पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन असम्भव
- असार ९, २०८३
हरेक नागरिक देशभक्त हुनुपर्छ । देशको माया नगर्ने, आफ्नो देशभन्दा अरु देशको गुणगान गर्ने, देशलाई पराधीन बनाएर अरु देशको पक्षपोषण गर्ने, आफ्नो मातृभूमिलाई लात हानेर अरु देशलाई फाइदा गर्ने नागरिक सच्चा देशभक्त हुँदैन । कुनै दलका नेताले अरु देशको विरोध गरेको देखाएर आफू देशभक्त भएको देखाउने कसैको बहाना होला । कुनै देशको अन्धाधुन्ध विरोध गर्दैमा आफू देशभक्त बन्दैन । देशभक्त बन्नकै लागि अरु देशको विरोध गर्ने होइन । पश्चिमा मुलुकको विरोध गरेर कति शासकहरू देशभक्त बन्ने गरेको राजनीतिक विश्लेषकहरूको अभिमत छ ।
हरेक दलको आफ्नो राजनीतिक दृष्टिकोण, विचार र मान्यता हुन्छ । राजनीतिक उद्देश्य राखेरै राजनीतिक दल खोलिएको हुन्छ । राजनीतिक उद्देश्य पूरा गर्न दल लागिपरेको हुन्छ । देशभक्त दल बन्नको लागि भारत र अमेरिकाको विरोध गरेको हुँदैन । भारतले नेपालमा थिचोमिचो नगरेको भए, नेपाली भूमि नमिचेको भए, नेपालको भूमिमा रहेका सम्पूर्ण भारतीय सेना फिर्ता लिएको भए, नेपाली शासकहरूलाई दबाब दिएर आफ्नो उठबसमा नराखेको भए, नेपालसँग असमान सन्धि र सम्झौता नगरेको भए विस्तारवादी भारत भनेर विरोध गर्नुपर्ने जरुरी छैन । भारतले नेपाली भूमि मिच्न छोडेको छैन । भारतीय पक्षले नेपाल–भारत सीमामा एकतर्फीरूपमा बाँध तथा तटबन्ध बनाएको भए भारतको विरोध गर्नुपर्ने थिएन । नेपाली भूमि मिच्दै नेपाली भूमि डुबानमा पार्दै भौतिक संरचनाहरू बनाउन थालेपछि भारतको विरोध गर्नुपरेको हो ।
सत्ता स्वार्थ पूरा गर्न विदेशी शक्ति राष्ट्रसँग जस्तोसुकै सम्झौता गर्न शासकहरू लागेपछि के शासकहरूको विरोध गर्नुपर्दैन ? कुनै देशसँगको पहिलेदेखिको कूटनीतिक सम्बन्ध बिग्रिन्छ, चिसिन्छ भनेर आफ्नो देशको अहितमा सन्धि सम्झौता भए पनि, नेपाली भूमि मिचे पनि के मौन बसिरहने ? शासकहरूको कमजोरीको फाइदा उठाउँदै भारतीय शासकहरूले नेपालमा थिचोमिचो गरिरहे र नेपाली शासकहरूलाई जुधाएर फाइदा लिइरहे । असल सम्बन्ध चिसिन्छ भनेर पाइलापाइला गरेर आफ्नो देश अरुलाई सुम्पिँदै जाने ? तर, विडम्बना ¤ नयाँ सरकार गठन हुँदा होस् या विघटन, सरकार टिकाउन होस् या ढाल्न विदेशी शक्ति राष्ट्रहरूको चलखेल भइरहेको यथार्थ हो । नेपाली शासकहरू यसका जिम्मेवार छन् । सत्ता टिकाउने या नटिकाउने भन्ने कुरा विदेशी शक्ति राष्ट्रको भरमा बस्नु हुँदैन ।
भारतीय शासकहरू स–साना स्वाधीन र सार्वभौम मुलुकलाई हेप्छन्† साना मुलुकले केही गर्न सक्दैन भनी थिचोमिचो गर्छन्† अतिक्रमण गर्छन्† सरकार ढाल्न र टिकाउन दबाब दिन्छन् । भारतीय शासकहरूले नेपाललाई एक एक पाइला गर्दै आफ्नो नियन्त्रणमा राख्ने काम गरिरहेका छन् । नेपालका शासकहरू जसले जे गरे पनि मौन रहेमा कुनै दिन देश नरहने स्थिति आउन सकिन्छ । विदेशीले सजिलै वंशजको आधारमा नेपाली नागरिकता लिन सकिने नागरिकता विधेयक, कालापानीमा भारतीय सेना राखिराख्नु र एमसीसी सम्झौता आदि नेपाललाई आफ्नो उठबसमा राख्ने पाइलाहरू हुन् । यसकारण, विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको विरोध गर्नुपर्छ । यो विरोध देश जोगाउनको लागि हो, देशको स्वतन्त्रता र सार्वभौम मुलुक बनाइराख्न हो ।
Leave a Reply