भर्खरै :

भक्तपुर बहुमुखी क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी

भक्तपुर बहुमुखी क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी

भक्तपुर, १६ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस समितिले एक विज्ञप्ति जारी गरी क्याम्पस प्रमुख र लेखा शाखाको कक्षमा तालाबन्दी गरेको छ ।
सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न संस्था, समूह वा कुनै बहानामा क्याम्पस हाताभित्र शैक्षिक वातावरण बिथोल्ने कार्यक्रम गर्न निषेध गर्नुपर्ने, प्राध्यापक, कर्मचारी नियुक्ति गर्दा विज्ञापनमार्फत खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भनी नेक्राविसङ्घसँग भएको सहमति विपरीत भएको नियुक्ति खारेज गर्नुपर्ने, छात्रवृत्ति, छुट वा मिनाहाको नाउँमा क्याम्पस प्रमुखले आफूखुसी मनपरी गरेका कारण आन्दोलित हुनुपरेको उल्लेख छ ।
समितिले क्याम्पसमा विभिन्न कार्यक्रमको नाउँमा भइरहेको आर्थिक अनियमितता बन्द गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
विगतमा होलिपर्वको नाउँमा क्याम्पस हाताभित्र मादक पदार्थजन्य सीसीका बोतल कक्षा कोठाभित्रै विद्यार्थीले फेला पारेको र झैझगडाले गर्दा क्याम्पस बदनाम भएको एक विद्यार्थीले बताए । त्यसपश्चात् क्याम्पसमा कुनै पनि बाहिरी समूहलाई कार्यक्रम गर्न अनुमति नदिँदा शैक्षिक वातावरण राम्रो भएको थियो । हाल स्नातक तहको चौथो वर्ष, सेमेस्टर प्रणालीका दोस्रो र चौथो सत्रको वार्षिक परीक्षा सञ्चालन भइरहेको अवस्थामा बाहिरी कार्यक्रमले शैक्षिक वातावरण बिग्रिनेमा विद्यार्थीहरू चिन्तित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *