भर्खरै :

सम्झनाहरू राम विन्दुका, वास्तविकता सोभियत सङ्घको–२

सम्झनाहरू राम विन्दुका, वास्तविकता सोभियत सङ्घको–२

कला, साहित्य र सङ्ग्रहालयका सहरहरू
सन् २०१८ को वल्र्डकप हेर्न मस्को पुगेकी एक नेपाली विद्यार्थी हाल अमेरिकामा अध्ययनरत छिन् । केही दिनअगाडि मात्र उनले रुसी भूमिगत रेल व्यवस्था मेट्रोको भव्यताको तुलनामा अमेरिकाको मेट्रो प्रणाली र ‘लुक्स’ फिका भएको बताइन् । साँच्चिकै लेखक राम विन्दुले रुसी मेट्रोको बारेमा लेखेको बयानअनुसार त्यो रेल चढ्ने र ओर्लिने एउटा स्टेसनमात्र नभई मार्वल र ग्रेनाइटले सजिएका ती मेट्रो स्टेसनहरू सङ्ग्रहालय र आर्ट ग्यालरीजस्तै छन् । जमिनको सतहबाट १३० फिटसम्म मुनि बनाइएका ती मेट्रोहरू त्यतिकै सफा, सुग्घर र सुन्दर पनि थिए । पुस्तकमै उल्लेख भएअनुसार सोभियत सङ्घका नेता जोसेफ स्टालिनले यी मेट्रो स्टेसनहरूलाई ‘दभरेच नारोदेभ’ अथवा जनताको दरबार बनाउन चाहन्थे । साथै यी मेट्रोहरूलाई पुँजीवादी संसारमा समाजवादी श्रेष्ठता प्रदर्शन गर्ने माध्यमका रूपमा पनि हेरेका थिए ।
साँच्चिकै सोभियत सङ्घलाई भद्दा विकासको समाजवादी देश र विशाल हतियारहरूले भरिएको कुरूप देशको रूपमा पुँजीवादी देशहरू यदाकदा प्रचारबाजी गर्छन् । यी प्रचारहरूले सोभियत सङ्घका संसारकै अनुपम कला, साहित्य र सङ्ग्रहालयका सौन्दर्यलाई केही ओझेल त पक्कै पारेका होलान् । तर, लेखक राम विन्दुले रुसी विश्व विख्यात साहित्यकारहरू, टल्सटाय, म्याक्सिम गोर्की, फ्योडोर दोस्तोयवस्की र चेखोबदेखि निकोलाई आस्त्रोभोस्किसम्मका चर्चाले ती पश्चिमा हल्लालाई फिका पारेका छन् ।
कला, वास्तुकला, सस्कृति, इतिहास र सङ्ग्रहालयको कुरा गर्दा छुट्टाउनै नहुने नाम भनिन्छ ‘सेन्ट पिटर्सवर्ग’ । अठारौँ शताब्दीको पूर्वाद्र्धमा पिटर महानले स्थापना गरेको यो सहरलाई सन् १९१४ देखि २४ सम्म पेट्रोग्राड नामकारण गरिएको थियो भने सन् १९२४ मा अक्टोबर क्रान्तिका महान् नेता लेनिनको मृत्युपछि उनको सम्मानमा ‘लेनिनग्राड’ नामकरण गरिएको थियो । लेखक राम विन्दुले यस सहरको बारेमा यसरी बयान गरेका छन् –
‘ ….मैले भ्रमण गरेको दुई महाद्विपमा कहिल्यै नदेखेको सुन्दर म्युजियम सहर । यो एक ऐतिहासिक सहर हो जहाँ सबै कुरा सुन्दर छन् । राम्रो आचरण र व्यवहार छ यसका बासिन्दाहरूको । सङ्ग्रहालयप्रेमीहरूको सबैभन्दा राम्रो र उत्कृष्ट हर्मिटेज सङ्ग्रहालय यसको गहना हो । नेभा उपत्यकाको (नेभा नदीले सिञ्चित) भूतलमा बनाइएका यहाँका मेट्रो स्टेसनहरू, जसले सम्पूर्ण सहर जोडेको छ आफैमा सुन्दरताका सङ्ग्रहालयहरू हुन् । ती स्टेसनहरूको नाम सुन्दा पनि ऐतिहासिक कालमा भएको अनुभूति हुन्छ । जस्तै प्लोसाज भस्टानिया स्टेसन आइपुग्दा अक्टोबर विद्रोहमा भाग लिन गइरहेको झैँ लाग्थ्यो ।
लेनिनग्राडका ऐतिहासिक भवनहरू, चौडा सडकहरू, पुस्तकालय र थिएटरहरू एवम् वास्तुकलाको समायोजनले यसलाई सुन्दर मात्र नभएर अनुपम सांस्कृतिक नगर तुल्याएको छ, जसबाट कुनै वास्तुविद्, इतिहासविद् पनि सजिलै मोहित हुन्छन् । यसभित्र पेरिस, भेनिस, मोन्ट्रियल वा वार्सिलोना सबै देख्न सकिन्छ । यो वास्तविक वीरहरूको सहर हो, जो नाजीहरूको ८७२ दिनको नाकाबन्दीले पनि गलेन । जाडो, भोक र बमबारीले पनि ती डगमगिएनन् । स्वाभिमानको सगरमाथा भएर खडा रहिरह्यो लेनिनग्राड !’
लेखकले राजधानी मस्कोको रेड स्क्वाएरको (रुसी भाषामा सुन्दर चोक) अद्वितीय सुन्दर वास्तुकला, सांस्कृतिक वैभव र विविधताका बारेमा पनि चर्चा गरेका छन्, जहाँ उभिएर मस्कोको महत्वपूर्ण प्रतीकहरू जस्तै, क्रेमलिन, लेनिन समाधि, इतिहास सङ्ग्रहालय र सेन्ट बसिल क्याथेड्रलको अवलोकन गर्न सकिन्छ । सङ्ग्रहालय र त्यसप्रति रुसीहरूको संवेदनशीलता र मोहको बारेमा लेखकले आफू २८ वर्षपछि सोभियत रुसको भ्रमण गर्दा एउटा तथ्यबाट जानकारी पाए । सेन्ट पिटर्सवर्ग सहरको २९ किमि दक्षिण पश्चिम बाल्टिक सागरको किनारमा अवस्थित पिटर महान्को गृष्मकालीन शाही दरबार पिटरहफलाई स्वर्गकै एक टुक्रा मानिन्छ । यस सङ्ग्रहालयलाई दोस्रो विश्वयुद्धको विध्वंसबाट जोगाउन यहाँका कर्मचारीहरूले यहाँका सामानहरूलाई सूचिबद्ध र लिपिबद्ध गर्दै सकसपूर्ण अवस्थामा धमाधम पूर्वतिर ओसारे । त्यस्तो युद्धको अवस्थामा बमबारी, भोकमरी, कोलाहल र भयानक त्रासदीको बिचमा यी सङ्ग्रहालयलाई जोगाउने कुरा कसरी प्राथमिकतामा परे भन्ने सोचेर लेखकले आफ्नो देशमा भएका सम्पदालाई पनि मासेर सपिङ मलहरू खडा गरेका दृष्टान्तले आफूलाई आत्मग्लानी हुने लेखेका छन् ।

सुन्दर चोक रेड स्क्वायर

युरोप र सोभियत सङ्घमा अन्तर
विश्वविद्यालयमा बिदाका समयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू रुसकै विभिन्न सहर र स्थानहरूबाहेक युरोप भ्रमण सजिलै गर्न पाउँथे । लेखक राम विन्दुले पुस्तकमा त्यतिबेला गरेका युरोप भ्रमणका संस्मरण धेरै अध्यायहरूमा गरेका छन् । लेखकका अनुसार धेरै विद्यार्थीहरूको युरोप भ्रमणको उद्देश्य बर्लिन पुग्नु हुन्थ्यो किनभने बर्लिन नेपालीहरूको लागि नेपाल–भारत सीमानाका जोगबनी र रक्सौल बजारजस्तै थियो जहाँबाट सस्तोमा सामान किन्न पाउँथ्यो । पूर्वी बर्लिनको ‘टोनी शप’ त्यतिबेला रुसमा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रमुख डेस्टीनेसन (गन्तव्य) हुन्थे । रुसी सहरहरूमा किन्न नपाइने अन्तर्राष्ट्रिय बजारका सामान त्यहाँ पाइने हुनाले विद्यार्थीहरू त्यहाँ झुमिन्थे । विशेषगरी त्यहाँ जापानी क्यासेट प्लेयर र निलो मोन्टान जिन्स पाइन्ट खरिद आफ्नो प्रयोगको लागि मात्र नभई रुसी साथीभाइहरूलाई नाफा खाएर बेच्नको लागि पनि किन्ने गर्थे ।
युरोपका देशहरूमा भ्रमण गर्दा त्यतिबेला समाजवादी व्यवस्था भएको सोभियत सङ्घ र पुँजीवादी बन्दोबस्त भएको युरोपका अन्य देशहरूका बजार, खानपिन, सरसामान, मानिसहरूको स्वभाव, कालाबजारियाहरूको छक्कापञ्जा आदिका बारेमा हुने फरक कुरा थाहा हुने राम्रो संमरण लेखकले गरेका छन् । जस्तै, यता सोभियत सङ्घका घरहरू अस्पतालजस्तो देखिने तर उताका घरहरू झिलिमिली, यता सामान किन्न बजारमा लाइन लाग्नुपर्ने, उता ग्राहकहरूको सेवामा पसलहरूमा सामान छ्यालबाल उपलब्ध हुने र पसलेहरू ग्राहकलाई स्वागत गर्छन् अझ विशेष छुटको अफर गर्दै । लेखकका अनुसार यी फरक वातावरण र बन्दोबस्तले पनि युवा रुसीहरूलाई पुँजीवादतिर आकर्षण गरेको हुनसक्ने अनुमान गरेका छन् । किनभने, मानिसहरूको सामान्य स्वभाव नै आफूसँग नभएको कुरालाई ‘चिज’ सम्झने र त्यसको प्राप्तिको लागि पछि दौडिने । यही सन्दर्भमा लेखकले ‘नोभेम्बर १९८८ का हुरीहरू’ शीर्षकको अध्यायमा किन र कसरी सोभियत सङ्घ विघटन भए होला भने विषयमा आफ्नो विचार यसरी लेखेका छन् –
‘सोभियत सङ्घ एक अद्भूत देश हो । अन्तरिक्ष प्रविधि, युद्ध प्रविधि, आणविक र परमाणु प्रविधि, ऊर्जा प्रविधि, कृषि, खेलकुद, शिक्षा क्षेत्रहरूमा विश्वमै सर्वोच्च स्थानमा छ । तर, सामान्य जनजीवनको लागि आवश्यक पर्ने उच्च गुणस्तरका उपभोग्य उपकरण र सामान उत्पादनको मामलामा पिछडिएकै हो । यही कारण विदेश मोहको कारकहरूमध्ये एक बन्यो । यसले आफ्ना सबल पक्षहरूप्रति बेवास्ता र बाहिरका सबै राम्रा हुन्छ भन्ने भ्रम स्थापना ग¥यो । हुनसक्छ, विकासको यो असन्तुलन सोभियत देशको विघटनको कारणमध्ये एक बन्यो ।’ सम्भवतः चीनले रुसको कमजोरीबाट सिकी पश्चिमी देशहरू र संसारलाई उपभोग्य सामानहरू उपलब्ध गराउन सफल भयो ।

रुसी साहित्यकार अन्टोन चेखोब

तेस्रो विश्वका विद्यार्थीहरूलाई सहयोग र सद्भाव
सोभियत सङ्घको कुरा गर्दा माक्र्सवादी सिद्धान्तअनुसार सर्वहारा वर्गको सत्तालाई स्थापित गर्ने पहिलो देश भनेर मात्र पर्याप्त हँुदैन । समाजवादी देश कस्तो हुनुपर्छ भन्ने नमुना त संसारलाई सोभियत सङ्घले पहिलोपल्ट प्रस्तुत गर्यो† यहाँका शोषित पीडितलाई मुक्त गर्यो । तर, सोभियत सत्ता त्यतिमा मात्र सीमित रहेन । सयौँ वर्षदेखि पश्चिमा पुँजीवादी र साम्राज्यवादी शक्तिहरूको शोषण र दोहनमा उपनिवेश भएर बाँचिरहेका मध्यपूर्व, ल्याटिन अमेरिका, एसिया र अफ्रिकाका गरिब देशहरूलाई उपनिवेशको जञ्जीरबाट मुक्त गर्न पनि सोभियत सङ्घले ठूलो मद्दत गर्यो । ती गरिब देश र उपनिवेशबाट भर्खरै मुक्ति पाएका देशहरूले पनि सोभियत सङ्घको उच्च विकासबाट फाइदा लिएर आ–आफ्नो देशमा गएर सेवा गरून् भन्ने चाहनाले ती विद्यार्थीहरूलाई सोभियत सङ्घमा छात्रवृत्तिमा पठन–पाठन गराउने बन्दोबस्त पनि गरेका थिए । लेखकले पुस्तकमा मध्यपूर्वका अरेवियाली विद्यार्थीहरू, एसियाबाट कम्बोडिया, लाओस, नेपाल, ल्याटिन अमेरिकाका क्युवा तथा अन्य धेरै देशका विद्यार्थीहरूका स्वभावका बारेमा पनि चर्चा गरेका छन् ।

रुसी साहित्यकार लियो टल्सटाय

हिजोको सोभियत सङ्घ र आजको रसिया
लेखकले आफू पढेको २८ वर्षपछि अथवा सन् २०१९ मा फेरि रुसको भ्रमण गरे । त्यहाँ आफूले पाएको परिवर्तन र त्यस परिवर्तनका बारेमा आफ्ना विचारहरूलाई पुस्तकको अन्तिम दुई अध्यायहरूमा उनले चर्चा गरेका छन् । यो सूचनामूलक र महत्वपूर्ण पनि छ । लेखकले रुसमा पनि पुँजीवादी देशहरूमा देखिने विकृतिहरू कसरी बिस्तारै मौलाउँदै छ भने केही प्रतिनिधि घटनाहरूको उल्लेख गरेका छन् । गाइडले सहर घुमाउने क्रममा पाकेटमारदेखि सावधान हुनु भनेको, ठेलागाडामा सामान बेचिएको देखिनु, एक गर्भवती महिलाले बाटोमा मागिरहेको दारुण दृश्य देखिनु, बस चढ्दा बसमा महिला खलासीले पैसा उठाइरहनु, गाइडले लेनिन समाधिमा भन्दा पर्यटकहरूलाई चर्चमा घुमाउन जोडबल गर्नु आदि दृश्यले लेखकको मनमा नराम्ररी बिझेको चर्चा उनले गरेका छन् ।
हिजो बजारमा रुसमै बनेका सामानहरूमात्र उपलब्ध हुन्थे र ती सबै वस्तुको मूल्य निकै सस्तो र निश्चित हुन्थ्यो । तर, आज बजारमा विश्वभरिका सामान पाउँथे तर मूल्य सामान्य मानिसको पहुँचभन्दा निकै फरक थियो । हरेक ठाउँमा मोलमोलाइको चलनको बिगबिगी थियो । हिजो सामान उत्पादनमा विश्वकै दोस्रो स्थानमा रहेको सोभियत सङ्घ आज २५ वर्षमा ८० हजार स्वदेशी उद्योगहरू बन्द भएको तथ्याङ्क सार्वजनिक भयो । लेनिनको बारेमा हल्ला र भ्रमपूर्ण तथ्यको प्रचार, समाजवादी संस्कृतिको ¥हास, युवा पिँढीमा आएको सांस्कृतिक स्तरको क्षय, सामाजिक अन्तरघुलनको कमी, छाडापनको आगमन र राजनैतिक परिवर्तनको नाउँमा अपार जन–आस्थाका आधारमा हिजो निर्माण गरिएका सालिकहरूलाई भत्काई इतिहास नै मेटाउने मूर्खतापूर्ण धृष्टताले हिजोको सोभियत सङ्घ र आजको रुसमा देखिएको अन्तरलाई लेखकले निकै अपत्यारिलो र चकित पार्ने नमीठो कुराको रूपमा व्याख्या गरेका छन् ।
त्यस्तै अन्तरलाई लेखकले यसरी भनेका छन्, ‘सोभियत सङ्घमा तपाईँ जोकोही हुनुहुन्थ्यो, मिस्त्री, एक कुक, एक वैज्ञानिक, एक सैनिक, एक विद्यार्थी, तपाईँलाई थाहा थियो, तपाईँको पछाडि एक देश थियो, जसले तपाईँलाई मद्दत गथ्र्यो । तर, आज हाम्रो पीठपछाडि तपाईँलाई कसरी खतम पार्ने र तपाईँबाट कसरी फाइदा लिने भन्ने सोच्नेहरू मात्र छन् ।” हो, वास्तवमा यही नै अन्तर हो समाजवादी बन्दोबस्त र पुँजीवादी व्यवस्थामा ।

सेन्ट पिट्र्सवर्गको हर्मिटेज सङ्ग्रहालय।

बिषरूपी पेरेस्त्रोइका र ग्लासनोस्ट
सोभियत सङ्घको विघटनको प्रमुख देखिने कारकतत्व मिखाइल गोर्भाचोभ सन् १९८४ मा सोभियत कम्युनिस्ट पार्टीको महासचिवमा चुनिएपछि ऐतिहासिक आवश्यकता भन्दै लागु गरिएको ‘पेरेस्त्रोइका’ तथा ‘ग्लासनोस्ट’ लाई मानिन्छ । यसको बारेमा पनि लेखकले केही जानकारी दिन छुटाएका छैनन् । यी कुराहरू लागु भएका वर्षहरूमै सोभियत सङ्घमा अध्ययनरत रहेका लेखक दुनियाँलाई चकित पार्ने त्यो सोभियत सङ्घको अब्बल आर्थिक व्यवस्थामा कसरी बिस्तारै विघटनको सङ्घारमा पुग्यो र भत्कियो भने उनी एक ज्वलन्त साक्षी हुन् । हुन त सोभियत सङ्घ त्यो अवस्थामा पुग्नमा थुप्रै आन्तरिक र बाह्य राजनैतिक र आर्थिक कारणहरू थिए ।
पश्चिमा शक्तिहरूको विभिन्न षड्यन्त्रमूलक भूमिकाहरू होलान् नै, तर लेखक त्यो गहिराइमा पुगेको देखिँदैन । यद्यपि, गोर्वाचोभले पेरेस्त्रोइका र ग्लासनोस्ट लागु गरेपछि उनी खुब पश्चिमा देशहरूको भ्रमणमा जाने र रमाउने प्रसङ्गलाई इङ्गित गरी उनी र उनका श्रीमतीको बारेमा सामान्य रुसीहरूले उनीहरूलाई अन्तर्राष्ट्रिय पर्यटकहरू भनी व्यङ्ग्य गर्ने कुराहरू, नयाँ व्यवस्था लागु हँुदै गर्दा बिस्तारै पुरानो रुसी समाजमा पाइने र देखिने इमानदारिता, समाजप्रतिको समर्पणमा आएको ¥हासले एक सभ्य र उत्कृष्ट समाज बिस्तारै ओरालो लागेको र आखिरमा करोडौँको बलिदानले स्थापित विश्वको लागि न्यायपूर्ण समाजको एउटा नमुनाको अध्याय समाप्त भएको दुःखद कथालाई लेखकले पस्कँदै समग्र पाठकलाई सोभियत सङ्घको बारेमा थप सोधखोज गर्ने भोक भने जगाइदिएको छ ।
समाप्त

One response to “सम्झनाहरू राम विन्दुका, वास्तविकता सोभियत सङ्घको–२”

  1. राम विन्दु श्रेष्ठ says:

    Thank you Yogendra sir for your excellent review.

Leave a Reply

Your email address will not be published. Required fields are marked *