भर्खरै :

काठमाण्डौमा क्रान्तिकारी विद्यार्थीको भेला

काठमाण्डौ, १२ असोज । काठमाण्डौ जिल्लाका विभिन्न नगरपालिकाका विद्यार्थीहरुको बुधबार सम्पन्न भेलाले नेपाल क्रान्तिकारी विद्यार्थी संघ काठमाण्डौ जिल्ला समिति पुनर्गठन गरेको छ ।
चन्द्रागिरी नगरपालिकामा भएको भेलाले आर थापामगरको अध्यक्षतामा नेक्राविसंघ काठमाण्डौ जिल्ला समिति गठन गरेको छ ।
भेलामा बोल्दै नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवं काठमाण्डौ जिल्ला अध्यक्ष नारायण महर्जनले सही सिद्धान्त र कार्यदिशा बोकेको कुनै पनि राजनीतिक पार्टी कुनै पनि प्रतिकूल परिस्थितिबीच पनि जनताको सेवामा अग्रसर रहने बताउनुभयो ।
उहाँले सामन्तवाद र पूँजीवादी बन्दोबस्तले व्यापक कामदार जनताको सेवा गर्न असफल भएको हुनाले नै समाजवादी विचारको उदय भएको धारणा राख्नुभयो ।
‘जनताको शक्तिसामू कुनै पनि तानाशाही र शोषकहरुको पराजय अवश्यम्भवी छ ।’, उहाँले बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजवीर डंगोलले युवा–विद्यार्थीहरु राजनीतिक रुपमा सचेत नभएकै कारण विकृति र विसंगतिमा फसेको धारणा राख्नुभयो ।
नेक्राविसंघका केन्द्रीय संयोजक नीरज लवजूले नेपाली युवा–विद्यार्थीलाई अनेक विकृतिमा फसाउने र देशलाई कमजोर बनाउने काम नियोजित रुपमा भइरहेको धारणा राख्नुभयो ।
चीनको अफिम युद्धमा चिनियाँ युवा र सेनालाई समेत अफिमको नसामा फसाएर बेलायतले देश नै कब्जा गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले नेपालका युवाहरुलाई पनि कुलतमा फसाइरहेको विचार व्यक्त गर्नुभयो ।
विद्यार्थी आशिस डंगोलको सभापतिमा भएको कार्यक्रममा नेक्राविसंघका केन्द्रीय सचिव सविन ख्याजू, केन्द्रीय सदस्य रमेश प्रजापति, पूर्व केन्द्रीय सदस्य विशोक डंगोल, विद्यार्थीहरु पूजा महर्जन र प्रज्ञा महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *