भर्खरै :

इरान र साउदी अरब किन चीनलाई विश्वास गर्छन् ?

सन् १९७९ को तनावका कारण इरान र साउदी अरबको सम्बन्ध त्यति सुमधुर छैन । यी दुवै देशमा एकअर्काको राजनीतिक प्रणाली त्यति रुचाइन्न । इरानले इस्लाम धर्ममा आधारित साउदी अरबको राजतन्त्रको आलोचना गर्दै आएको छ । त्यस्तै साउदी अरबले इरानको सुन्नी सम्प्रदायमा आधारित धार्मिक विचारधाराको आलोचना गर्ने गर्छ । यी देशको धार्मिक र जातीय अन्तरलाई बढाइचढाइ गर्ने गरिएको छ ।
खासगरी सन् २०१५ मा भएका केही घटनाले इरान र साउदी अरबबिच कूटनीति सम्बन्ध बिगार्न भूमिका खेले । यमनको द्वन्द्वमा स्थानीय शिया समुदायको सशस्त्र सङ्गठन हुथीमाथि आक्रमण गर्न रियाद अग्रसर भएको तेहरानलाई चित्त बुझेको थिएन । त्यसैले उसले रियादको हस्तक्षेपमा खेद प्रकट ग¥यो । साउदी अरबले एक शिया विद्वानलाई मृत्युदण्ड दिने घोषणा गर्दा समेत इरानका शिया धर्मावलम्बीहरू आक्रोशित भएका थिए । इरानका तीर्थालुहरू साउदी अरबमा ठूलो सङ्ख्यामा घाइते हुँदा इरानका जनता निकै आक्रोशित भएका थिए । त्यतिबेला इरानी आन्दोलनकारीहरूले साउदी दूतावासमाथि हमला गरेका थिए । यिनै घटनापछि सन् २०१६ मा यी दुई देशबिच कूटनीतिक सम्बन्ध चुँडेको थियो ।
हालैका वर्षहरूमा आशाका किरणहरू देखापरेका छन् । साउदी अरब स्वाभिमानी ढङ्गले यमन द्वन्द्व अन्त्य गर्ने आशामा छ । यसको लागि उसले इरानको सहयोग खोजिरहेको छ । यसबिच संरा अमेरिकासँगको आणविक सम्झौता थमौतीमा हुनाले इरानले रियादसँगको तनाव मत्थर पार्न चाहेको छ । यसरी आफ्नो आर्थिक विकासको लागि ऊ उपयुक्त क्षेत्रीय वातावरण तयार गर्ने आशमा छ । साथै सिरिया, लेबनान र इराकमा चलिरहेको सङ्कट समाधान गर्न साउदी अरब र इरानले समन्वय गर्न तथा आपसी सम्पर्क सुदृढ पार्नुपर्ने देखिन्छ ।
सन् २०२० यता पहिलोचोटि तेहरान र रियादले इराकमा भएको सम्झौता बाहिर ल्याएका छन् । इराकमा यी दुई देशबिच महत्वपूर्ण सहमति भएको थियो । यसबाट उनीहरूबिच संवाद भइरहेको सजिलै अनुमान लगाउन सकिन्छ । यसबिच इरान र साउदी अरबका क्षेत्रीय साझेदारहरूले सन् २०२२ मा कूटनीतिक सम्बन्ध पुनः कायम गरेका छन् । युएई र कुवेतले कूटनीतिक सम्बन्ध सुचारु गरेका हुन् । त्यसैले इरान र साउदी अरबबिचको कूटनीतिक सम्बन्ध पनि पुनः जोडिने निश्चित छ । यसको लागि धेरै समय पर्खिनुपर्नेछैन ।
तथापि दुवै देशले झेलिरहेका चुनौतीहरू नै उनीहरूको सम्बन्ध गाँस्ने कडी हुनसक्ने देखिन्छ ।
चीनलाई धेरै मध्य एसियाली देशहरूले विश्वासिलो साझेदारका रूपमा हेर्दै आएका छन् । उदीयमान देशहरूमध्ये चीनलाई एक योग्य र सक्षम मध्यस्थकर्ताको रूपमा पनि हेरिँदै छ । तेहरान र रियाद दुवै देशसँग पेइचिङको सम्बन्ध सुमधुर छ । पेइचिङले यी दुई देशबिच पुल र सम्पर्क सूत्रको काम गर्दै छ ।
हालैका वर्षहरूमा साउदी अरबसँग संरा अमेरिकाको सम्बन्ध तनावपूर्ण हुँदै छ । वासिङटनले इरानसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम राखेको छैन । त्यसैले उसले इरान र साउदी अरबबिच हुने संवादमा सघाउन सक्दैन । रुस र युक्रेनबिच द्वन्द्व चर्किएपछि मस्कोले पनि मध्यपूर्वमा त्यति ध्यान दिन सकेको छैन ।
यसबिच चीन मध्यपूर्वी देशहरूको भरपर्दो साझेदारको रूपमा देखापरेको छ । चीनको बीआरआई योजनामा अरब र इरानलगायत धेरै मध्यपूर्वी देशहरूले समर्थन दिएका छन् । सन् २०२२ मा चीन र अरबी देशहरूबिच सम्पन्न सहकार्य गोष्ठीमा र गत फेब्रुअरीमा सम्पन्न राष्ट्रपति इब्राहिम रेइजीको चीन भ्रमणमा चिनियाँ नेताहरूले संवादमा जोड दिएका छन् । संवादले मात्र मध्यपूर्वी देशहरूबिच वार्ताको वातावरण बन्न सक्छ ।
चीनको मध्यस्थतासँगै यी दुई देशबिच पुनः सुचारु भएको कूटनीतिक सम्बन्धले वर्षौँको तिक्तता अन्त्य भएको छ र भविष्यमा हुने सहकार्यको नौलो ढोका खोलेको छ । मध्यपूर्वका दुई महत्वपूर्ण शक्ति हुनुका नाताले साउदी अरब र इरानले सिरिया, इराक, यमन र लेबनानका क्षेत्रीय सङ्कटहरूमा अहम भूमिका खेल्न सक्छन् । मध्यपूर्वी देशहरूका आतङ्कवादविरोधी गतिविधि, शरणार्थी समस्याहरू र क्षेत्रीय द्वन्द्वले सारा विश्वकै स्थायित्व र शान्तिलाई असर गर्दै आएका छन् । साउदी अरब र इरानबिचको सहकार्यले यो क्षेत्रको विकासको लागि नयाँ सम्भावनाका ढोका खोल्न सक्नेमा दुईमत छैन ।
साउदी अरब र इरानबिच चीनले गरेको मध्यस्थता स्वीकार हुनुले मध्यपूर्वमा पेइचिङको भूमिका बढ्ने देखिन्छ । मध्यपूर्वमा देखिएका धेरै सङ्कट बाह्य हस्तक्षेपका कारण उत्पन्न भएका हुन् । शान्ति, विकास र जीत–जीत सहकार्यजस्ता चिनियाँ कूटनीतिक अवधारणालाई मध्यपूर्वमा धेरै समर्थन मिलेको छ ।
शान्ति विकासको जग हो । शान्तिको उद्देश्य पनि विकास नै हो । मतभेदहरू पर राखेर र आपसी लाभ खोज्दै जीत–जीतमा आधारित समाधानमा पुगेर नै हामीबिचका द्वन्द्वहरू किनार लाग्न सक्छन् । यसरी मात्र भविष्य समृद्ध बन्न सक्छ । साउदी अरब र इरानबिच शान्ति स्थापित गर्न चीनले गरेको मध्यस्थता पेइचिङको कूटनीतिक सिद्धान्तहरूको सफल प्रयोग हो । यसले चीनको जिम्मेवार अन्तर्राष्ट्रिय छवि उजागर गर्छ र मध्यपूर्वी देशहरूले यस छविलाई स्वीकारेको अर्थ लाग्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला विभागका निर्देशक वाङ यीले इरान र साउदी अरबबिच कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्न मध्यस्थता गर्नुभएको थियो । उहाँले जोड दिनुभएजस्तै चीनले विश्वका सम्पूर्ण देशहरूको आकाङ्क्षामा आधारित रहेर विश्वका जल्दाबल्दा समस्या समाधान गर्न रचनात्मक भूमिका खेलिरहनेछ ।
(वाङ चिन मध्यपूर्व विज्ञ हुन् । उनी चीनको उत्तरपश्चिम विश्वविद्यालयमा अध्यापन गर्छन् । सीजीटीएनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *