भर्खरै :

प्रगतिशील साहित्यले जनताको सेवा गर्नेछ

कम्युनिस्टहरू प्रगतिशील हुन्छन् । उनीहरू प्रगतिशील साहित्य रच्छन् । समाजमा व्याप्त अन्धविश्वास, कुरीति, विकृति र विसङ्गति अन्त्य गरी आदर्शोन्मुख समाज स्थापना गर्न प्रगतिशील विचार अगाडि ल्याउनुपर्छ, प्रगतिशील विचार जनतामाझ पु¥याउनुपर्छ । जनताले प्रगतिशील बाटो नरोजेसम्म, प्रगतिको बाटोमा नलागेसम्म समाजमा अन्ध परम्परा कायम रहेको हुन्छ । हाम्रो संस्कार र संस्कृति विज्ञानसम्मत हुनुपर्छ । संस्कृति जहिल्यै अपरिवर्तनशील हुन्छ भन्ने होइन । जनतालाई सुसूचित पार्ने विभिन्न माध्यमहरूमध्ये कथा, कविता, नाटक र भजन पनि हो । भजनको गीतले जनताको मन छुन्छ, जनताको मन छुन सहयोग गर्छ । भजनमा गाइने गीतलाई पनि प्रगतिशील बनाउने ध्येयले भक्तपुर नगरपालिकाले शुक्रबार प्रगतिशील भजन प्रतियोगिताको आयोजना गरेको छ । भक्तपुरको सांस्कृतिक विधाहरूको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले भनपाले नगरस्तरीय प्रगतिशील भजन प्रतियोगिताको आयोजना गरेको हो ।
भजनको प्रतियोगिताअघि भजनका टोलीहरूको ¥याली हुनेछ । ¥याली भनपा १ देखि ५ वडासम्मको इनागबाट र ६ देखि १० वडासम्मको ¥याली दत्तात्रयबाट सुरू हुने आयोजकले जनाएको छ । भजन टोलीको ¥यालीले नगर भजनमय बनाउनेछ भने भजनको प्रतियोगितामा गाइने गीतले देशको कमीकमजोरीको विषयमा घोचपेच गर्नेछ । भजनमा अक्सर महिलाहरू सहभागी हुनेछन् । घर गृहस्थी गरिरहेका महिलाहरू प्रगतिशील गीत लिएर प्रतियोगितामा सामेल हुनु या जनतामाझ आउने वातावरण बनाउनु सकारात्मक पक्ष हो । सारमा प्रगतिशील साहित्यले जनताको सेवा गर्छ । प्रगतिशील साहित्य या गीतमा सामन्तवाद, साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवादको विरोधको स्वर हुनेछ । जालीफटाहा, ठग, शोषक, कमिसनखोर, भ्रष्टाचारीहरूविरूद्धको स्वर हुनेछ । गीतमा विदेशी थिचोमिचो, आक्रमण, अतिक्रमणको विरोधको स्वर पाइनेछ । शोषक र सामन्तले गरिब जनतामाथि गरिरहेको दमन, हत्या, हिंसा, अन्याय, अत्याचार र लुटपाटको विरोधको स्वर गीतमा पाइनेछ ।
हो, प्रगतिशील साहित्य यथार्थवादी हुन्छ तर सबै यथार्थवादी साहित्य प्रगतिशील हुँदैनन् । जनताले आत्मसात गर्ने खालको समाजको यथार्थ पक्षलाई हामीले उजागर गर्नु आवश्यक छ । त्यसो त प्रगतिशील साहित्य सबै माक्र्सवादी हुँदैन । तर, कम्युनिस्ट र माक्र्सवादीहरूले लेख्ने साहित्य या गीत, कविता, कथा, व्यङ्ग्य, निबन्ध, नाटक प्रगतिशील हुने गर्छन् । उनीहरू समाजका अग्रदूत हुन् । सामन्तवाद र साम्राज्यवादविरोधी लेखक, कवि, गायकहरूले लेख्ने रचना माक्र्सवादी नभए पनि जरूर प्रगतिशील हुन्छन् । सामन्ती शोषण, दमन र अत्याचारको विरोधमा किसान, मजदुरहरूमात्र होइनन् महिलालाई पनि समाजमा उभ्याउने या ल्याउने यो कामले राम्रै सन्देश दिने विश्वास गरिएको छ । यस प्रतियोगितापछि सम्मेलनको सकारात्मक र नकारात्मक पक्षबारे समीक्षा हुने नै छ । आयोजक समितिले पनि समीक्षा गर्नेछ । समीक्षाले त्यस्तैखाले अरू प्रतियोगिता गर्न टेवा पु¥याउनेछ । प्रगतिशील भजन प्रतियोगिता सफल होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *