भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा खानेपानी मुहान निरीक्षण

नगर प्रमुख प्रजापतिद्वारा खानेपानी मुहान निरीक्षण

भक्तपुर, ६ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बाँसघारीको खानेपानी ट्याङ्की र महादेव खोला मुहानपोखरीको सोमबार स्थलगत निरीक्षण गर्नुभएको छ ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र केयुकेएल भक्तपुरका प्रमुख चेतबहादुर ऐरसहितको टोलीले चाँगुनारायण नपास्थित महादेव खोला मुहानपोखरीको मुहान स्थलको निरीक्षण गरेको हो ।
प्रमुख प्रजापतिले सुख्खायामका कारण खानेपानीको समस्या उत्पन्न भएपछि त्यसको समाधानको लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधिसँग बैठक बसी समाधानका उपायहरूबारे छलफलको क्रममा उक्त निरीक्षण गर्नुभएको हो ।
“खानेपानी मुहान नै सुकेको अवस्थामा नगरवासीहरूलाई सहज पानी उपलब्ध गराउन समस्या भएको बताउँदै प्रमुख प्रजापतिले जनतालाई सहजरूपमा खानेपानी उपलब्ध गराउन नगरपालिकाले विभिन्न ठाउँमा ट्याङ्की निर्माण, बोरिङ गरी पानी वितरण गरिरहेको बताउनुभयो । भक्तपुर नगरमा खानेपानीको समस्या समाधान गर्न विशेष चासो दिएर जनप्रतिनिधिहरू अगाडि बढिरहेका छौँ,” उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिलाई महादेव खोलाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै केयुकेएल प्रमुख ऐरले पानीको मुहान नै सुक्न थालेकोले भक्तपुरमा खानेपानीको अभाव निम्तिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *