नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर १, चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले बुधबार चाँगुनारायण नपा वडा नं ८ र ९ स्थित कलमसीका स्थानीय जनतासँग समसामयिक विषयमा छलफल गर्नुभयो ।
उक्त कार्यक्रममा सांसद सुवालले भन्नुभयो, “सिद्धान्तहीन निर्वाचन गठबन्धनको परिणाम सिद्धान्तहीन गठबन्धनकै आधारमा सरकार गठन गरियो । करिब दुई महिनामा माओवादीको पुष्पकमल दाहाललाई समर्थन गरी सरकारमा गएका राप्रपा र एमाले दाहाल सरकारबाट फिर्ता हुँदै समर्थन फिर्ता लिए ।”
“प्रम दाहालले चैत १३ गतेभित्र संसद्को विश्वासको मत प्राप्त गर्नुपर्ने भयो । त्यसपछि मात्र मन्त्रिपरिषद् पुनः गठन हुने सार्वजनिक भयो । आर्थिक सङ्कट बढिरहेको अवस्थामा अर्थमन्त्रीसमेत नियुक्ति नहुँदा बजेट निर्माणको काममा अवरोध भइरहेको छ, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “निर्वाचनमा पैसा र सामान बाँडेका, भोज भतेर खुवाएका शासक दलहरू धेरै स्थानमा जिते पनि देश र जनताको हितमा कुनै काम हुँदैन । किसानलाई रासायनिक मल सुपथ मूल्यमा सुलभ नभएको वर्षौँ भयो । दाहाल सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेर जनद्रोही काम ग¥यो । सन् १९८७ मै रासायनिक मल कारखाना स्थापनाको लागि ९० मेगावाट विद्युत् र १५० करोड रूपैयाँको बजेट भए पुग्ने समाचार प्रकाशित भएको थियो । त्यसयताका कुने पनि सरकारले स्वदेशमा रासायनिक मल कारखाना खोल्ने काम गरेनन् ।”
“चीन र भारतले संयुक्त राष्ट्र सङ्घमा युक्रेनविरूद्ध अमेरिकी आक्रमणको विपक्षमा मत दिए र रूसबाट सस्तोमा इन्धन खरिद गरे । नेका र माओवादीको समर्थन प्राप्त तत्कालीन देउवा सरकारले अमेरिकाको पक्षमा मत दिएको गलत हो”, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “अमेरिकी साम्राज्यवाद तेस्रो विश्व युद्ध एसियामा गराउने र हतियार बेच्ने तयारी गर्दै छ । अमेरिकाले युक्रेनमा हतियार र सेना यसैकारण पठाएको हो । अमेरिका, बेलायत र अष्ट्रेलियाले आणविक अस्त्रसहितको पन्डुबी जहाज बनाउने संयुक्त कार्यक्रम यसैकारण सुरू गरेका हुन् ।”
“वर्तमान र भविष्यको कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज गराउन, नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि खारेज गराउन सडक र सदनमा नेमकिपा एक्लै सङ्घर्ष गर्दछ”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भङ्गेरी डाँडाको मजुवाको जङ्गल मासेर खेल मैदान बनाउने निहुँमा खानेपानीको स्रोत सुकाउने सरकारी कामको विरोध गर्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संरा सङ्घले प्राकृतिक स्वरूप बिग्रिने गरी कुनै पनि देशको सरकारले काम गर्न नपाउने अभिसन्धि पारित गरेको छ । नेपाल सरकारले यो अभिसन्धिको पूर्ण पालना गर्नु जरूरी छ । नेपालको संसद्ले प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नै निर्वाचन क्षेत्रमा जनतासँगै बसोबास गर्नुपर्ने कानुन बनाए मात्र नेपालको प्राकृतिक स्वरूप संरक्षण हुनेछ ।”
ख्वप विश्वविद्यालयको विधेयक पारित नगर्ने सरकार र तिनका पार्टी देशद्रोही नै भएको सांसद सुवालले बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका उपाध्यक्ष केशवप्रसाद तिमिल्सेनाले कलमसी क्षेत्रमा बाटोघाटो, पानी, बिजुली र विद्यालय निर्माणको निम्ति नेमकिपाले सुरूदेखि नै काम गर्दै आएको उल्लेख गर्नुभयो । नेमकिपा सुडालका सदस्य सन्तराम दुलालले नेमकिपालाई प्राप्त भएको सांसद् विकास कोषका रकमहरू इमानदारीपूर्वक चाँगुका विभिन्न वडाहरूमा विकास निर्माणको काममा खर्च गरेको चर्चा गर्नुभयो ।
स्थानीय जनताले सांसद सुवालसँग सरकारी विद्यालय गुणस्तरीय बनाउन र सडक सुधार गर्न संसद्मा आवाज उठाउनुपर्ने सुझाव दिनुभयो ।
उक्त भेटघाट कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष न्हुछेभक्त फोंजू र नेक्रायुसङ्घका अध्यक्ष मिनबहादुर बाटाको पनि उपस्थिति थियो ।
Leave a Reply