इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
संसारको कुनै पनि मुलुकमा अमेरिकाको निम्ति प्रतिकूल घटना घटेमा विश्वले सबभन्दा पहिला सुनिने शब्द हो ‘प्रतिबन्ध’ । ‘प्रतिबन्ध’ अमेरिकाको लागि आफ्नो विरोधीहरूलाई तर्साउने एउटा सस्तो राजनीतिक हतियार भएको छ । सैन्य बल वा प्रत्यक्ष हस्तक्षेपबिना आफ्नो नीति अरु देशमा लागू गर्न विभिन्नखाले प्रतिबन्धहरू अमेरिकाले बढ्दो रूपमा प्रयोग गरिरहेको छ । प्रतिबन्धहरू अमेरिकाको लागि अन्य देशहरूलाई उनीहरूको व्यवहार वा नीतिहरू परिवर्तन गर्न दबाब दिने तरिका भएको छ ।
प्रतिबन्धहरू प्रायः आर्थिकरूपमा परिभाषित गरिन्छन् तर अर्को देशको राजनीतिक व्यवस्था वा सैन्य व्यवहार परिवर्तन गर्न गरिएको राजनीतिक र सैन्य दण्डहरू हुन्, प्रतिबन्ध । सामान्यतया परम्परागत व्यापार र वित्तीय सम्बन्धमाथि प्रतिबन्ध लगाउने गरिन्छ । यसअन्तर्गत आफू अनुकूल नचल्ने देशका बन्दरगाहहरू अवरुद्ध गर्ने र कूटनीतिक सम्बन्ध रद्द गर्ने, भिसा अस्वीकारजस्ता कूटनीतिक सम्बन्धहरूलाई न्यूनीकरण गर्ने गरिन्छ । वैदेशिक सहायता कटौती, निर्यात र आयात सीमितता, सम्पत्ति रोक्का, आयात करमा वृद्धि, हवाई सम्पर्क रद्दलगायत ऋण, वित्तिय र लगानी प्रतिबन्ध रहेका हुन्छन् । सम्पत्ति रोक्का गर्ने वा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाउनेलगायत प्रतिबन्धहरू राजनीतिक नेताहरू वा व्यापारिक समुदायका व्यक्तिहरूलाई पनि लागू गरेका छन् ।
‘प्रतिबन्ध’ दोस्रो विश्वयुद्धदेखि नै मुख्यतया अमेरिकाले हतियारको रूपमा प्रयोग गर्दै आएको छ । अमेरिका अहिलेसम्म विश्वको आर्थिक प्रतिबन्धहरूको सबैभन्दा ठूलो प्रयोगकर्ता भएको छ । अमेरिकाको लागि प्रतिबन्ध अन्य देशहरूको वैदेशिक नीति परिवर्तन गर्ने माध्यम भएको छ । उदाहरणका लागि अमेरिकाले सिरिया, भेनेजुयला र इथियोपियाजस्ता धेरै देशहरूलाई उनीहरूको घरेलु मामिलामा हस्तक्षेप गर्न प्रतिबन्ध लगाएको छ । यसले देशको आणविक कार्यक्रमलाई लिएर लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियामा थप प्रतिबन्धहरू लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको विदेश नीतिको भागको रूपमा प्रतिबन्धहरूको प्रयोगले इरानसँगको अन्तर्राष्ट्रिय आणविक सम्झौता लगभग अन्त्य भएको छ । अमेरिकाले २०२३ को सुरुमा इरानमाथि थप नयाँ प्रतिबन्धहरू लगाएको छ । अमेरिकी प्रतिबन्धले विभिन्न मुलुकमा आर्थिक प्रभाव पारेको छ । यद्यपि, प्रतिबन्धले अनपेक्षित परिणामहरू पनि ल्याएको छ । अमेरिका प्रतिबन्धलाई रामवाणको रूपमा हेर्ने गर्छ तर लक्षित देशको आम जनतालाई चोट पु¥याउँदा लक्षित देशलाई अझ पृथक र परिवर्तनको प्रतिरोधी बनाइदिएको छ । यसको उदाहरण उत्तर कोरिया, क्युवा र इरान भएको छ । अमेरिकी प्रतिबन्धलाई प्रतिरोध गर्ने प्रयासले गर्दा ती मुलुकहरू झनै बलियो हुँदै गएका छन् ।
अमेरिकाले चीनलाई पनि निशाना बनाएको छ । व्यापार युद्ध सुरु गर्नुका साथै अमेरिकाले तिब्बतसँग सम्बन्धित तथाकथित मानवअधिकार मुद्दाहरूको बहानामा चिनियाँ अधिकारीहरूमाथि अवैध प्रतिबन्ध लगाएर चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको छ । चीनको प्रविधि क्षेत्रलाई थप दबाउन अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यताहरू उल्लङ्घन गरेको छ । २०२३ मा बाइडेन प्रशासनले नेदरल्यान्ड र जापानलाई चीनमा सेमिकन्डक्टर प्रविधिको निर्यातमा प्रतिबन्ध लगाउन अमेरिकासँग मिल्न दबाब दियो । अमेरिकाले इन्टेल र क्वालकमलगायत अमेरिकी आपूर्तिकर्ताहरूद्वारा चिनियाँ टेलिकम्युनिकेसन उपकरण हुवावेलाई सबै बिक्रीमा प्रतिबन्ध लगाउन चाहेको छ । यस्तो कदम बजार अर्थतन्त्रको सिद्धान्तको विपरीत छ । अन्तर्राष्ट्रिय व्यापारलाई नियन्त्रित गर्ने आधारभूत नियमहरूलाई कुल्चिएको छ ।
