै गएको हो ।
नेपाली शासकहरूको यस्तै कमी कमजोरी र अदूरदर्शिताको कारण नेपाल अन्तर्राष्ट्रिय मामलामा झन्झन् कमजोर हुँदै गएको महसुस राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । नेपाल र नेपालीको हितभन्दा विदेशी शक्ति राष्ट्रहरूको बढी हितमा सन्धि सम्झौता गर्न नेपाली शासकहरू किन फसे, किन फस्दै छन् ? विनास्वार्थ, विनासर्त साँच्चै नेपालको विकासको निम्ति आर्थिक सहयोग गर्नु एउटा पाटो हो भने आफ्नो दीर्घकालीन स्वार्थ पूर्ति गर्ने मनसायले सहयोग गर्नु अर्काे पाटो हो । विदेशीको स्वार्थ पूरा गर्न नेपाली शासकहरू किन हौसिएका हुन् ? यसबारे नेपाली शासकहरू सतर्क र गम्भीर बन्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *