इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
स्वीजरल्यान्डका वामपन्थी पार्टीहरूले अन्तर्राष्ट्रिय द्वन्द्वमा तटस्थ नीति अपनाउने आधिकारिक स्वीस नीति कायम राख्नुपर्ने अभियान तीव्र पारेका छन् । अभियान गर्नेहरूमध्ये कम्युनिस्ट पार्टी र स्वीस लेबर पार्टी (पीएसटी–पीओपी) पनि छन् । दुवै पार्टीले आउँदो अप्रिलमा हुने क्यान्टोनको निर्वाचन र अक्टोबरमा हुने सङ्घीय चुनावलाई मध्यनजर गर्दै तटस्थ नीतिको मागलाई विशेष प्राथमिकतामा राखेका छन् ।
यो महिनाको आरम्भमा कम्युनिस्ट पार्टीले बेलिनजोना, लोकार्नो, मेन्ड्रिसियो र लुगानोजस्ता टिसिनो कान्टोन आसपास भुइँतहमा गएर अभियानहरू सञ्चालन गरेका छन् । उनीहरूले तटस्थ विदेशनीतिको पक्षमा हस्ताक्षर सङ्कलन गरेका छन् ।
तटस्थता स्वीस विदेश नीतिको एउटा आधारस्तम्भ रहिआएको छ । स्वीजरल्यान्ड हाल नाटोजस्ता सैन्य सङ्गठनबाट बाहिर रहँदै आएको छ । युक्रेन युद्धको सवालमा स्वीस सरकार नाटो र युरोपेली युनियनतिर ढल्किन थालेपछि वामपन्थी खेमाले विरोध जनाइरहेको छ ।
कम्युनिस्ट पार्टीका नेता मासिमिलियानो आरिफ एले मार्च १३ मा पिपल्स डिस्प्याचसँग भने, “तटस्थ विदेश नीतिले विशेष महत्व राख्छ । यसले युक्रेनमा चलिरहेको युद्धमा हामीले मध्यस्थकर्ता बन्ने सम्भावना जीवित राख्छ । त्यति मात्र होइन, यसले स्वीजरल्यान्डलाई नाटोमा धकेल्ने एटलान्टिक सागरनिकट देशका पुँजीपतिहरूको प्रयासलाई पनि रोक्छ । तटस्थ विदेश नीतिले स्वीजरल्यान्डको सुरक्षा र सार्वभौमिकता अक्षुण्ण राख्छ ।”
आउँदो क्यान्टोन चुनावबारे उनले भने, “स्वीजरल्यान्डको टिसिनो क्यान्टोनमा अप्रिल २ मा चुनाव हुँदै छ । यहाँ इटालियन भाषा बोल्नेहरूको बहुमत छ । कम्युनिस्ट पार्टीले स्वीस लेबर पार्टीसँगै मिलेर समानुपातिक उम्मेदवारहरूको नामावली बुझाएको छ । कम्युनिस्ट पार्टी आफ्ना वर्तमान दुई सिट जोगाउन चाहन्छ । गठबन्धनले चलाइरहेको अभियानका मुख्य तीन बुँदा छन् – तटस्थता, श्रम अधिकार र निजीकरणविरुद्ध सार्वजनिक सेवा । उदाहरणको लागि हामी हुलाक सेवालाई पुनः राष्ट्रियकरण गर्नुपर्छ भन्दै छौँ ।”
उनले भने, “रुसप्रतिको घृणा र ग्रीन पार्टी तथा सामाजिक जनवादीहरूको युद्धउन्माद चिन्ताको विषय बनेको छ । त्रोत्स्कीपन्थीहरूसँगै मिलेर स्वीस समाजवादी पार्टी युक्रेनी सेनालाई स्वीस हतियारहरू पैठारी गर्नुपर्ने कुराको पक्षमा छन् । यसअघि उनीहरूले स्वीस सेना खारेज गर्नुपर्ने र अहिंसाको बाटो लिनुपर्ने विषयमा आठ वर्षसम्म बकबक गरिरहेका थिए ।”
यसबिच ‘पीएसटी–पीओपी’ ले ‘युक्रेनी सेनालाई हातहतियार, गोलाबारुद र सैन्य उपकरणहरू पैठारी गर्न रोक्नुपर्ने तथा स्वीस सरकारले स्वीस कूटनीति एवम् सम्झौताहरूप्रति निष्ठा कायम गर्नुपर्ने’ माग गरेका थिए । फेब्रुअरीको अन्तिम साता ज्युरिचमा भएको शान्तिपूर्ण जनप्रर्दशनप्रति पनि यो गठबन्धनले ऐक्यबद्धता जनाएको थियो ।
अलेक्जेन्डर एनिलिन ‘पीएसटी–पीओपी’ का नेता हुन् । मार्च १३ मा उनले पिपल्स डिस्प्याचसँग भने, “हाम्रो पार्टीले अहिले आउँदो अक्टोबरमा हुने स्वीस संसद्का दुई तहको निर्वाचनको तयारी गर्दै छ । अप्रिल २२ मा हाम्रो पार्टीको राष्ट्रिय अधिवेशन हुँदै छ । त्यसमा हामीले आउँदो निर्वाचनको विषयमा छलफल गर्नेछौँ र कार्यक्रम तय गर्नेछौँ । हामीले स्वीजरल्यान्डमा जारी महँगीका विरुद्ध, सामाजिक सेवा कटौती गरेको विरोधमा त्यसलाई पुनःस्थापित गर्नका लागि अभियान थाल्नेछौँ । कामदार वर्गको हकअधिकार बढाउन र सामाजिक न्यायमा आधारित पर्यावरणकेन्द्रित नीतिका लागि सङ्घर्ष गर्नेछौँ । हामी स्वीजरल्यान्डलाई नाटोमा लग्ने र अमेरिकी साम्राज्यवादको कठपुतली बनाउने कार्यको भत्र्सना गर्छौँ । हामी युक्रेन युद्ध चर्काउने पक्षमा होइन, युक्रेनको शान्तिको पक्षमा छौँ । हामी यस अर्थमा स्वीस तटस्थताको समर्थनमा छौँ ।”
(एमआर अनलाइनबाट)
Leave a Reply