धेरैजसो अमेरिकी प्रतिबन्धहरूले संसारमा नकारात्मक प्रभाव ल्याएको छ । यसले सुरक्षाका मुद्दामात्रै नभई थप आर्थिक चुनौतीहरू निम्त्याउने, सर्वसाधारणको जीवनमा हानि पु¥याउने, विश्वव्यापी द्वन्द्वलाई तीव्र पार्ने, विद्यमान तनावलाई बढाएर विभाजन र द्वन्द्वलाई झन् बढाउँदै लैजाने गरेका छन् । उदाहरणका लागि रूस–युक्रेन द्वन्द्वको समयमा रूसमाथि लगाइएका प्रतिबन्धहरूले गम्भीर विश्वव्यापी असरहरू निम्त्याएको छ । अमेरिकाले रूसी कच्चा पदार्थ र ऊर्जाको बिक्रीमा प्रतिबन्ध लगाएको छ । रूसी बैङ्कहरूमा वित्तीय प्रतिबन्ध लगाएको छ । रुसको विदेशी पुँजी र वित्तीय बजारहरूमा पहुँच घटाएको छ । धनी र शक्तिशाली रूसी नागरिकहरूको सम्पत्ति रोक्का गरेको छ । अमेरिकाले रुसी अर्थतन्त्रलाई खोक्रो पार्न चाहेको कुरा बाइडेनले स्पष्ट रूपमा भनेका छन् । रिपोर्टहरूका अनुसार बाइडेन प्रशासनले मार्च २०२२ मा रूसबाट तेल, ग्यास र अन्य ऊर्जा आयातमा प्रतिबन्धको घोषणा गरेपछि युरोपेली आयोगले रुसी ग्यासमा युरोपेली सङ्घको निर्भरता दुई तिहाइले घटाउने योजनाको अनावरण ग¥यो र वर्षको अन्त्यमा रूसी तेलको आयात अन्त्यमा समुद्री मार्ग रोक्न सहमत भयो । बेलायतले सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको प्रयोग शून्यमा झर्ने घोषणा गरेको थियो ।
रूस तेल, अन्न र अन्य प्रमुख वस्तुहरूको एक प्रमुख निर्यातक हो, जहाँबाट विश्वको गहुँ आपूर्तिको लगभग एकचौथाइ आउँछ । भूमण्डलीकरणका कारण विश्व अर्थतन्त्र निकै एकीकृत भएकोले रुस–लक्षित प्रतिबन्धहरूले अन्य देशहरूमा पहिले राखिएका समान उपायहरूको तुलनामा धेरै ठूलो विश्वव्यापी असर पारिरहेको छ । रुसमाथि पश्चिमी प्रतिबन्धले विश्वभरको सम्पत्ति बजारमा असर गरेको छ । तेल र गहुँको मूल्य बढेको छ । एकपक्षीय प्रतिबन्धहरू बढाउँदा विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाहरू टुटेका छन् । विशेषगरी अफ्रिका र मध्य पूर्वका कम आय भएका देशहरूमा मानिसहरूको जीविकोपार्जनमा जटिल बनेको छ । रुसविरुद्ध लगाइएका प्रतिबन्धहरूले युरोपको ऊर्जा आपूर्तिमा हानि पुग्दा समग्र युरोपको आर्थिक वृद्धिलाई असर पारेको छ भने अर्कोतिर युरोपेली उपभोक्ताहरूको लागि ऊर्जाको मूल्य बढेको छ ।
अमेरिकी दाबी विपरीत प्रतिबन्धहरू अप्रभावकारी हतियार भएको धेरै उदाहरणले पुष्टि गर्दै छन् । अमेरिकी प्रतिबन्धलाई रोक्न शक्तिशाली गठबन्धनहरूको उदयको सम्भावना बढेर गएको छ भने अर्कोतिर अरु मुलुकमाथि लगाइएको प्रतिबन्धले अमेरिकामाथि नै नकारात्मक असर पारेको छ । यसको पछिल्लो उदाहरण रुसमाथि अमेरिकाले प्रतिबन्ध लगाउँदा बढ्दै गएको मुद्रास्फीतिलाई नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैङ्कले गत वर्ष सात पटक ब्याजदर वृद्धि गरेको थियो । सङ्कटको परिणामस्वरूप कच्चा तेल र अन्य वस्तुहरूको मूल्यमा भएको वृद्धिले अमेरिकामा मुद्रास्फीतिमा थप दबाब पर्न गएको छ ।
प्रतिबन्धरूपी लठी चलाएर कहिल्यै शान्ति र सुरक्षाको ग्यारेन्टी दिन सकिँदैन । अमेरिकाले बारम्बार असफल भएका उही रणनीति प्रयोग गर्न जारी राख्नुहुँदैन । यसको अतिरिक्त अमेरिकी प्रतिबन्ध संयुक्त राष्ट्र सङ्घद्वारा लगाइएको भनेर भ्रमित हुनु हुँदैन । अमेरिकाको एकपक्षीय प्रतिबन्ध अन्तर्राष्ट्रिय कानूनविरुद्ध हो । व्यापार प्रतिबन्ध त अमेरिका आफैले वकालत गर्दै आएको खुला व्यापार नीतिविरोधी पनि हो । सबैले यसको सही रूपमा विरोध गर्नुपर्छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्दा प्रतिबन्ध राम्रो विकल्प होइन र वार्ता नै मूल बाटो हो । शान्तिपूर्ण समाधानका लागि सबै प्रयासहरूलाई समर्थन गर्नुपर्छ ।
(विभिन्न समाचार ऐजेन्सीको सहयोगमा)
Leave a Reply