कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, १२ चैत । गणेश माध्यमिक विद्यालय, भार्वाचोका संस्थापक एवं किसान नेता ज्ञानबहादुर न्याइच्याईको १२ औँ स्मृति सभा तथा छात्रवृत्ति वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नयाँ पुस्तालाई पुराना पुस्ताले गरेको उदाहरणीय कार्य सुनाउँदै जानुपर्ने आवश्यकता औँल्याउँदै सांस्कृतिक स्तर नउठ्दा सैद्धान्तिक विचलन आउने बताउनुभयो ।
सिद्धान्तहीन गठबन्धन नेपाली जनताको लागि घातक सिद्ध हुने उल्लेख गर्दै उहाँले सरकारमा गएका पार्टीहरू ठेकेदार, भ्रष्टाचारी र कालाबजारियाहरूको घेराबन्दीमा परेसम्म अर्थतन्त्र सुधार नहुने बताउनुभयो ।
७० लाखभन्दा बढी युवाहरू विदेशमा रहेको र राष्ट्रिय उत्पादनलाई बेवास्ता गरेको कारण देशको अर्थतन्त्र बिग्रिँदै गएको चर्चा गर्दै उहाँले स्रोत नखुलेको पैसा जफत गरी राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।
वर्तमान र भविष्यको अमेरिकी कानुनको पालना गर्नुपर्ने एमसीसी परियोजना नेपालको हितमा नभएको चर्चा गर्दै उहाँले एसपीपीले नेपालमा अमेरिकी सेना भित्रिने तथा नागरिकता विधेयकले नेपालमा लेण्डुप दोर्जेका नयाँ संस्करणहरू थपिने भएकोले नेमकिपाले सुरुदेखि नै विरोध गर्दै आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले नेमकिपाले स्थापनाकालदेखि राज्यकोषको दुरूपयोग गर्न नहुने विचारलाई आत्मसात गरिरहेको स्मरण गर्दै ज्ञानबहादुर न्याइच्याईले पार्टीको नीति निर्देशनअनुसार पञ्चायती व्यवस्थालाई जनताको पक्षमा उपयोग गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा वडा नं. १ का एकाइ समितिका अध्यक्ष कृष्णबहादुर दुगुजू, बासु माविका प्रधानाध्यापक अम्बिका न्याइच्याई, ज्ञानबहादुर न्याइच्याई परिवारका प्रतिनिधि सोनी न्याइच्याईलगायतले ज्ञानबहादुर न्याइच्याईको व्यक्तित्व र कार्यबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनताको माग र छलफलअनुसार स्थानीय वडामा विविध विकास योजना तथा कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका प्रअ गणेशराम थुसा र शिक्षक लक्ष्मीसुन्दर सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विपन्न, जेहेनदार तथा खेलकुद क्षेत्रका आठ जना विद्यार्थीहरूलाई ज्ञानबहादुर छात्रवृत्ति प्रदान गरियो ।
Leave a Reply